धनगढी– धनगढीमा मंसिर २२ गतेदेखि जारी सुदूरपश्चिम महोत्सव आइतबार सकिएको छ। महोत्सव अवधिभर ५ लाख दर्शकहरूले अवलोकन गरेको आयोजकको दाबी छ।
महोत्सव भित्र राखिएका ३ सय स्टलहरूमा १२ करोडको कारोबार भएको कैलाली उद्योग वाणिज्य सङ्घका महासचिव ओम बिष्टले जानकारी दिए। उनका अनुसार टिकटबाट मात्रै ८० लाख रकम सङ्कलन भएको छ।
गत मङ्सिर २२ गतेबाट सुरु भएको महोत्सवको आइतबार धनगढी उपमहानगरपालिका मेयर नृप वडले एक कार्यक्रमका बीच समापन गरे। महोत्सवको समापन गर्दै धनगढी उपमहानगरपालीमा मेयर वडले सुदूरपश्चिम महोत्सवले प्रदेशको आर्थिक विकास,पर्यटन प्रवर्द्धनलाई टेवासँगै एकतामा बलियो बनाएको बताए। उनले धनगढीमा बृहत प्रर्दशनी स्ल निर्माणका लागि पहल गर्ने आश्वासन दिए।
महोत्सवले स्थानीय कला,संस्कृतिको सम्वद्धन र पर्यटन प्रवद्धनमा टेवा पुर्याएको आयोजकको जनाएको छ। महोत्सव १५ दिन चलेको थियो।
एक दिन वर्षाले महोत्सव प्रभावित पारेपछि र दर्शकहरूको अत्याधिक चापका कारण महोत्सव अवधि ४ दिन थपिएको थियो। दर्शकहरूले पनि महोत्सवको माध्यमबाट स्थानीय कला संस्कृतिको प्रवर्द्धन भएको प्रतिक्रिया दिएका छन्। महोत्सव अवलोकनका लागि सुदूरपश्चिमका नौ वटै जिल्लासँगै केही भारतीय दर्शकहरू समेत धनगढी पुगेका थिए।
धनगढीमा राम्रो प्रर्दशनीस्थल नभएका कारण अबका दिनमा मेला महोतसव गर्न समस्या देखिएको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले बताए। यद्यपि यसपटक भने महोत्सव सोचेभन्दा सफल भएको उनको भनाइ छ।
महोत्सवमा ३ सयभन्दा बढी स्टल,कृर्षि प्रदर्शनी र विभिन्न रमाइलो मेलाको व्यवस्था थियो। महोत्सवमा स्थानीय कला, संस्कृति तथा खानाका परिकारहरूका साथै स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको थियो।
‘समृद्ध सुदूरपश्चिमका लागि आर्थिक समृद्धि’ भन्ने मूल नाराका साथ कैलाली उद्योग वाणिज्य संघले २०६३ सालदेखि हरेक वर्ष महोत्सव आयोजना गर्दै आइरहेको छ।
प्रतिकृया दिनुहोस