केन्द्रमा देउवा चिनियाँ र भारतीय राजदूतले गरे ‘वान टू वान’ वार्ता

युग संवाददाता     961 पटक पढिएको    

केन्द्रमा देउवा  चिनियाँ र भारतीय राजदूतले गरे ‘वान टू वान’ वार्ता

 


रातोपाटीबाट 
काठमाडौं  फागुन १४। नेपालका दुई छिमेकी मुलुक चीन र भारतका राजदूतहरुले नेपाली काँग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । नेपालमा नयाँ राजनीतिक घटनाक्रम विकास भएसँगै  चिनियाँ राजदूत होउ यान्छी र भारतीय राजदूत विनय मोहन क्वात्राले देउवासँग छुट्टाछुट्टै भेटवार्ता गरेको खुलेको छ ।


सर्वोच्च अदालतले फागुन ११ गते प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेसँगै १२ गते चिनियाँ राजदूत यान्छी देउवा निवास बूढानीलकण्ठ पुगेकी थिइन् । नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालसँग भेटपछि राजदूत यान्छीले देउवासँग भेटवार्ता गरेको काँग्रेस स्रोतले जनाएको छ ।


चिनियाँ दूतावासका एक जना प्रतिनिधिले काँग्रेस नेता डा। नारायण खड्कालाई भेटेर देउवासँग भेट तय गरेका थिए । यद्यपि यान्छीले नै देउवासँग वान टू वान वार्ता गरेकी थिइन् ।


त्यसो भोलिपल्ट भारतीय राजदूत क्वात्रा पनि देउवा निवास बूढानीलकण्ठ पुगेको खुलेको छ । विहीबार काँग्रेस पदाधिकारी बैठक सकिएपछि राजदूत क्वात्रा देउवा निवास बुढानिलकण्ठ पुगेको काँग्रेस स्रोतले जनाएको छ ।


विदेशी प्रतिनिधिसँग भेटवार्ता गर्दा यसअघि देउवाले पार्टीका अन्तर्राष्टिय मामिलाका जानकार नेताहरुलाई पनि सहभागी गराउने गरेका थिए । पछिल्ला भेटवार्तामा उनले उक्त अभ्यास नगरेको बुझिएको छ ।

सर्वोच्च अदालतद्वारा प्रतिनिधिसभा विघटनको निर्णय बदर भएपछि राजनीतिक दलहरु नयाँ सरकार निर्माणको कसरतमा जुटेका बेला राजदूतद्वयले सक्रियता बढाएको देखिन्छ । स्रोतका अनुसार दुवै राजदूतले नेपालको पछिल्लो विकसित राजनीतिक घटनाक्रमको विषयमा देउवासँग छलफल गरेका थिए ।

प्रतिनिधिसभा पुनर्स्थापनाबारे छिमेकी भारतको विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले विहीबार नेपालको आन्तरिक मामिला भएको प्रतिक्रिया दिएका थिए ।

संसद पुनःस्थापना नेपालको आन्तरिक मामिला भएको भन्दै नेपालले आफ्नो प्रजातान्त्रिक प्रक्रिया र संस्थाद्वारा टुंगो लगाउने विषय भएको उनको भनाइ थियो ।

यो विषयमा चीनको औपचारिक धारणा भने सार्वजनिक भइसकेको छैन । नेकपा विभाजन रोक्ने प्रयासमा असफल भएपछि पछिल्लो समय चीनले काँग्रेससँग सम्बन्ध विस्तारमा जोड दिएको छ । देउवालाई भावी प्रधानमन्त्रीका रुपमा हेरिएकाले राजदूतद्वयको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।



शुक्रबार १४, फागुन २०७७ ११:३६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.