दायाँ बायाँ सम्पुर्ण मन्त्री राखेर मुख्यमन्त्री शाहले सार्वजनिक गरे एक वर्षको प्रगति विवरण

युग संवाददाता     267 पटक पढिएको    

दायाँ बायाँ सम्पुर्ण मन्त्री राखेर मुख्यमन्त्री शाहले   सार्वजनिक गरे एक वर्षको प्रगति  विवरण

सुदूरपश्चिम सरकारद्वारा एक वर्षको प्रगति विवरण सार्वजनिक दायाँ बायाँ सम्पुर्ण मन्त्री राखेर मुख्यमन्त्री शाहले भने प्रगति सन्ताेषजनक रह्याे

 

धनगढी, २७/ माघ  मुख्यमन्त्री कमलबहादुर शाहकाे नेतृत्वमा सुदूरपश्चिम प्रदेश सरकार गठन भएकाे आज एक बर्ष पूरा भएकाे छ । गत बर्ष माघ २७ गते गठन भएकाे सुदूरपश्चिम प्रदेश सरकारले आज एक कार्यक्रमका बिच एक वर्षको कार्य प्रगति विवरण सार्वजनिक गरेको छ । दायाँ बायाँ सम्पुर्ण प्रदेश सरकारका मन्त्री र सचिबहरु सहित राखेर प्रगति सार्वजनिक गरेका मुख्यमन्त्री शाहले आफ्नाे एक बर्षे कार्यकाल सन्ताेषजनक रहेकाे बताए । आफ्नाे प्रगति विवरणकाे पुस्तिका नै बनाएर पत्रकार सम्मेलनमा उपस्थित मुख्यमन्त्री शाहले राजनीतिक एवम् प्रशासनिक सहकार्य तथा समन्वयको दृष्टिकोणबाट सरकारको एक वर्षको कार्यकाल सुखद् रुपमा बितेको बताए । उनले कठिन भूगोल, गरिबी, बेरोजगारी तथा शिक्षा र स्वास्थ्य सेवामा समस्या, उद्यमशिलता, भौतिक पूर्वाधार विकासको कमी, सीमित स्रोत साधन लगायतका कारणले प्रदेश सरकार जनताको अपेक्षामा खरो रुपमा उत्रिन नसके पनि तुलनात्मक रुपमा जनताका माग सम्बाेधन गर्दै गएकाे बताए । प्रदेश सरकार नीतिगत सुधार, बेरुजु घटाउने गरी वित्तीय व्यवस्थापन, कृषि तथा पशुपन्छी विकास लगायतको कार्यमा अगाडि बढेको मुख्यमन्त्रीको भनाइ थियो । एक वर्षको अवधिमा प्रदेश सभाबाट दुई वटा विधेयक मात्र पारित भएका छन् । यसैगरी, तीन वटा विधेयक सभामा पेश भएका छन् भने दुई वटा विधेयकलाई सैद्धान्तिक सहमति प्रदान गरेको जनाइएको छ । लगातार प्रदेश सभालाई सरकारले बिजनेश दिएन भनेर आराेप खेपिरहेका मुख्यमन्त्री शाहाले अब बिजेनश अभावमा प्रदेश सभा संचालन भएन भनेर पत्रकारले समाचार लेख्नु नपर्ने बताए । सरकारले यो अवधिमा तीन वटा नियमावली, आठ वटा कार्यविधि र तीन वटा मापदण्ड बनाएको छ । एक वर्षको अवधिमा एक हजार ६०९ हेक्टर क्षेत्रफलमा वर्षैभरी सुविधा हुने गरी सिँचाइ उपलब्ध गराइएको छ । यस्तै, १०८.१९ किलोमिटर कालोपत्रे सडक, १२२.९७ किलोमिटर माटे, १८५.९० किलोमिटर ग्राबेल सडक निर्माण भएको जनाइएको छ । यो अवधिमा सरकारले नौ वटा सडकपुल निर्माण गरेको छ । यसैगरी, ५२० वटा इन्टेक, ५६३ पानी पोखरी निर्माण, दुई हजार ५०५ किलोमिटर पाइपलाइन जडान गरेको जनाइएको छ । ८२ हजार ७०२ जनालाई आधारभूत खानेपानी सेवा, १८ हजार ६०० जनालाई मध्यमस्तरको खानेपानी सेवा उपलब्ध लगायत उपलब्धिकाे रुपमा मुख्यमन्त्री शाहले सार्वजनिक गरेका छन । चालु आर्थिक वर्षमा बजेट खर्चको प्रगति र राजस्व सङ्कलनको हकमा प्रदेश सरकार ठीक ठाउँमा रहेको आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले बताए । उनका अनुसार माघ २६ गतेसम्म चालु खर्च २५.२९ प्रतिशत, पुँजीगत खर्च १४.५६ प्रतिशत गरी कुल खर्च १८.९८ प्रतिशत पुगेको छ । चालु आर्थिक वर्षको हालसम्म प्रदेश सरकारले ६४ करोड राजस्व सङ्कलन गरेको छ । गतवर्ष यहि अवधिसम्म प्रदेशमा ५१ करोड रुपियाँ राजस्व संकलन भएको थियो । सार्बजनिक कार्यक्रमकाे अन्तिममा मुख्यमन्त्री शाहले उपस्थित संचारकर्मिलाई भने- थाेरै नेगेटिभ, धेरै पाेजेटिभ समाचार लेख्नुहाेला ।



शनिबार २७, माघ २०८० ०७:२३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.