बझाङमा कोरोना प्रभावितको रकम मनोमानी वितरण

युग संवाददाता     191 पटक पढिएको    

बझाङमा कोरोना प्रभावितको रकम मनोमानी वितरण

बझाङ / बझाङको जयपृथ्वी नगरपालिकम–४, गोलाइमा कोरोना प्रभावितका लागि आएको राहत रकम वडाध्यक्षले आफुखुसी वितरण गरेको आरोप लागेको छ । वडाध्यक्ष इश्वरी खातीले राहत स्वरुप आएको रकम रकमान्तर गरेर विपन्न समुदाय पीडितभन्दा आफूनिकटलाई राहत रकम वितरण गरेका स्थानीयको आरोप छ ।

कोराना संक्रमित भएका विपन्न समुदायका ३० जनालाई प्रतिव्यक्ति १० हजार रुपैयाँका दरले राहत आएको थियो । तर वडाध्यक्षले कसैसँग सल्लाह नगरी निकटका व्यक्तिलाई आफूखुसी वितरणका लागि नगरपालिकामा सिफारिस गरेका थिए । कोरोना प्रभावितका लागि आएको रकम वास्तविक कोरोना प्रभावितलाई दिनुपर्ने भए पनि वडाको सिफारिसमा नगरपालिकाले शीर्षक परिवर्तन गरेको थियो ।

मापदण्डअनुसार सार्वजनिक सूचना जारी गरेर प्रभावितलाई आवेदन दिन आव्हान गर्ने र आवेदन दिएकाहरु मध्येबाट विपन्न समुदायका पीडितलाई छनोट गरी राहत दिनुपर्ने हो । तर वडाका अन्य जनप्रतिनिधिसँग समेत छलफल नगरी वडाध्यक्षले आफू निकट व्यक्तिलाई सिफारिस गरेको नाम उल्लेख गर्न नचाहेका कोरोना प्रभावित एक स्थानीयले बताए ।

कोरोना प्रभावितका लागि रकम आएको थाहा पाएपछि आफू वडा कार्यालयमा निवेदन दिन गए पनि उक्त रकम वडाका विपन्नलाई वितरण गर्ने भन्दै फर्काइएको गत वर्ष कोरोना संक्रमित भएर लामो समय समस्या झेलेका ती स्थानीयले बताए । राहत रकम विपन्नलाई दिनुपर्ने व्यवस्था भए पनि नियमानुसार वितरण समेत नगरिएको पाइएको छ ।

सबै वडामा जनसंख्या तथा विपन्नताको आधार हेरि विपन्नको सिफारिसका आधारमा राहत रकम वितरण गर्नुपर्ने भए पनि मनोमानी रुपमा वितरण गरिएको स्थानीय गोरख उपाध्यायले आरोप लगाए । विपन्नको साटो रोजगारी भएकाहरुलाई समेत वडाले राहत वितरण गरेको उनको आरोप छ ।  

‘दैनिक मजदुरी गरेर छाक टार्नेलाई राहत रकम दिइएन । तर कर्मचारीका घरका मान्छेलाई समेत राहत दिइयो ।’ एक स्थानीयले भने, ‘वडा कार्यालयका कर्मचारीका आफन्त तथा जनप्रतिनिधि निकटलाई वितरण गरिएको छ ।’ आफूलाई दिनुपर्ने राहत वडाध्यक्षले चुनावमा आफूलाई सहयोग गरेकाहरुलाई दिएको राहत नपाएका विपन्न समुदायका पीडितको आरोप छ।

यसमा नगरपालिकाको समेत मिलेमतो रहेको बताइएको छ । कोरोना संक्रमित भएर रोजगारी गुमाएका तथा समस्यामा परेका विपन्न समुदायका प्रभावितलाई संघीय सरकारबाट आएको राहत रकम नगरपालिकाको स्वास्थ्य शाखामार्फत् वडाको जिम्मा दिएर वितरण गरिएको थियो । यसबारे बुझ्न खोज्दा वडाध्यक्ष खातीसँग सम्पर्क हुन सकेन ।

मेयरको समेत मिलेमतोमा नगरपालिकाका अन्य वडामा पनि कोरोना प्रभावितको राहत वितरणमा मनोमानी भएको नगरवासीको गुनासो छ । विपन्नका लागि आएको रकम केही जनप्रतिनिधिले आफूखुसी वितरण गरेको भन्दै जनस्तरमा विरोध हुन थालेको छ । 



बिहिबार ०५, साउन २०७९ ०६:२८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.