बानियाँ संसदीय दलको नेता निर्वाचित, मुख्यमन्त्री लामा सङ्कटमा

Yugnepal     65 पटक पढिएको    

बानियाँ संसदीय दलको नेता निर्वाचित, मुख्यमन्त्री लामा सङ्कटमा

हेटौँडा। बागमती प्रदेशसभा, नेपाली कांग्रेस संसदीय दलमा लामो समयदेखि चल्दै आएको आन्तरिक शक्ति सङ्घर्ष अन्ततः निर्णायक मोडमा पुगेको छ। बुधबार सम्पन्न मतदानमा मुख्यमन्त्री बहादुरसिंह लामालाई पराजित गर्दै इन्द्रबहादुर बानियाँ संसदीय दलको नेतामा निर्वाचित भएका छन्।


कुल ३७ जना सांसदमध्ये बानियाँले २२ मत प्राप्त गरेका छन् भने निवर्तमान दलका नेता तथा मुख्यमन्त्री लामाले १४ मत मात्र प्राप्त गरे। एक मत बदर भएको निर्वाचन समितिले जनाएको छ। करिब साढे दुई वर्षदेखि कांग्रेस संसदीय दलको नेतृत्व सम्हाल्दै आएका मुख्यमन्त्री लामा अब दलको नेताबाट बाहिरिएका छन्।

यद्यपि, दलको नेताबाट पराजित भए पनि मुख्यमन्त्री पदबाट भने राजीनामा नदिने लामाको अडान छ। लामाले आफू संविधानको धारा १६८ (२) अनुसार नियुक्त भएको बताउँदै, दलको नेता नभए पनि मुख्यमन्त्री पदमा रहन पाउने दाबी गरेका छन्। साथै, संविधानले दुई वर्षसम्म विश्वासको मतविरुद्ध प्रस्ताव ल्याउन नपाइने व्यवस्था गरेको भन्दै उनले पद नछोड्ने अडान लिएका हुन्।

यता, नव निर्वाचित दलका नेता बानियाँले भने लोकतान्त्रिक अभ्यासअनुसार लामाले राजीनामा दिनुपर्ने धारणा राखेका छन्। उनले दलको निर्णयअनुसार आफू कांग्रेसको आधिकारिक नेता भइसकेको भन्दै यदि लामा पदबाट नहट्ने हो भने लोकतान्त्रिक अभ्यासअनुसार प्रक्रियाबाटै बिदाइ गर्ने बताए।

यसैबीच, लामाको नेतृत्वमा रहेको बागमती प्रदेश सरकार थप सङ्कटमा परेको छ। लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि उनको पक्षमा रहेका पाँच जना मन्त्रीले राजीनामा दिँदै बानियाँको समर्थनमा उभिएका कारण उनको पकड कमजोर भएको छ।

अर्कोतर्फ, सरकार साझेदार दल नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले कांग्रेसको आन्तरिक कलह समाधान नगरे एमाले सत्तामा आउन तयार रहेको चेतावनी दिएका छन्। उनले कुनै पनि पार्टीको आन्तरिक द्वन्द्वले सरकारको सङ्घीय संरचनामा समस्या ल्याउन नहुने बताए।

यो प्रतिस्पर्धा बानियाँ र लामाबीचको दोस्रो प्रतिस्पर्धा हो। २०७९ पुस १३ मा भएको संसदीय दलको पहिलो निर्वाचनमा बानियाँ पाँच मतले पराजित भएका थिए। त्यसपछिका साढे दुई वर्षमा परिस्थितिले नयाँ मोड लिँदै जाँदा लामाविरुद्धको असन्तुष्टि बढ्दै गएको थियो। गुटगत राजनीति र नेतृत्वको शैलीप्रति बढ्दो असन्तोषबीच बानियाँले अन्ततः बहुमतको समर्थनसहित दलको नेतृत्व हात पार्न सफल भएका छन्।



बुधबार १५, साउन २०८२ ०४:११ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal