सहरदेखि गाउँसम्म ग्रेडर मेसिन हाँक्दै अनिता

युग संवाददाता     138 पटक पढिएको    

सहरदेखि गाउँसम्म ग्रेडर मेसिन हाँक्दै अनिता

दाङ । दाङको घोराही सहरदेखि गाउँसम्म बिग्रिएका सडक बनाउनेदेखि नयाँ सडकको ट्रयाक खन्ने काममा व्यस्त ब्यस्त छन् अनिता थारु । साना सवारीसाधन चलाउने महिलाको सङ्ख्याभन्दा ठूला सवारीसाधन चलाउने महिला न्यून छन । तर अनिता भने विगत चार वर्षदेखि दाङलगायत ठाउँमा सडक तथा पुल निर्माण गर्न गे्रडर मेसिन चलाउँदै आईरहेकी छन् ।

उनि डेढ वर्षदेखि घोराही उपमहानगरपालिकामा ग्रेडर अपरेटरका रुपमा कार्यरत छन् । अनिता पछिल्लो समय भने उपमहानगरपालिका भित्रका विकास निर्माणका काममा ग्रेडर मेसिन चलाउँदै आएकी छन् । बाह्र कक्षासम्म अध्ययन सकेर घरमै बसेको समयमा आफन्तको  सहयोगमा उनि बर्दियाबाट दाङ आएर ग्रेडर मेसिन चलाउन थालेकी हुन् । “मैले यतै आएर चलाउन सकेकी हुँ”, चालक अनिता बताउँछन् ।

“कमजोर आर्थिक अवस्थाका कारण पढाइलाई अघि बढाउन नसकेर घरमै बसेकी थिए”, उनले भने, “घरमा त्यसै बस्नुभन्दा ग्रेडर मेसिन चलाउन सिक्ने सोच बनाए र दाङ आएकी हुँ ।” घोराही–मुर्कुटी सडक बनाउने काममा अनिताका भिनाजुले ग्रेडर मेसिन चलाउथे । उनिसँगै उक्त सडक निर्माण गर्ने कम्पनीमा सहायक ग्रेडर अपरेटरका रुपमा एक वर्ष काम गरेपछि ग्रेडर चलाउन सक्ने भएको अनिता बताउँछन् ।

निर्माणको क्षेत्रमा काम गर्न कठिन भए पनि आत्मविश्वास र मेहनतले सफलता हासिल गर्दै गएको उनकोे भनाइ छ । करिब एक चलाउन सिकेपछि अनिताले उक्त मेसिन राम्ररी चलाउन सक्ने भए । तर उनि सङ्ग सवारी चालक अनुमतिपत्र भने थिएन । यसका लागि २०७६ भदौमा तुलसीपुरमा परीक्षा दिए । परीक्षमा सहभागी १३ जनामध्ये उत्तिर्ण हुने अनिता भने एक्ली महिला थिए ।

“पहिलो प्रयासमै सवारी चालक अनुमतिपत्र लिन सफ भए”, अनिता भन्छन् । उनले त्यसपछि जागीरका क्रममा दाङ र बर्दियाका विभिन्न ठाउँमा निर्माणसम्बन्धी काम गरे । “ग्रेडर मेसिन चलाउन सक्थे, तर लाइसेन्स नहुँदा समस्या थियो”, उनले भने, “विसं २०७६ भदौमा लाइसेन्स खुलेपछि ट्रायल दिए । ट्रायलमा पास भएपछि मलाई काममा सहजता भयो ।” अन्य सवारी साधनभन्दा चलाउन कठिन भए पनि अनुभवले गर्दा सहज लाग्ने गरेको उनि बताउँछन् । 

“अन्य उपकरणभन्दा यो चलाउन निकै कठिन हुन्छ”, चालक अनिता भन्छन्, “तर आफूभित्रको आत्सविश्वास र निरन्तरको मेहनतले मलाई अहिले सहज भएको छ ।” बेरोजगार बस्नुभन्दा कुनै पनि सीप सिकेर काममा लाग्न उनको अरु महिलालाई सल्लाह छ । निर्माणका क्षेत्रमा महिलालाई काम गर्न कठिनाइ भए पनि आफ्नो कामबाट आफू सन्तुष्ट रहेको अनिताको भनाइ छ । “निर्माणको क्षेत्रमा काम गर्न गाह्रो भए पनि मलाई यही पेसामा सन्तुष्टि छ”, अनिताले भने, “धेरै पढेको भए ठूलो अपेक्षा हुन्थ्यो र अरु काम खोजिन्थ्यो  होला । पढ्न सकिएन । त्यसैले ग्रेडर अपरेटर नै मेरा लागि ठीक छ ।” 

अनिता परिवारका चार सन्तानमध्ये एक्ली छोरी छन् । स्थानीय सूर्य माध्यमिक विद्यालयबाट १० कक्षा उत्तिर्ण गरेकि उनले बाँकेको कोहलपुरस्थित बागेश्वरी माध्यमिक विद्यालयबाट १२ कक्षा उत्तिर्ण गरेको हो । कमजोर आर्थिक अवस्थाका कारण अनिताले पढाइ छोडेर मेसिन चलाउन थाले । सुरुमा चलाउँदा महिलाले पनि ग्रेडर मेसिन चलाउँछन भनेर धेरैले हेर्न आउने गरेको उनि सम्झिन्छन् । “अहिले सबैलाई सामान्य लाग्न थालिसकेको छ”, अनिताले भने, ।



शुक्रबार २५, कार्तिक २०७९ ०७:२४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.