जुम्लाको सरकारी जग्गा प्रकरण  तत्कालीन मालपोत अधिकृतसहित पाँच पक्राउ
 शुभाकर विश्वकर्मा   
जुम्ला।  जुम्लाको गुठीचौर गाउँपालिकास्थित सरकारी जग्गा प्रकरणमा मुख्य दोषी ठहरिएका तत्कालीन मालपोत अधिकृत गोविन्दबहादुर न्यौपानेसहित पाँच जना पक्राउ परेका छन् । बाउलीगाउँस्थित ५९० रोपनी सरकारी जग्गा आफन्तका नाममा गराउने मालपोत अधिकृत न्यौपानेसहित अन्य पाँच जनालाई अख्तिायार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जुम्लाका तत्कालीन मालपोत अधिकृत न्यौपाने, मालपोत कार्यालय चाबहिलका नासु विजय शर्मा, राष्टिय पशु अनुसन्धान प्रतिष्ठान खुमलटारका पूर्वनिर्देशक यमुनाकुमार श्रेष्ठ, शिक्षक मनीषचन्द्र न्यौपाने, स्थानीय हरिहर न्यौपाने रहेका छन् ।
अख्तियार स्रोतका अनुसार उनीहरूलाई केही दिन हिरासतमा राखेर थप अनुसन्धान गरिनेछ । सो जग्गा प्रकरणमा संलग्न रहेको आरोपित गोविन्दबहादुर न्यौपानेका आफन्त भने फरार रहेका छन् । उनीहरूलाई अख्तियारले सात दिनभित्र अनिवार्य उपस्थित हुन निर्देशन दिइसकेको छ । अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जुम्लाको जग्गा प्रकरणलाई प्रथामिकतामा राखेर अनुसन्धान भइरहेको बताए ।
यो प्रकरणको छानबिन र अनुसन्धान अन्तिम चरणमा पुगेको पनि उनले बताए । जुम्ला मालपोत कार्यालयका तत्कालीन मालपोत अधिकृत न्यौपानेले २०६६ सालमा राष्ट्रिय भेडाबाख्रा अनुसन्धान कार्यक्रमको जग्गा आफन्त र केही स्थानीयको नाममा दर्ता गरिदिएका थिए । राजधानी दैनिकबाट
प्रतिकृया दिनुहोस