१३ जिल्लामा पालिका अधिवेशन सर्दै, वडा अधिवेशन पनि अनिश्चित

कांग्रेस महाधिवेशन

युग संवाददाता     500 पटक पढिएको    

१३ जिल्लामा पालिका अधिवेशन सर्दै, वडा अधिवेशन पनि अनिश्चित


काठमाडौं  असोज ५ । नेपाली कांग्रेसले १३ जिल्लामा वडा अधिवेशन ढिला हुने भएसँगै ति जिल्लामा पालिका अधिवेशनसमेत सार्ने तयारी गरेको छ ।

कांग्रेसले क्रियाशील सदस्यता नामावली टुंगिन बाँकी १३ जिल्लामा वडा अधिवेशन सार्ने तयारी गरिरहँदा त्यसको असर ९ असोजका लागि तोकिएको पालिका अधिवेशनमा पनि पर्ने पक्का भएको हो ।

कांग्रेसले बनाएको क्रियाशील सदस्यता छानविन समितिका सदस्य आनन्द ढुंगानाले १३ जिल्लामा वडा अधिवेशनसमेत धकेलिने भएपछि ति जिल्लामा पालिका अधिवेशनसमेत केही दिन सर्ने बताएका हुन् ।

‘१३ जिल्लामा केही दिन भित्रै वडा अधिवेशन हुन्छ । ९ गते पालिका अधिवेशन तोकिए पनि ति जिल्लामा अब सम्भव छैन, केही दिन सर्छ । तर त्यसले पछिका अधिवेशनलाई असर गर्दैन । बाँकी जिल्लामा भने सोही मितिमा नै पालिका अधिवेशन हुन्छ,’ ढुंगानाले हाम्राकुरासँग भने ।

उनका अनुसार प्रदेश २ का सबै जिल्लामा प्राय सदस्यताको विवाद समाधान भइसकेको छ । रौतहट र बाराको सदस्यता रुजु गर्ने काम भइरहेको उनले जानकारी दिएका हुन् । १४औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन हुन बाँकी २० जिल्लामध्ये आज सात जिल्लामा वडा अधिवेशन हुँदैछ ।

काठमाडौं, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, बाजुरा, कपिलवस्तु, बर्दिया र मोरङमा वडा अधिवेशन हुन लागेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए ।

कांग्रेसले यसअघि ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ । कांग्रेसको वडा अधिवेशन गत १८ भदौ मा तोकेको थियो । तर सो मितिमा भने प्रक्रिया मात्रै शुरु भएको थियो । अब भने प्रदेश नं २ का आठ जिल्ला तथा सुर्खेत, डोल्पा, रसुवा, रुपन्देही र कैलाली गरी १३ जिल्लाको क्रियाशील सदस्यता विवरण कांग्रेसले पार्टीको वेबसाइटमा सार्वजनिक गर्न बाँकी छ ।

कांग्रेसले महाधिवेशनअन्तर्गत गाउँ–नगरपालिका अधिवेशन ९ असोज, प्रदेशसभा क्षेत्रीय अधिवेशन १२ असोज र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन–एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन १५ असोजका लागि तय गरेको छ । त्यस्तै एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन १८ असोज, प्रदेश अधिवेशन १० देखि १२ कात्तिक र केन्द्रीय महाधिवेशन आगामी ९ देखि १३ मंसिरसम्म तय गरेको छ ।



मङ्गलबार ०५, असोज २०७८ ०१:२८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.