प्रहरीले ‘विप्लव’ समूहका कार्यकर्ता पक्राउ नगर्ने  निसानामा नेतामात्रै

राजनीति

Yugnepal     851 पटक पढिएको    

प्रहरीले ‘विप्लव’ समूहका कार्यकर्ता पक्राउ नगर्ने  निसानामा नेतामात्रै


काठमाडौं । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सबै कार्यकर्तालाई गिर्फतार नगर्ने आन्तरिक नीति अपनाएको छ । आपराधिक क्रियाकलापमा संलग्न तथा हिंसात्मक घटनामा जोडिएकालाई पक्राउ गर्ने तर कार्यकर्ता भएकै कारण पक्राउ नगर्ने नीति प्रहरीले लिएको हो । 

तर, नेताहरु भने प्रहरीको खोजीमा हुनेछन् । प्रहरीले विप्लवसहित सो समूहका नेता–कार्यकर्ता खोज्न देशभर ‘सर्च एन्ड अरेस्ट अपरेसन’ चलाउँदै आएको छ । २८ फागुनमा सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो ।

 बम बम बम
प्रहरीले सामान्य कार्यकर्तालाई पनि समात्ने र अदालतमा अभियोग प्रमाणित नहुँदा छुट्न थालेपछि प्रहरीले अभियोग नलागेका कार्यकर्ता नसमात्ने रणनीति बनाएको हो । एक उच्च प्रहरी अधिकारीले भने, ‘‘आपराधिक गतिविधि र र ध्वंसात्मक क्रियाकलापमा संलग्न नभएकालाई समात्दैनौं, तर गोप्य भेला, सभा, कार्यक्रममा सहभागी भएको पाइए समात्छौं ।’’ प्रहरी प्रधान कार्यालयले यसबारे मौखिक निर्देशन समेत दिइसकेको ती अधिकारीले बताए ।

प्रतिबन्ध पछिमात्रै देशभरबाट विप्लव समूहका ४ सय बढी नेता–कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ परेकामध्ये हेमन्तप्रकाश वली ‘सुदर्शन’ नै सबैभन्दा उच्च तहका नेता हुन् । प्रहरीले पक्राउ परेका विप्लव समूहका नेता–कार्यकर्तालाई राज्यद्रोह र सार्वजनिक अपराध ऐनमा मुद्दा चलाउँदै आएको छ । उच्च सुरक्षा स्रोतका अनुसार अन्य नेता–कार्यकर्ताविरुद्ध सरकार आक्रामक रुपमा प्रस्तुत भए पनि विप्लवलाई जसरी पनि समात्नु भन्ने आदेश नभएको बताइन्छ । सुरक्षा संयन्त्रले पनि सरकारलाई औपचारिक र अनौपचारिक रुपमा विप्लवको समस्यालाई पहिले राजनीतिक रुपमै हल गर्न सुझाउँदै आएका छन् ।

विप्लवविरुद्ध विभिन्न जिल्लामा मुद्दा दर्ता छन् । विप्लवलाई समात्ने रणनीति अन्तर्गत सुरक्षा संयन्त्र सुक्ष्म रुपमा नलागेपनि विप्लव कहाँ छन्, के गर्छन्, कता बस्छन्, कसकसलाई भेट्छन् भन्ने सूचना संकलन भने राज्य संयन्त्रले गर्दै आएका छन् । सुरक्षा अधिकारीहरुले विप्लव नेपालमा नभएको दाबी गर्दै आएका छन् । विप्लव समूहको गतिविधि निगरानी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले समेत गर्दै आएको छ ।

सुरक्षा निकायले विप्लवका नेता–कार्यकर्ता खोज्ने अभियान तिव्र पारेपछि शीर्ष नेता भूमिगत  भएका छन् । पार्टीले औपचारिक रुपमा भूमिगत हुने नीति अख्तियार नगरेपछि शीर्ष नेता पछिल्लो समय सम्पर्कमा आउन छाडेका छन् । सबैजसो नेता–कार्यकर्ताले यसअघि प्रयोग गर्दै आएका सिमकार्ड समेत फेरेका छन् । बाह्रखरी 



मङ्गलबार ३१, बैशाख २०७६ ०७:१९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal