सुदूरपश्चिममै एक्लिए भीम रावल एकीकृत समाजवादी बन्यो सबैभन्दा ठूलो दल

युग संवाददाता     712 पटक पढिएको    

सुदूरपश्चिममै एक्लिए भीम रावल एकीकृत समाजवादी बन्यो सबैभन्दा ठूलो दल
तस्वीर–फाइल ।

 


धनगढी  भदौ २२। नेकपा एमालेभित्र सुदूरपश्चिम प्रदेशमा आफ्नो वर्चश्व जमाएका उपाध्यक्ष  भीम रावल अन्ततः एक्लिएका छन् । सोमबारसम्ममा  सुदूरपश्चिम प्रदेशसभाका १४ जना एमाले सांसदले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका पक्षमा समाहित भएसँगै उनी करिब करिब एक्लिएका हुन् । 

प्रदेशसभामा एमालेका २५ सांसदमध्ये १४ जना औपचारिक रुपमै एकीकृत समाजवादतिर लागेका छन् । भौतिक पूर्वाधार विकास मन्त्री दीर्घराज सोडारी, सांसदद्वय अर्चना गहतराज र तारा लामा तामाङले पनि नेपालको पार्टी रोजेपछि एमालेलाई मात्र होइन रावलको राष्ट्रिय राजनीतिमा पनि धक्का लागेको छ ।

सुदूरपश्चिम प्रदेशमा एमालेका पक्षमा भीम रावलजस्ता पुराना कमान्डरमात्र नभई माओवादी पृष्ठभूमिबाट एमालेमा प्रवेश गरेका लेखराज भट्ट पनि एमालेमा रहँदासमेत एमाले कमजोर बनेको छ । 

एमालेको नवौं महाधिवेशनमा माधव नेपाल पक्षबाट उपाध्यक्ष जितेका रावल लामो समयसम्म नेपाल क्याम्पमै रहे । रावलले नेपाल समूहबाट एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सहमति गर्नका लागि विवाद निरुपण कार्यदलमा समेत रहेर १० बुँदे सहमति गरे ।  

रावल माधव नेपालले अलग पार्टी गठन गर्दा ओलीतिरै लागे । जबकि माधव नेपालले आफूलाई अगाडि बढ्नका लागि उक्साउनेहरुले नै छाडेर गएको गुनासो गरिरहँदा रावल एक नम्बरमा थिए । रावलले ओलीलाई छाड्न उक्साएको बुझिन्थ्यो । रावल ओलीतिर लागेपछि डोटीका सांसद प्रेम आले भने अचानक माधव नेपालसँग आइपुगे । अहिले रावल ओलीतिर आले नेपालतिर भएका छन् । 

सर्वोच्च अदालतको गत फागुन २३ गतेको फैसलाले नेकपा विभाजन भएपछि रावल माधव नेपालको पक्षमा लाग्दा एमाले अध्यक्ष ओलीले माओवादीबाट प्रवेश गरेका लेखराज भट्टलाई एमालेको सुदुरपश्चिम इन्चार्ज बनाएका थिए ।

तर एमालेमा आएको विभाजनमा रावल ओलीतिर लागेपछि ओलीले पुनः भदौ १३ पछि रावल नै इन्चार्ज रहेको सर्कुलर जारी गरेका भए पनि रावलले आफ्नो प्रदेशमा पहिलाको जस्तो पकड जमाउन सकेनन् । 

राष्ट्रियताका सवालमा खरो र तर्कपूर्ण टिप्पणी गर्ने रावल ओलीले संविधान विपरीत गरेको संसद विघटनलाई प्रतिगामी भन्दै आएका थिए । तर पछिल्लो पटक उनै ओलीसँग जोडिन पुगेपछि विगतमा रावललाई साथ दिँदै आएका सुदूरपश्चिमका नेताहरुले समेत उनलाई छाडे । पहिला रावलकै स्वकीय सचिव रहेका र अहिले राष्ट्रिय सभाका सांसदसमेत रहेका शेरबहादुर कुँवरलेसमेत छाडे । 

दीर्घ सोडारी, बलबहादुर कुँवर लगायतका हस्तीले पनि रावलको साथ छाडे । रावलसँग अहिले झपट रावलसहितका केही नेताहरुमात्र रहेका छन् । सांसद शेरबहादुर कुँवरको पक्षमा अछाममा राम्रो जनमत रहेको नेताहरुको भनाई छ । कुँवरले मात्रै होइन रावलका विश्वासपात्र मानिने अन्य जिल्लाका नेताहरुले पनि उनको साथ छोडेकाले शक्ति क्षयीकरण भइरहेको छ । 

तर दीर्घ सोडारीले मुख्यमन्त्री पाउने भएपछि उनी माधव नेपाललाई साथ दिन पुगेको अनुमान पनि कतिपयले गरेका छन् । सोडारीलाई एमालेमै रहेका बेला पार्टीले कारबाही गरेको थियो । त्यतिबेला भीम रावल लगायतका नेताहरुले सोडारीको कारबाही फुकुवा गराउन पहल गरेका थिए । 

सुदूरपश्चिममा नेपालको नेकपा एकीकृत समाजवादी सबैभन्दा ठूलो दल बन्न पुगेको छ । सबैभन्दा ठूलो दल रहँदै आएको एमाले चौथोमा झरेको छ । मंगलबार ९भदौ २२० सम्म दल परिवर्तन गर्न पाउने गरी निर्वाचन आयोगले समय दिएको छ ।

हाल कायम रहेको ५२ सदस्यीय प्रदेशसभामा एकीकृत समाजवादीका १४, माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२, एमालेका १० र जनता समाजवादीका दुई सांसद रहेका छन् ।

यी हुन् सुदूरपश्चिमका नेपालका सारथीहरु–
१, पूर्णा जोशी
२, कुलवीर चौधरी
३, सुशील बुढाथोकी
४, लालबहादुर खड्का
५, माया भट्ट
६, चुनकुमारी चौधरी
७, अमर साउद
८, मना साउद
९, दुर्गा विक
१०, बलबहादुर सोडारी
११, तारालामा तामाङ
१२, दीर्घ सोडारी
१३, प्रकाश रावल
१४, माया बोहरा तामाङ ।



मङ्गलबार २२, भदौ २०७८ १०:११ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.