पाँच महिनादेखि धनगढीमा थन्कियो पञ्चेश्वर गाउँपालिकाको एम्बुलेन्स

युग संवाददाता     269 पटक पढिएको    

पाँच महिनादेखि धनगढीमा थन्कियो पञ्चेश्वर गाउँपालिकाको एम्बुलेन्स

बैतडी / बैतडीको पञ्चेश्वर गाउँपालिकाको एम्बुलेन्स धनगढीमा थन्किएको पाँच  महिना बढी भइसक्दा समेत पालिकाले चासो दिएको छैन् । एम्बुलेन्स नहुँदा बिरामीले सास्ती भोग्दा समेत एम्बुलेन्स ल्याउने बिषयमा पालिकाले चासो नदिएको गुनासो बढेको छ ।

पञ्चेश्वर गाउँपालिकाको एम्बुलेन्सले करीब पाँच महिना अगाडि धनगढीमा मोटरसाइकललाई ठक्कर दिएपछि एम्बुलेन्स प्रहरीको नियन्त्रणमा रहेको छ । सुदूरपश्चिम प्रदेश सरकारले गाउँपालिकालाई उपलब्ध गराएको एम्बुलेन्स पाँच महिनादेखि थन्किएको भएपनि त्यसलाई ल्याउने बिषयमा प्रयास भएको छैन् । 

गाउँपालिकामा एम्बुलेन्स नहुँदा बिरामीहरुले भने सास्ती भोग्नुपरीरहेको स्थानीय जयबहादुर चन्दले बताए ।पञ्चेश्वर गाउँपालिकाको एम्बुलेन्स चालकसंग हलुका सवारी साधनको मात्रै लाइसेन्स भएको र एम्बुलेन्स हेबी भएकाले हेबी सवारी साधनको लाइसेन्स भएको चालक राख्न पनि प्रहरीले भनेको छ । 

पञ्चेश्वर गाउँपालिकाको एम्बुलेन्स ५ महिनादेखि धनगढीमा थन्किएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसागर शाहले स्वीकारे । एम्बुलेन्सले ठक्कर दिएको मोटरसाइकलको पाटपूर्जा मगाएर मर्मत गर्नुपर्ने भएकाले ढिलाइ भएको उनले बताए ।  

एम्बुलेन्स जस्तो संवेदनशील साधन पाँच  महिना थन्किदा समेत चासो नदिएको भन्दै जनप्रतिनिधिहरुको आलोचना हुन थालेको छ । अत्यावश्यक साधनको रुपमा रहेको एम्बुलेन्स सञ्चालन र व्यवस्थापनमा पालिकाले ध्यान नदिएको भन्दै आलोचना भएको हो । 

पञ्चेश्वर गाउँपालिकाको एम्बुलेन्स पाँच  महिनादेखि धनगढीमा रहेको जानकारी जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिलाई समेत रहेको छ । थन्किएको एम्बुलेन्स ल्याउनका लागि आग्रह गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । 



मङ्गलबार ०३, साउन २०७९ ०८:२३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.