बझाङ / बिहान १० नबज्दै विद्यालय पुगिसक्नुपर्छ । साँझ पनि घडीको सुइ साढे चारमा प्रवेश गरेपछि मात्रै घरको बाटो लाग्नुपर्छ । घर पुग्दा नपुग्दै हातमा कुटो–कोदालो बोकेर बारीमा प्रवेश गरिहाल्नुहुन्छ बझाङको खप्तडछान्ना गाउँपालिका–५ सुतारीगाउँका प्रकाश खत्री । उनिसंग तरकारी बारीको हेरविचार गर्ने पर्याप्त समय छैन । बिहान बेलुका बचेको समयले मात्रै धानिरहनुभएको छ, ‘गोपाल फलफूल तथा तरकारी फार्म’ ।
गाउँघरमा तरकारी उत्पादन गर्नुपर्छ भन्ने धेरैको चेत हराइसकेको छ । खेतबारी तथा पाखो बाँझै राखेर भारतमा मजदुरी गर्ने परिवारका एक–दुई सदस्यको मात्रै भर पर्थे पूरै परिवार । छिमेकी जिल्ला बाजुराको काँडा, डोगटी, खप्तडछान्ना–७ कै लामागडामा फल्ने तरकारीको ग्राहक मात्रै थिए दुई दर्जनभन्दा बढी गाउँ । खत्री परिवारले भने २०५४ सालदेखि नै आफ्नै बारीको अग्र्यानिक तरकारी तथा फलफूल खाइरहेको छ । तीन वर्षदेखि भने व्यावसायिकरुपमा तरकारी फार्म दर्ता गरेर दुई वडालाई नै तरकारी तथा फलफूल खुवाइरहेको छ ।
खत्रीको फार्ममा केरा, नासपाती, अङ्गुर, कागती, सुन्तला, ओखर, किबीजस्ता फलफूल यामअनुसार पर्याप्त पाइन्छन् भने तरकारीमा रायो, सुइचार्ड, झुकेनी, सिमला मिर्चा, स्थानीय तरकारी उत्पादन भइरहेका छन् । खत्रीले गत वर्षमात्रै झण्डै चार क्विन्टल बेमौसमी तरकारी बिक्री गरेका थिए । उनले यस याममा पनि गत वर्षकै जस्तै बेमौसमी तरकारी बिक्री हुने अनुमान गरेको । विसं २०७४ मा सुरू गरेको पहिलो तरकारी टनेलपछि अहिले खत्रीसँग पाँच तरकारी टनेल छन् ।
खत्रीका लागि उत्पादित तरकारीको बजार धेरै टाढा छैन, न त बीउबिजन ल्याउने ठाउँ नै टाढा छ । उनि बीउ ल्याउन पनि आफन्तको सहयोगमा तराईका जिल्लाबाट भित्र्रयाउछन् । कतिपय तरकारीको बीउ नै राम्रो नपाउँदा लगानी नै उठ्दैन त कतिपय ठाउँमा राम्रै उत्पादन हुन्छ ।
प्रतिकृया दिनुहोस