प्रत्यक्षतर्फको मतपत्र छाप्ने काम सकियाे

युग संवाददाता     112 पटक पढिएको    

प्रत्यक्षतर्फको मतपत्र छाप्ने काम सकियाे

काठमाडौँ / आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आवश्यक मतपत्र छपाइको काम सकिएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको आवश्यक सबै मतपत्र छपाइ कार्य सम्पन्न भएको निर्वाचन आयोगले जनाएको हो ।

आयोगले जनक शिक्षा सामग्रीलाई प्रत्यक्ष निर्वाचनतर्फका मतपत्र छपाउन दिएको थियो । आयोगले दिएको २० गतेसम्मको समयसीमा भन्दा दुई दिनअगावै जनक शिक्षा सामग्री केन्द्रले मतपत्र छपाइको कार्य सम्पन्न गरेको हो ।

शुक्रवार जनक शिक्षा सामग्रीमा मतपत्र छपाइ सम्बन्धी अवलोकन गर्दै निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोगको २० गतेसम्म मतपत्र छापिसक्नुपर्ने समयावधि भन्दा दुई दिनअगावै सबै मतपत्र छापिएको बताए ।

उनले ८ करोड ३ लाख ९४ हजार ५ सय मतपत्र छपाइ सकिएको र नमुना मतपत्र २२ लाख गरी कुल करिब ८ करोड २५ लाख मतपत्र छपाइ भएको बताए । निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिका संयोजकसमेत रहेका आयुक्त भण्डारीले कर्णाली, सुदूरपश्चिम, लुम्बिनी, गण्डकी प्रदेशमा ढुवानी सम्पन्न भइसकेको र प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशमा चाँडै मतपत्र ढुवानी हुने बताए ।

समानुपातिक निर्वाचन प्रणालीतर्फको करिब ४ करोड मतपत्र भने यसअघि नै छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । आयोगको पछिल्लो तथ्यांकअनुसार निर्वाचनमा कुल १ करोड ७९ लाख ८५ हजार ७० जना मतदाता रहेका छन् । यी मतदाताहरूले समानुपातिक तथा प्रत्यक्ष दुई प्रणालीका लागि चारवटा मतपत्रमा भोट हाल्नुपर्ने हुन्छ । जसअनुसार आगामी निर्वाचनका लागि करिब ८ करोड मतपत्र आवश्यक पर्छ ।  



शुक्रबार १८, कार्तिक २०७९ १२:३८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.