निर्वाचन कार्यालयहरु जुटे निर्वाचनको तयारीमा

युग संवाददाता     181 पटक पढिएको    

निर्वाचन कार्यालयहरु जुटे निर्वाचनको तयारीमा

धनगढी / सुदूरपश्चिम प्रदेशमा निर्वाचन कार्यालयहरु प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको तयारीमा जुटेका छन् ।संघीय सरकारले प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको मिति तय गरेपछि निर्वाचन कार्यालयहरुले तयारी अगाडि बढाएका हुन । सरकारले आउँदो मङ्सिर ४ गते प्रदेश तथा प्रदेश सभा निर्वाचनको मिति घोषणा गरेको छ ।

स्थानीय तहको निर्वाचन सकिएपछि असार १ गतेबाट मतदाता नामावली संकलन तथा अद्यावधिकको कार्य अगाडि बढाइएको थियो । सरकारले आगामी निर्वाचनको मिति तय गरेपछि निर्वाचन कार्यालयले सो कार्यलाई रोकर तयारीमा जुटेका छन् । अब निर्वाचन सामग्री चेकजाँचको साथै आयोगलाई विवरण पठाउने लगायतको तयारीको काम भइरहेको प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टले जानकारी दिए ।

निर्वाचन कार्यालयहरुले एक महिनासम्म मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने कार्य सञ्चालन गर्दा सबै जिल्लामा मतदाता संख्या थपिएको छ ।कैलाली–कञ्चनपुरमा २१ हजार बढी नयाँ मतदाता थपिएका छन् । प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी मुलुकभर मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यबाट कैलालीमा  ११ हजार ४ सय ३० नयाँ मतदाता थपिएका हुन् ।

कञ्चनपुरमा ९ हजार ८ सय २८ गरी २१ हजार २ सय ५८ नयाँ मतदाता थपिएका छन् । जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय र इलाका प्रशासन कार्यालय त्रिभुवनबस्तीमा मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने कार्य भएको थियो । अब कैलालीमा मतदाताको सङ्ख्या  ५ लाख ३६ हजार ५ सय ५५  पुगेको छ । यस्तै, कञ्चनपुरमा ३ लाख ५१ हजार ८२ मतदाता पुगेको जिल्ला निर्वाचन अधिकृत उदयराज जोशीले बताए ।  

स्थानीय तहको निर्वाचनको बेला कैलालीको धनगढी उपमहानगरपालिकामा सबैभन्दा बढी ९३ हजार १५१ मतदाता रहेका थिए । यस्तै, गोदावरी नगरपालिकामा ५५ हजार ४९२, लम्कीचुहा नगरपालिकामा ५३ हजार ९४६, टीकापुर नगरपालिकामा ५२ हजार ८६२, घोडाघोडीमा ५२ हजार ४० र गौरीगङ्गा नगरपालिकामा ४० हजार १८ मतदाता सङ्ख्या रहेको थियो । 

यसैगरी, कैलारी गाउँपालिकामा ३६ हजार ७३५, जानकी गाउँपालिकामा ३५ हजार ४०६, भजनी नगरपालिकामा ३३ हजार ९३१, जोशीपुर गाउँपालिकामा २५ हजार ४४६ मतदाता रहेका थिए । यस्तै, बर्दगोरिया गाउँपालिकामा २२ हजार १८१, मोहन्यालमा ११ हजार ९८४ र चुरे गाउँपालिकामा सबैभन्दा कम ११ हजार ९२३ जना मतदाता सङ्ख्या रहेको थियो । 

यस पटक कैलालीमा एउटा मतदानस्थल थपको प्रस्ताव गरिएको छ । टीकापुर नगरपालिकामा एउटा मतदान स्थल थपको प्रस्ताव आयोगमा पठाएको भट्टले बताए । ‘टीकापुरका मतदानस्थलमा बढी भीडभाड हुने गरेको देखिएकाले एउटा मतदान स्थल थपको प्रस्ताव गरेका हौं’, उनले भने । यो जिल्लामा मतदानस्थल सङ्ख्या २३६ रहेको छ । एउटा थप भएमा २३७ पुग्नेछ । जिल्लाभरि मतदान केन्द्र भने ६१९ रहेको छ । 



मङ्गलबार २४, साउन २०७९ १०:०६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.