वालुवाटारमा ओली  खुमलटारमा प्रचण्ड

युग संवाददाता     1084 पटक पढिएको    

वालुवाटारमा ओली  खुमलटारमा प्रचण्ड
फाइल तस्विर

 

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० भित्र आन्तरिक किचलो उत्कर्षमा पुगेका बेला पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड आफ्नो रणनीति तयार गर्न आन्तरिक छलफलमा जुटेका छन् । बुधबारका लागि बोलाइएको पार्टी सचिवालयको बैठकबारे आपसी रणनीति तय गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले वालुवाटारमा र प्रचण्डले खुमलटारमा आफू निकटका नेताहरुसँग छलफल गरेका छन् । वालुवाटारमा उपप्रधानमन्त्री ईश्वर पोखरेल र अर्थमन्त्री तथा पार्टी महासचिव बिष्णु पौडेल, सुवास नेम्वाङ, पृथ्वी सुब्बा गुरुङ लगायतका नेताहरु सहभागी छन् भने खुमलटारमा माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु सहभागी थिए ।


मंसिर ३ गते बुधवारका लागि बोलाइएको पार्टी सचिवालय बैठक कुनै हालतमा नरोक्ने कार्यकारी अध्यक्ष प्रचण्डले अडान लिएपछि आगामी रणनीति तय गर्न वालुवाटारमा छलफल भएको थियो । बुधबारको बैठक रोकेर सहमतिको प्रयास जारी राख्न महासचिव पौडेल दौडधुप गरिरहेका छन् । पौडेलले प्रचण्डलाई भेटेर शुक्रबार सचिवालयमा पेस गरेको प्रस्ताव फिर्ता लिन आग्रह गरेका थिए । उनको सो प्रस्ताव प्रचण्डले अस्वीकार गरेपछि प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री पोखरेल र अर्थमन्त्री समेत रहेका महासचिव पौडेल, नेम्वाङ, गुरुङ लगायतका नेताहरुसँग आपसी रणनीति तय गर्न छलफल गरेका थिए ।


नेकपाका दुई अध्यक्षबीच गडबडी उत्पन्न भएपछि महासचिव पौडेलको दौडधुप शुरु भएको थियो तर प्रचण्डले यसपटक आफ्नो अडानलाई कायमै राखेका छन् । प्रचण्डलाई भेटेर वालुवाटार पुगेका पौडेलले वालुवाटारमा छलफल गर्नुपर्ने भन्दै ओलीसहित अन्य नेताहरुलाई समेत राखेर प्रचण्डसँग भएको कुराकानीको विफ्रिङ गरेका थिए । ओलीसहित वालुवाटारमा छलफलमा बसेको थाह पाएपछि खुमलटारमा पनि प्रचण्डले आफ्नो टिममा छलफल गरेका थिए ।


सचिवालयमा अल्पमतमा परेका ओली बैठक बाहिर नै सहमति खोज्न चाहिरहेको आभाष पाएका प्रचण्डले पौडेलको सन्देश सबै नेताहरुलाई विफ्रिङ गरेका थिए । त्यसक्रममा सचिवालय सदस्य झलनाथ खनालले सबै विषयहरु बैठकबाटै समाधान खोजिने र बैठकमै छलफल हुने बताएका छन् । ‘बैठक राख्दिन भनेर कोही कसैले पाउदैन समस्या आएपछि बैठकबाटै टुग्याउनुपर्छ’, उनले भने । बहुमत सदस्यहरु बैठकमै छलफल हुनुपर्ने अडान राख्दै आएका छन् । नौ सदस्यीय नेकपा सचिवालयमा प्रधानमन्त्री ओलीको पक्षमा ईश्वर पोखरेल, रामबहादुर थापा र विष्णु पौडेल छन् भने प्रचण्डको पक्षमा माधवकुमार नेपाल, झलनाथ खनाल, वामवदेव गौतम र नारायणकाजी श्रेष्ठ छन् ।

बैठक अघि ओली पक्षले आफू सबै विषयमा छलफल गर्न तयार भएको तर प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन भने फिर्ता लिनुपर्ने अडान राखेको छ । प्रचण्डले छलफलका लागि ल्याएको राजनीतिक प्रतिवेदन अब फिर्ता हुने संभावना नरहेको जनाएको छ । दुवै पक्षको आफ्नै अडानको कारण बुधबारको बैठक कसरी अगाडी बढ्ने हो भन्ने बारेमा कुनै टुंगो नभएको एक स्थायी कमिटी सदस्यले बताए । ‘दुवै पक्ष आफ्नै अडानमा कायमै छन् बुधबारको बैठक बस्ने नबस्नेबारे अहिले नै केही भन्ने अवस्था छैन’, ती सदस्यले भने ।



मङ्गलबार ०२, मङि्सर २०७७ ०६:०६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.