वर्षाले खेत सिञ्चित भएपछि किसान मख्ख

युग संवाददाता     217 पटक पढिएको    

वर्षाले खेत सिञ्चित भएपछि किसान मख्ख

धनगढी / रोपाइँ गरेर धानबालीका लागि पानी पर्खेका किसान मख्ख परेका छन् । खेतीपातीमा सिँचाइका लागि पुग्ने वर्षा भएपछि उनीहरु हर्षित भएका हुन ।  
बुधबारदेखि तीन दिनसम्म मुसलधारे वर्षा भएको छ । वर्षा भएपछि कैलालीका किसानलाई राहत महसुस भएको हो । मध्य असारबाट पानी नपर्दा खेतको धान सुक्न थालेको थियो । आली भर्ने गरी पानी परेपछि भने धेरै राहत भएको धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँका कृषक सन्तराम रानाले बताए । 
‘पानी नपर्दा खेतमा धाँजा फाटिसकेको थियो’, उनले भने । ‘लामो पर्खाइपछि परेको पानीले धानलाई धेरै राम्रो गरेको छ ।’ कृषक रानाका अनुसार पानी नपर्दा धान सुक्न थालेको थियो । ‘पानी पर्खौं कि अब सुक्न लागेको धानमा सिँचाइ गरौं भन्ने दोधारमा थिएँ’, उनले भने । ‘जे होस पानी प¥यो । अब बोरिङले सिँचाइ गर्नु पर्दैन ।’ 
यसवर्ष नेपालमा मनसुनी वर्षा सरदरभन्दा बढी रहेको पूर्वानुमान भए पनि अहिलेसम्म एकदमै ठूलो वर्षा भने भएको छैन । रोपाइँकै बेला पानीको अभाव झेलेका किसानले धान रोपिसकेपछि पनि त्यहि समस्या झेलिरहेका थिए । चर्को घाम लाग्दा भएको सुख्खाका कारण धान नै सुक्न थालेपछि कतिपय किसाले त धान रोपेको खेतमा बोरिङले सिँचाइ नै गरिसकेका छन् । 
कृषि ज्ञान केन्द्रका अनुसार कैलालीमा यस वर्ष ६९ हजार पाँच सय हेक्टर जमिनमा धान खेती भएको छ । आकाशे पानीको भरमा खेतीपाती गर्ने केही स्थानमा बाहेक प्रायः सबैतिर रोपाइँ सम्पन्न भइसकेको जनाइएको छ । जिल्लाको पहाडी क्षेत्र चुरे गाउँपालिका र मोहन्याल गाउँपालिकाका किसानले ढिलो रोपाइँ गर्ने गरेका छन् । सिँचाइ सुविधा नभएका त्यहाँको किसानले रोपाइँ गर्न आकाशे पानीको भर पर्ने गरेको ज्ञान केन्द्रले जनाएको छ । पानी परेपछि रोपाइँ गर्न बाँकी रहेका किसानले पनि धान रोपिसकेका छन् । 



शुक्रबार ०६, साउन २०७९ ०५:५० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.