चामल आयातमा कमी सन्दर्भः धान दिवस

Yugnepal     1154 पटक पढिएको    

चामल आयातमा कमी सन्दर्भः धान दिवस

 

धनगढी । सुदूरपश्चिम प्रदेशमा चालु आर्थिक वर्षमा चामल आयातमा कमी आएको छ । हरेक वर्ष अर्वौ रुपैयाँको चामल आयात हुँदै आएकोमा चालु आर्थिक वर्षमा कमी आएको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।

कृषि मन्त्रालयका अनुसार कैलाली भन्सार हुँदै प्रदेशमा गत आर्थिक वर्ष २०७५र७६ मा २५ हजार एक सय २१ मेट्रिक टन चामल आयात भएको थियो । गत वर्ष एक अर्व २८ करोड ५५ लाख ५७ हजार तीन सय ३९ रुपैया मूल्यको चामल आयात भएको थियो ।

मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०७६र०७७ मा गत वर्षको तुलनामा चामल आयातमा निकै कमी आएको छ । चालु आर्थिक वर्षमा ११ हजार तीन सय १७ मेट्रिक टन मात्र चामल आयात भएको जनाइएको छ । यसको मुल्य ६१ करोड रुपैयाँ हो ।

प्रदेश कृषि मन्त्रालयका प्रवक्ता खगेन्द्र शर्माले मन्त्रालयले सञ्चालन गरेका कार्यक्रमका कारण चामल आयातमा कमी आएको दावी गरे । उनले भने– ‘मन्त्रालयले चामल आयातमा कमी ल्याउन चैते धान खेती विस्तार, मसिनो र बास्नादारी धान खेती कार्यक्रम, सिचाईं सेवाको विस्तार लगायतका कारण चामल आयातमा कमी ल्याउन सफल भएका छौं ।’

तर, मन्त्रालयले यसो भनिरहँदा आफै त्यसको खण्डन पनि गरेको छ । मन्त्रालयका प्रवक्ता खगेन्द्र शर्माले यस वर्ष सरकारले जारी गरेको लकडाउनले पनि चामल आयातमा प्रभाव परेको बताए । उनले भने– ‘सरकारले गरेको लकडाउनले चामल ढुवानी हुन सकेन । यसका कारण पनि चामल आयातमा कमी आएको हुन सक्छ ।’

सुदूरपश्चिम प्रदेशमा हरेक वर्ष धान उत्पादनमा वृद्धि हुँदै गएको पनि मन्त्रालयले दावी गरेको छ । मन्त्रालयका प्रवक्ता शर्माले देशभरी नै धान उत्पादनमा कमी आए पनि प्रदेशमा भने धान उत्पादनमा वृद्धि भएको तथ्यांकले देखाउने गरेको बताए ।

उनका अनुसार आर्थिक वर्ष २०७५र०७६ मा प्रदेशमा छ लाख पाँच हजार मेट्रिक टन धान उत्पादन भएको थियो । चालु आर्थिक वर्ष २०७६र७७ मा छ दशमलब सात प्रतिशतले धान उत्पादनमा वृद्धि भएको थियो । मन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा छ लाख ४६ हजार मेट्रिक टन धान उत्पादन भएको जनाइएको छ ।

मन्त्रालय मातहातको कृषि निर्देशनालयका निर्देशक यज्ञराज जोशीले संघीयता लागु भएसंगै प्रदेशमा कृषि क्षेत्रमा फड्को मारेको बताए । उनले भने– संघीयता अघि कृषिमा बजेट पनि अपुग थियो । अहिले किसानका लागि प्रदेश र स्थानीय तहबाट कृषि सामग्री, विउ लगायतको सहयोग पुगेको छ । यसले कृषकलाई पहिलेको भन्दा धेरै हदसम्म सहयोग पुगेको छ ।

रोपाई अन्तिमतिर, मल अभाव कायमै
सधैँ रासायनिक मल प्रयोग गरेको खेतमा यसबर्ष मल अभावमा उब्जनी घटने कैलारी गाउँपालिकाका किसान प्रेम चौधरीले गुनासो गरे । उनले समयमै मल नपाउँदा खेती गर्न सारै नै समस्या भइरहेको बताए ।

देशमा जारी लकडाउनका कारण सहजै मल पाउन नसकिरहेको किसानहरू बताउँदै आएका छन् । मल खोज्न धेरै ठाउँ धाए पनि मल भन्ने नपाएको कैलारी गाउपालिकाकै अर्का किसान सुरेशकुमार चौधरीले गुनासो गरे । मल नपाउँदा विना मलमै खेती गर्नुपर्ने बाध्यता रहेको उनको भनाई छ । खेती लगाउने समयमै मल नपाए पछि यस वर्ष उब्जनी घट्ने चिन्तामा किसानहरू छन् ।

प्रदेशमा मल आपूर्ति गर्दै आएको कृषि सामग्री कम्पनी लिमिटेडले मलको कुनै पनि अभाव नभएको दाबी गदै आएको छ । सुदूरपश्चिममा डिएपी सात हजार ५० मेट्रिक टन, युरिया आठ हजार मेट्रिक टन र पोटास दुई सय ७५ मेट्रिक टन क्षमता रहेको कृषि सामग्री कम्पनी लिमिटेड धनगढीले जनाएको छ ।

लक्ष्य भन्दा केही बढी मल आए पनि ८० प्रतिशत किसानले डिएपी मल पाइसकेको कृषि सामग्री कम्पनी लिमिटेड धनगढीका प्रमुख नवलसिंह बोगटीको दाबी छ । उनले डिएपी छ हजार एक सय तीन, युरिया १० हजार चार सय ५५ मेट्रिक टन र पोटास दुई सय ४६ मेट्रिक आयात भएको उनले जानकारी दिए । बाँकी मल आउने क्रममा रहेको भन्दै उनले केही दिन भित्रै किसानले पर्याप्त मात्रामा मल पाउने दाबी गरे । किसानहरूले बर्सेनि खेतीपातीको मुख्य सिजनमा यस्तै समस्या झेल्दै आएका छन् ।

सुदूरपश्चिममा ५० प्रतिशत रोपाई
सुदूरपश्चिम प्रदेशभरी कुल खेतीयोग्य जमिनमध्ये ४९ दशमलब ६४ प्रतिशतमा रोपाई भइसकेको सुदूरपश्चिम प्रदेश भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जानकारी दिएको छ ।

सुदूरपश्चिम प्रदेशमा एक लाख ८१ हजार छ सय चार हेक्टरमा धान रोपाइ हुँदै आएकोमा प्रदेशमा शनिबारसम्म ९० हजार एक सय ५६ हेक्टरमा रोपाइ भइसकेको जनाइएको छ । मन्त्रालयका अनुसार सबैभन्दा बढी रोपाई अछाममा भएको छ भने सबैभन्दा कम डोटी जिल्लामा भएको जनाइएको छ ।

अछाममा १६ हजार पाँच सय ८० हेक्टरमा धान रोपाइ गरिदै आएकोमा नौ हजार नौ सय ४८ हेक्टरमा रोपाई भएको छ भने डोटीमा १० हजार आठ सय ९८ हेक्टरमा धान रोपाई हुँदै आएकोमा तीन हजार आठ सय १४ हेक्टरमा रोपाइ भएको जनाइएको छ ।

धानबालीको अन्न भण्डार मानिएको कैलालीमा अहिलेसम्म ४७ दशमलब ४९ प्रतिशत र कञ्चनपुरमा ५२ दशमलब ९७ प्रतिशतमा धान रोपाइ भएको जनाइएको छ । कैलालीमा ७१ ह्जार सात सय १५ हेक्टरमा धान रोपाइ हुँदै आएकोमा ३४ हजार ५७ हेक्टरमा रोपाइ भएको छ भने कञ्चनपुरमा ४८ हजार तीन सय ७५ हेक्टरमा धान खेती हुँदै आएकोमा २५ हजार छ सय २४ हेक्टरमा रोपाइ भएको छ मन्त्रालयले जनाएको छ ।

प्रदेशको डडेल्धुरा र दार्चुलामा पनि ५० प्रतिशतभन्दा कम रोपाई भएको जनाइएको छ । मन्त्रालयले दिएको तथ्यांक अनुसार डडेल्धुरामा छ हजार दुई सय २६ हेक्टरमा धान रोपाई हुँदै आएकोमा दुई हजार चार सय ९० हेक्टर र दार्चुलामा चार हजार चार सय ८० हेक्टरमा रोपाई हुँदै आएकोमा दुई हजार १६ हेक्टरमा रोपाई भएको जनाइएको छ ।

मन्त्रालयका अनुसार प्रदेशको बाजुरामा ५५, बझाङमा ५० र बतडीमा ५२ प्रतिशतमा रोपाइ भइसकेको छ । बाजुरामा सात हजार दुई २० हेक्टरमा धान रोपाई हुँदै आएकोमा तीन हजार नौ सय ७१ हेक्टरमा रोपाई भइसकेको छ । बझाङमा सात हजार एक सय १० हेक्टरमा धान रोपाई हुँदै आएकोमा तीन हजार पाँच सय ५५ हेक्टरमा रोपाई भइसकेको छ भने बैतडीमा नौ हजार हेक्टरमा धान रोपाई हुँदै आएकोमा चार हजार छ सय ८० हेक्टरमा रोपाई भइसकेको जनाइएको छ ।

यसपाली मनसुन चाँडो भित्रिएका कारण रोपाई पनि चाडो सुरु भएकोले धान उत्पादनमा वृद्धि हुने कृषि निर्देशनालयले जनाएको छ ।

धानखेतीलाई कुनै असर नपरेमा विगतका बर्षभन्दा यसपाली उत्पादन बढ्ने निर्देशक जोशीको भनाई छ । ‘अवश्य पनि यसपाली समयमै रोपाई सकिन्छ । यसले उत्पादन बढ्छ । तर, यसपछि के हुन्छ भन्न सकिदैन’ उनले भने– अघिल्लो बर्षभन्दा पहिले नै धेरै रोपाई भईसकेको छ । यो कृषि क्षेत्रका लागि सकारात्मक हो । यसले उत्पादनमा वृद्धि गराउन मदत मिल्छ ।

सिचाईं अभाव
सुदूरपश्चिम प्रदेशमा मल खाद, विउँसंगै कृषकहरुले सिचाइ अभाव पनि व्यहोर्नु परिरहेको छ । प्रदेशभरीका कुल खेतीयोग्य जमिनमध्ये ५५ प्रतिशतमा पनि सिचाई पुग्न नसकेको कृषि निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार कुल खेतीयोग्य जमिनमध्ये एक लाख ६९ हजार सात सय ८५ हेक्टरमा सिचाइ सुविधा पुगेको जनाइएको छ । निर्देशनालयका अनुसार एक लाख १३ हजार तीन सय दुई हेक्टर क्षेत्रफलमा वर्षभरी सिचाइ सुविधा रहेको छ भने ५६ हजार चार सय ८३ हेक्टरमा आंशिक सिचाई सुविधा रहेको जनाइएको छ ।

निर्देशनालयका निर्देशक यज्ञराज जोशीले प्रदेशमा अझै धान खेती व्यवसायीक वन्न नसकेको बताए । उनले भने –‘प्रदेशका कृषकहरु अहिले पनि परम्परागत शैलीमै धान खेती गर्दै आएका छन । यसलाई व्यवसायीक बनाउन मन्त्रालयले थप कार्यक्रम ल्याउन आवश्यक छ ।’ उनले वर्षा भएपछिमात्र किसानहरुले समयमै धान रोप्ने तर, रोपीसकेपछि वर्षा नभए उत्पादनमा ह्रास आउने गरेको जानकारी दिए ।

आज धान दिवस
हरेक वर्ष धुमधामका साथ मनाइदै आएको धान दिवस यस वर्ष भने फेरीएको छ । असार १५ का दिन हरेक वर्ष प्रदेशको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, मन्त्रालयमार्फत रहेको कृषि निर्देशनालय र स्थानीय तहले धान दिवसलाई भव्यताका साथ मनाउँदै आएका थिए । यस वर्ष भने कोरोना भाइरस ९कोभिड–१९०का कारण मन्त्रालयले पत्रकार सम्मेलन गरेर दिवस नमनाउने जानकारी दिएको छ ।

‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ भन्ने नाराका साथ १७ धान दिवस मनाउने तयारी रहेको थियो । मन्त्रालयका प्रवक्ता खगेन्द्र शर्माले कोरोना भाइरसका कारण यस वर्षको धान दिवसमा सञ्चारमाध्यममा प्रदेशको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको शुभकामना सन्देशमात्र प्रवाह गरिने बताए ।

मन्त्री विनिताद्वारा शुभकामना सन्देश
१७ औं धान दिवसको अवसरमा मन्त्री विनिता चौधरीले शुभकामना व्यक्त गरेकी छिन ।

मन्त्री चौधरीले धान उत्पादनलाइ प्रोत्साहन गर्न समयमै धानको समर्थन मूल्य तोकिएको र आवश्यकता अनुसार खरिद गरिने बताएकी छिन ।

 



सोमबार १५, असार २०७७ १२:४२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.