डोटी / तीन दिनदेखिको लगातारको वर्षाका कारण जिल्लाको सेती नदीमा पानीको बहाव बढेको छ । बहाव बढेकाले नदी आसपासका बस्तीमा खतरा बढेको जनाउँदै सचेत रहन जिल्ला प्रशासन कार्यालयले यहाँका सबै नागरिकलाई आग्रह गरेको छ ।
जिल्लाको गोपघाट र दिपायलमा रहेको बाढीमापन केन्द्रका अनुसार जलसतह मापनभन्दा अधिक बढेको छ । सेती नदीमा गरिएको पानीको बहाव मापनअनुसार ५.४ क्युसेक पुगेको छ । यो ‘वार्निङ प्वाइन्ट’ भन्दा माथि हो । केन्द्रका अनुसार ३.५ क्युसेक बाढीको बहाव हुँदा नदीमा बाढीको बढी खतरा हुने गर्दछ । नदीले यहाँका धान रोपेका खेतमा कटान गरी बगाउन थालेको छ ।
नदी आसपासका बस्ती बानीडुग्रीसैन, गोपघाट, बारपाटा, सिरखोलीसैन, कालागाढ, रामपुर, दिपायल, घोल्तडा, भागेतडा, कैलडा तथा नारीदाङका स्थानीयवासीलाई विशेषगरी रातिको समयमा सचेत रहन प्रशासनले आग्रह गरेको छ । यसैगरी नदीमा पानीको बहाव बढ्न थालेसँगै इलाका प्रहरी कार्यालय दिपायल, प्रहरी चौकी तिल्तालीको टोलीले नागरिकलाई नदी क्षेत्रमा नजान तथा सचेत रहन माइकिङ गरिरहेको छ ।
सेतीमा पानीको बहाव बढेकाले नदी आसपासका नागरिकलाई सुरक्षित रहन र नदीमा माछा मार्दै आएका नागरिकलाई केही दिन नदीमा नजानसमेत आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी कमला श्रेष्ठले बताए ।
लगातारको वर्षाका कारण बाढीपहिरो आउने खतरा बढेकाले प्रजिअ श्रेष्ठले विपद् व्यवस्थापनमा जुट्नका लागि जिल्लाका तीनवटै सुरक्षा निकाय (नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी)लाई ‘हाइअलर्ट’ मा बस्न निर्देशनसमेत दिएका छन् ।
विपद् तथा नदीबाट हुने खतराबाट जोगिन प्रशासनले चौबिसै घण्टा सुरक्षाकर्मीलाई ती क्षेत्रमा अनुगमन गर्न निर्देशनसमेत दिएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ । जिल्लामा लगातार वर्षा भइरहे पनि अन्य साना नदीमा पानीको बहाव समान्य अवस्थामै रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । वर्षाकै कारण यहाँका विभिन्न ठाउँमा पहिरो गएको छ,भने एक दजर्नभन्दा बढी ग्रामीण सडक अवरुद्ध भएका छन् ।
वर्षा सुरु भएसँगै पहिरा खस्दा जिल्लाका ग्रामीण भेगका अधिकांश सडक अहिले सवारीसाधन गुड्न नसक्ने अवस्थाका भएका छन् । उता जिल्लाको जोरायल तथा बडिकेदार गाउँपालिकाको बिपीनगरमा रहेको ठूलीगाडमा समेत पानीको सतह निकै बढेकाले सतर्क रहन त्यहाँका नागरिकलाई आग्रह गरिएको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले जानकारी दिए।
प्रतिकृया दिनुहोस