नेपाल ट्रेड युनियन कांग्रेसद्धारा  प्रधानमन्त्रीलाई ज्ञापनपत्र

Yugnepal     993 पटक पढिएको    

नेपाल ट्रेड युनियन कांग्रेसद्धारा   प्रधानमन्त्रीलाई ज्ञापनपत्र


काठमाडौं। नेपाल ट्रेड युनियन कांग्रेसले १३१ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस दिन एकैसाथ देशैभरीबाट प्रधानमन्त्री केपि शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ।

ट्रेड युनियन कांग्रेस केन्द्रीय समिती, सात वटै प्रदेश समितीहरु २७ वटा आवद्ध संघहरु, ७७ जिल्ला समितीहरु र स्थानीय तहले समेत मे डे को दिन ११ बजे एकैचोटि इमेलमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका हुन् ।

अध्यक्ष पुष्कर आचार्यद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा लकडाउनका कारण दैनिक ज्यालादारी लगायत औपचारिक क्षेत्रका श्रमिकहरु समेत समस्यामा परिसकेकोले सरकार राजनीतिक गुटबन्दीमा नलागी समस्या समाधानमा लाग्न भनिएको छ।

यसैगरी कोरोनाको उपचारमा खटेका स्वास्थ्यकर्मी, अत्यावश्यक सेवामा कार्यरत श्रमिक, सुरक्षाकर्मी र सफाई मजदुरको स्वास्थ्य सुरक्षामा उचित ध्यान दिनु पर्ने, पिपिईको व्यवस्था गर्नु पर्ने, व्यवसायजन्य स्वास्थ्य र सुरक्षा अपनाउनु पर्ने, रोजगारी गुम्ने अवस्थालाई ध्यान दिई नीतिगत उपाय अबलम्बन गर्नुपर्ने, निश्चित अवधीकालागी उद्योगको कर्जाको पुनर्तालिका,व्याज र करमा सहुलियत,रोजगारी सृजना हुने साना मझौला उद्योगमा लगानी र विस्तार गर्नुपर्ने, श्रमिक तथा स्वरोजगारहरुलाई आयकर लगायत कर्जाको व्याजमा सहुलियत व्यवस्था गर्नुपर्ने, श्रमिकलाई स्थानीय निकायमा पञ्जिकरण गरि रासन कार्डको व्यवस्था गर्नुपर्ने त्यही कार्डको आधारमा राहत दिनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ।

यसैगरी बेरोजगार श्रमिकलाई न्युनतम ज्याला सरह बेरोजगार भत्ता दिनुपर्ने, अनौपचारिक र स्वरोजगार श्रमिकलाई सामाजिक सुरक्षाको दायराभित्र ल्याउनुपर्ने, नीति निर्माण तहमा श्रमिकको प्रतिनिधित्व गराउनुपर्ने, कोभिड १९ को नियन्त्रणकालागि श्रम मन्त्रालय, रोजगारदाता र ट्रेड युनियनको त्रिपक्षीय समिति गठन हुनुपर्ने, सिपमुलक तालिमको व्यवस्था गर्नुपर्ने, कृषि लगायत विभिन्न क्षेत्रमा रोजगारी सृजना गराउनुपर्ने, वैदेशिक रोजगारीमा समस्यामा रहेकालाई तत्काल उद्धार गर्नुपर्ने, रोजगारी कटौती हुनेहरुको रोजगारी निरन्तरताको पहल गर्नुपर्ने र स्वास्थ्य सुरक्षाको विषेश ध्यान दिनु पर्ने माग ट्रेड युनियन कांग्रेसले राखेको छ।

युनियनले यसपाली मे डे कोभिड १९ बिरामीहरुको शिघ्र स्वास्थ्यलाभको कामना र मृत्यु हुनेहरुलाई श्रद्धाञ्जली दिन देशैभर साँझ ७ बजे दिप प्रज्वलन गरि मनाउँदै छ।



शुक्रबार १९, बैशाख २०७७ १२:३४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.