रुकुममा मारिएकाहरुलाई न्याय माग्दा सरकारी दमन, कांग्रेसले गर्‍यो विरोध

Yugnepal     1046 पटक पढिएको    

रुकुममा मारिएकाहरुलाई न्याय माग्दा सरकारी दमन, कांग्रेसले गर्‍यो विरोध

 

काठमाडौं। रुकुम पश्चिमको सोती नरसंहारमा नवराज विक लगायत ६ जनाको बर्बर र नृशंश तवरले भएको जघन्य हत्याको विरुद्धमा संयुक्त राजनीतिक दलित संघर्ष समिति, नेपाल दलित संघ लगायत विभिन्न १४ राजनीतिक दल निकट भ्रातृ संस्थाहरु र दलित नागरिक समाजको आयोजनामा भएको कार्यक्रममा प्रहरी हस्तक्षेपको नेपाली कांग्रेसले विरोध गरेको छ। 

महिनौं दिनको आन्दोलनको क्रममा प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने र एक घण्टे शान्तिपूर्ण धर्नामा बस्ने क्रममा प्रदर्शनकारीहरुलाई सुरक्षाकर्मीले लाठीचार्ज गर्नुका साथै धरपकड गरेको घटनाप्रति नेपाली कांग्रेसका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले विज्ञप्ती निकाली विरोध जनाएका छन्। 

सुरक्षाकर्मीले नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय जीवन परियार र लक्ष्मी परियार, राजकुमार हिङ्माङ्ग, टेकबहादुर विश्वकर्मा, रणबहादुर रम्तेल, सर्मिला वागचन्द, सुनिता मरिक, राम नेपाली, नानीमैयाँ पुरकुटी, सोभा विश्वकर्मा, संघर्ष दाहाल, हिक्मत महरा, लक्ष्मी थापा, धर्म विडुवाल र दुर्गा विश्वकर्मालाई गिरफ्तार गरेको छ ।

सुरक्षाकर्मीको लाठी प्रहारबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य लक्ष्मी परियार घाइते भएपछि उपचारका लागि अस्पताल लगिएको छ। घटनामा अन्य धेरै व्यक्तिहरु समेत घाइते भएको कांग्रेसले जनाएको छ।

शान्तिपूर्ण रुपमा ज्ञापन पत्र बुझाउन र धर्ना बस्न पाउने नागरिकको अधिकार माथि ठाडो हस्तक्षेप गर्दै वर्तमान सरकारले संविधानको भावना र मर्म विपरीतका क्रियाकलाप गर्न थालेको कांग्रेसको ठहर छ। कांग्रेसले आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै सबै घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ। 



बिहिबार ११, असार २०७७ १२:१० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal