छाडा चौपायाबाट खेती जोगाउनै मुस्किल

युग संवाददाता     397 पटक पढिएको    

छाडा चौपायाबाट खेती जोगाउनै मुस्किल

सुखड् / घोडाघोडी र आसपासका किसानलाई छाडा चौपायाबाट खेती जोगाउन निकै मुस्किल परेको छ । चार वर्षदेखि स्थानीय किसानले लगाएको खेती निर्धक्क भएर भित्राउन  पाएका छैनन् ।  
घोडाघोडी नगरपालिका–१ का स्थानीय दीपक ढकालले चार कट्ठा जग्गामा घेराबेरा गरी लगाएको धानबाली छाडा गाईको बथानले सखाप पारेको बताए । ३० हजार रुपैयाँ खर्चेर लगाएको तारबार नै छिनालेर गाईले धानबाली खाइदिएको ढकालले बताए । उनले स्थानीय तहले छाडा गाई व्यवस्थापनमा ध्यान नदिएको बताए । 
घोडाघोडी–३, निम्दिका खगेन्द्र बोगटीले दूध दिन छाडेपछि सडकमा ल्याएर गाई छाड्ने गरिएको बताए । वर्षाको बेला यस्ता गाई धेरै छाडिने गरेको र कतिपयलाई गाई फिर्ता लैजान आपूmले बाध्य पारेको बोगटीले बताए । उनका अनुसार धानखेती लगाएपछि घाँसको अभाव हुने र रोजगारीका लागि भारत जानेले गाई सडकमा छोड्ने गरेका छन् । 
छाडा छोडेका गाई ब्याउने भएपछि फेरि कतिपयले घरमा लैजाने गरेको समेत स्थानीय मनरुपा बडुवालले बताइन् । कैलालीमा पाँच वर्षयता छाडा गाईको सङ्ख्या बढ्दै गएको छ । कतिपय स्थानीय तहले छाडा गाई व्यवस्थापनका लागि भनेर बजेट नै छुट्याएर व्यवस्थापन गर्न खोजे पनि नियन्त्रण हुन सकेको छैन । घोडाघोडी नगरपालिकाले २०७५ सालमा छाडा गाई व्यवस्थापनका लागि तीस लाख रकम छुट्याएर व्यवस्थापन गर्ने प्रयास गरेको थियो । छाडा गाई व्यवस्थापन समितिका सदस्यसमेत रहेका वडा नं. ४ का निवर्तमान अध्यक्ष टेकबहादुर बुढाले कान्जीहाउस बनाएर व्यवस्थापन गर्न खोजिएको तर छाडा गाईको सङ्ख्या बढ्दै गएपछि नियन्त्रण गर्न नसकेको बताए । छाडा चौपायाका कारण सडक दुर्घटनासमेत बढेको छ । 



बुधबार २५, साउन २०७९ ०७:२६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.