विपतपुरका आगलागी पीडितलाई ओतको चिन्ता

युग संवाददाता     235 पटक पढिएको    

विपतपुरका आगलागी पीडितलाई ओतको चिन्ता

कैलाली / कैलारी गाउपालिका–७ विपतपुरका मुक्तकमैयालाई वर्षायाममा ओतको चिन्ताले सताएको छ । चार महिनाअघि आगलागीबाट घरबार गुमाएका उनीहरु अहिले त्रिपालमुनि कष्टकर जीवन बिताउन बाध्य भएका छन्

कैलारी गाउपालिका–७ विपतपुर बस्तीमा गत वैशाख ११ गते भिषण आगलागी हुँदा सो बस्तीका २७ घर जलेपछि घाम र पानीको प्रबाह नगरी उनीहरु दिनरात दिन विताउन बाध्य भएका हुन । सो बस्तीमा रहेका ७१ घरपरिवारमध्ये २७ घर पूर्णरुपमा जलेका थिए भने ३४ घरमा आंशिक क्षति भएको थियो ।  सो मुक्तकमैया बस्तीका ३६ वर्षीषा देवी चौधरीले नेपाल रेडक्रस सोसाइटीले दिएको पालमुनि दिनरात बिताउँदै आएको दुखेसो गरे ।

उनले भने, “वर्षायामको समय छ हावापानीले  कैयौँ दिन ओत लाग्न बनाएको त्रिपाल उडाएको मात्र छैन, सर्प र किराको डर पनि त्यत्तिकै छ । ” आगलागीले घरबारविहीन बनाएपछि खानलाउन पनि त्यत्तिकै समस्या भइरहेको आगलागी पीडितको गुनासो छ । वर्षायाममा गाउँमा ज्यालामजदुरी नपाउँदा कामका लागि अन्यत्र भौतारिनु परेको उनीहरुकको गुनासो छ ।

सरकारले २०६४ सालमा ७१ मुक्तकमैया परिवारलाई पाँच कठ्ठाका दरले जग्गा वितरण गरेर विपतपुरमा बसोबास गराएको थियो । कैलारी गाउँपालिका–७ का वडाध्यक्ष दीपेन्द्र बमले आगलागीपीडित परिवारलाई घरनिर्माण गर्न काठको व्यवस्था गर्न समस्या भइरहेको बताए। आगलागी पीडितलाई प्रदेश सरकारले रु ५० हजार राहत वितरण गर्नुका साथै वर्षायामअघि नै घर निर्माण गर्ने आश्वासन दिए पनि अहिलेसम्म आश्वासन पूरा हुन सकेको छैन । विपतपुरका मुक्तकमैयाले नयाँ लालपुर्जाका लागि भूमिसुधार र मालपोत कार्यालयमा आग्रह गरेका छन् ।

उनीहरुले २०६३ फागुन २१ गते ६५ घरधुरीलाई प्राप्त जग्गाको लालपुर्जा हाल साविक गरि नयाँ लालपुर्जा दिन आग्रह गरेका छन् । सो बस्तीका दाउराम चौधरीले ६५ घरधुरीलाई उपलब्ध गराइएको जग्गाधनी प्रमाणपत्रअनुसारको ब्लुप्रिन्ट, फाइल नक्सा उपलब्ध गराउनुपर्ने, पुन।स्थापना प्रक्रियाका क्रममा १३ घरधुरी मुक्तकमैयालाई परिचयपत्र उपलब्ध गराउनुपर्ने माग गर्दै आएको बताए ।

मालपोत कार्यालयका नायबसुब्बा लक्ष्मण जोशीले १३ घरधुरीलाई कागजमा लेखेको चुट्काका विषयमा भूमि आयोगले हेर्ने र ५२ घरधुरीलाई दिएको लालपुर्जाका विषयमा भने फेरि लालपुर्जा दिन सकिने जानकारी दिए ।



शुक्रबार २७, साउन २०७९ ०६:४१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.