काठमाडौं, १० माघ । प्रतिनिधिसभाको सभामुखका एक्ला उम्मेदवार नेकपाका नेता अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता दिनेश त्रिपाठीले व्यक्ति हत्यामा मुछिएका सापकोटालाई सभामुखमा निर्वाचित नगर्न मागसहित सर्वोच्चमा रिट दायर गरेका हुन् ।
सर्वोच्चका सञ्चार विज्ञ किशोर पौडेलका अनुसार सापकोटालाई सभामुख पदमा निर्वाचित गर्नबाट रोक्नुका साथै सभामुखको हाल भएको निर्वाचन प्रक्रिया समेत रोक्न रिटमा माग गरिएको छ ।
उक्त रिटमा सापकोटालाई पक्राउ गरेर अनुसन्धान गर्न र उनलाई पक्राउ नगर्ने प्रहरी अधिकारीलाई समेत कारबाही गर्न माग गरिएको छ ।
तत्कालीन माओवादी युद्धका बेला २०६२ वैशाख १६ गते काभ्रेको छत्रबाँझस्थित कृष्ण माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन लामालाई अपहरण गरेर हत्या गरेको आरोप सापकोटामाथि छ । यससम्बन्धी अर्को मुद्दा पनि सर्वोच्च अदालतमा विचाराधीन छ ।
नेता सापकोटाकाले ७ माघमा सभामुखमा उम्मेदवारी दिएका थिए । आइतबार बस्ने प्रतिनिधि सभा बैठकले उनलाई सभामुखमा निर्वाचित भएको घोषणा गर्ने कार्यसूची छ ।
प्रतिकृया दिनुहोस