ओलीले अटेर गर्दा प्रचण्ड, माधव, झलनाथ र वामदेव झन दरिए

Yugnepal     679 पटक पढिएको    

ओलीले अटेर गर्दा प्रचण्ड, माधव, झलनाथ र वामदेव झन दरिए

 


काठमाडौं। वैशाखमा वामदेव गौतमको साथ पाएर प्रधानमन्त्री पद छोड्नबाट बचेका प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि उनलाई फकाउने प्रयास गरेपनि यो पटक त्यो सम्भावना न्यून रहेको पाइएको छ। सत्तारुढ नेकपा भित्रको विवादले उत्कर्ष लिइरहँदा प्रधानमन्त्री ओलीले वामदेवलाई नयाँ पार्टीको अध्यक्ष र प्रधानमन्त्री बन्ने प्रस्ताव पेश गरेका हुन् ।

ओलीलाई स्थायी समितिका अधिकांश सदस्यले नेकपाको अध्यक्ष र प्रधानमन्त्री दुबै पद छाड्न चर्को दबाब दिएका छन् । स्थायी कमिटीको दवावसँगै ओलीले उनीहरुलाई हुल्लड भन्दै राजिनामा नदिने बताएका छन्।यो विवाद बढ्दै जाँदा नेकपा लगभग फुटको अवस्थामा पुगेको छ । 

पार्टीमा बहुमतले पदबाट हट्न निर्देशन दिदा पनि त्यसलाई अटेरी गरेका ओलीसँग कसरी सामना गर्ने भन्नेमा प्रचण्डले खुमलटारमा शनिबार दिउँसो वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, गृहमन्त्री तथा सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ सँग छलफल गरेका थिए।

दुई पार्टी एक भएपछि सांगठनिक रुपमा बलियो र ठूलो भएको नेकपालाई बचाएर ओलीलाई घर फर्काउने रणनीतिमा उनीहरुबीच छलफल भएको थियो। स्रोतका अनुसार दिउँसोको बैठकमा ओलीलाई सकेसम्म थकाएर दुवै पद छाड्न लगाउनेमा रणनीतिमा छलफल भएको थियो। 

बैठकमा गौतमले प्रधानमन्त्री ओलीका तर्फबाट नयाँ दलको अध्यक्ष बन्ने र संसदीय दलको नेता बनेर एक वर्षपछि प्रधानमन्त्री बन्ने अफर आएको पनि जानकारी गराएका थिए । उपप्रधानमन्त्री तथा सचिवालय सदस्य ईश्वर पोखरेल मार्फत प्रधानमन्त्री ओलीले सो प्रस्ताव आफूलाई पठाए पनि आफूले प्रस्ताव ठाडै अस्वीकार गरेको जानकारी गौतमले वैठकमा गराएका थिए । गौतम निवासमा ओली पक्षीय लगभग २० जना नेताहरु शुक्रबार साँझ पुगेका थिए। हाम्राकुराबाट साभार



आइतबार २१, असार २०७७ १०:२० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.