बन कार्यालय हटाउँदै, अतिक्रमण दोहोरिँदै

Yugnepal     1212 पटक पढिएको    

बन कार्यालय हटाउँदै, अतिक्रमण दोहोरिँदै

धनगढी  कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ३ का काले भुललाई सबडिभिजन वन कार्यालय, अत्तरियाले पक्राउ गर्यो । त्यससंगै कालेले सामुदायिक वनमा निर्माण गरेको टहरा भत्काइयो । तर, उनले सोही ठाउँमा पुनः झुपडी मात्रै बनाएनन्, जंगल फाडेर खेतबारी समेत बनाए ।
पाँच दिनअघि सुरक्षा महिला सामुदायिक वनमा टहरा निर्माण गरेका सोही क्षेत्रका चन्द्र भुललाई सबडिभिजन वन कार्यालय अत्तरियाले पक्राउ गरि कारबाही प्रक्रिया अघि बढाएको छ । उनी अहिले प्रहरीको नियन्त्रणमा रहेका छन् ।
गोदावरी नगरपालिका गाइमारा क्षेत्रमा निर्माण गरिएका छ वटा टहरा सब डिभिजन वन कार्यालय अत्तरियाको टोलीले भत्कायो । तर, अहिले सो क्षेत्रमा धर्मराज भट्टले टहरा निर्माण गरि व्यवसाय सञ्चालन गरिरहेका छन् ।
कैलालीको गोदावरी नगरपालिकाका विभिन्न स्थानमा बन तथा ऐलानीपर्ति जमिन अतिक्रमण गरेर घरटहरा बनाउने, बन कार्यालयले हटाउने र फेरि अतिक्रमण हुने क्रम जारी रहेको छ । डिभिजन तथा सबडिभिजन वन कार्यालयहरूले जिल्लाका विभिन्न स्थानमा वन अतिक्रमण हटाउने कार्य जारी राखे पनि अतिक्रमणकारीहरू हावी भइरहेका छन् ।
सबडिभिजन वन कार्यालय अत्तरियाका प्रमुख रामनारायण यादवले भने– गोदावरीको गाइमारा क्षेत्रमा भएको अतिक्रमण हटाउन खोज्दा राजनीतिक दबाब बढ्यो ।
सबडिभिजन वन कार्यालय अत्तरियाले केही दिनअघि “एक हप्ताभित्र वन क्षेत्र अतिक्रमण छोड्न” सूचना जारी गरेको थियो । कार्यालयले अतिक्रमण हटाउन सूचना जारी गरे पनि हुस्सु तथा शितलहरका कारण अभियानलाई जारी गर्न नसकिएको जनाइएको छ ।
सबडिभिजन वन कार्यालय प्रमुख यादवले भने– शितलहर र हुस्सु बढेकोले हामीले व्यवहारिक रुपमा अतिक्रमण हटाउने अभियानलाई रोकेका छौं । यो हुस्सु र शितलहर कम भएपछि फेरि अतिक्रमण नियन्त्रण अभियानलाई निरन्तरता दिन्छौं ।
उनले गोदावरी क्षेत्रमा नयाँ तथा पुराना अतिक्रमण हटाउन स्थानीय तहको जनप्रतिनिधी, राजनीतिक दल, सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय लगायतको साथ र सहयोग आवश्यक रहेको बताए ।
मलाई मात्र हटाउने प्रयास भयो– भुल
२०६२ सालदेखि गोदावरी नगरपालिका वडा नम्बर ३ को चौकीडाँडा सामुदायिक वन क्षेत्रमा काले भुलले वन अतिक्रमण गरेर घर तथा खेतबारी बनाएका छन् । उनीसंगै बाढी पीडित परिवारले सो वनभित्र तीन घर निर्माण गरेका छन् । कालेले खेतबारी विस्तार गरेसंगै ती बाढी पीडितले पनि झुपडी घर निर्माण गर्दै आफनो जग्गा क्षेत्र विस्तार गरिरहेका छन् । अहिले सो वनभित्र मोहन सुनार, शम्भु सुनार र राम सार्की बसेका छन् ।
दुई पटक बन मुद्दा खेपेका कालेलाई अहिले घर हटाउन सबडिभिजन वन कार्यालय अत्तरियाले सूचना जारी गरिसकेको छ । सूचना जारी भएपछि कालेले सञ्चारकर्मीसंग भने– मलाई मात्र हटाउने प्रयास गरियो, अरुलाई हटाइएको छैन । उनले त्यहाँ निर्माण गरिएको पक्की भवन देखाउँदै भने– बनभित्रै सटरसहितका भवनहरू निर्माण भइरहेका छन् ।
चौकीडाँडा सामुदायिक वन क्षेत्रमा करिब १७ कट्ठा सोही क्षेत्रमा निर्माण भएको शिवमन्दीरको नाममा रहेको छ । अन्य क्षेत्रमा भने मन्दीरकै नाममा पक्की भौतिक संरचना निर्माण गरि बस्ती विस्तार भएको छ ।
२०६२ सालअघि साविकको मालाखेती गाविस ओलानीमा बस्दै आएका काले बसाईसराई गरि सो क्षेत्रमा आएका थिए । शुरुमा शिवमन्दिरकै जग्गामा टहरा निर्माण गरेर बसेका उनी पछि चौकीडाँडा सामुदायिक वनमा बसेका हुन् । तत्कालिन सामुदायिक वनका अध्यक्ष मोहन खत्रीको पहलमा भुललाई सो वन क्षेत्रमा राखिएको बताइन्छ ।
गोदावरी नगरपालिका वडा नम्बर ३ का वडाध्यक्षसंग उनले विद्युत लाईन विस्तारको माग गर्दा यो विवाद उजागर भएको हो । कालेले भने– वडाध्यक्षसंग विद्युत लाईन उपलब्ध गराइदिन सिफारिस माग गर्न जाँदा पैसा माग गरियो । मसंग नभएकाले अहिलेसम्म अन्धकारमा बस्न बाध्य छु । अनुमोदन खबर बाट



शुक्रबार ११, पुष २०७६ ०४:५६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.