रौतहटमा बाढीको त्रास, बस्तीमा पस्यो पानी

Yugnepal     742 पटक पढिएको    

रौतहटमा बाढीको त्रास, बस्तीमा पस्यो पानी

 

रौतहट। अबिरल बर्षाका कारण रौतहट जिल्लाको धेरै स्थान जलमग्न भएका छन्। जिल्ला सदरमुकाम गौरमा रहेको जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय लगायतका कार्यालय अगाडि २ फिट पानी जमेको छ। लालबकैया र बागमति खोलामा जलस्तर बढेपछि जिल्लाका दक्षिणी भुभाग जलमग्न बनेका छन् भने पानीको वहाव उच्च रहेको छ। ३ दिनदेखि रौतहटमा लगातारको वर्षा भइरहेको छ।

गौर २ महादेवपट्टीमा दुई वर्ष अघि भत्कीएको बाँध मर्मत नहुँदा सो स्थानबाट सदरमुकाम गौरतर्फ बाढीको पानी पस्न थालेको छ। लालबकैया नदीमा पानीको बहाव अत्याधिक भएर बाढी आउदा ईशनाथ नगरपालिका १ को बन्जरहा डुबानमा परेको छ। बन्जरहामा डुबानमा परेका तीन सय घर परिवारलाई सुरक्षित स्थानमा स्थान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी भरत श्रेष्ठले बताए।

यसैगरी राजपुर नगरपालिका ८ बलुवा टोलमा पनि बाढीको पानी पसेको छ। बलुवा टोलका २० घरमा लालबकैयाको बाढी पसेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। गौर नगरपालिकाकै महादेवपट्टी र भन्सार क्षेत्रमा पनि बाढीको पानी पस्न थालेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी श्रेष्ठले बताए।

वर्षा नरोकिए बाढीको पानीले अन्य बस्तीहरु पनि डुबानमा पर्ने खतरा बढेको छ। गौर चपुर सडक खन्डको सबगढामा रहेको लच्का माथीबाट पानी बग्दा आवगमनमा समस्या आएको छ। गढिमाई नपा, दुर्गा भगवती गाउँपालिकामा पनि बस्तीमा पानी पसेको छ। रौतहट र सर्लाहीका तटिय क्षेत्रका बासिन्दालाइ सजग रहन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। हाम्राकुराबाट साभार 



सोमबार २९, असार २०७७ ०१:२६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal