धनगढीमा मेडिकल सञ्‍चालकविरुद्ध उजुरी, सञ्‍चालक फरार

Yugnepal     1115 पटक पढिएको    

धनगढीमा मेडिकल सञ्‍चालकविरुद्ध उजुरी, सञ्‍चालक फरार

 

धनगढीस्थित अमित मेडिकल सञ्‍चालकविरुद्ध उजुरी परेपछि  सञ्‍चालक फरार भएका छन्।  कर चुक्ताको प्रमाणपत्र किर्ते गरेको आशंकामा छानबिनका लागि आन्तरिक राजस्व कार्यालय कैलालीले प्रहरीमा उजुरी दिएपछि सञ्चालकद्वय दुस्यान्त बस्नेत र प्रदिप अग्रवाल फरार भएका हुन।

प्रहरीले भने ढिला गरी मात्रै अदालतबाट पक्राउका लागि अनुमति मागेको छ । शुक्रबार आन्तरिक राजस्व कार्यालयको पत्र प्राप्त गरेको प्रहरीले सोमबार मात्रै अदालतलाई पक्राउका लागि अनुमति मागेको थियो ।

विज्ञापन

गेटा आँखा अस्पतालको गत आर्थिक वर्षको औषधि खरीदको टेण्डर हत्याउनका लागि अमित मेडिसिनले कर चुक्ताको प्रमाणपत्र किर्ते गरेको भेटिएको थियो। अमित मेडिसिनले २०७४ साल माघ १० गते आन्तरिक राजश्व कार्यालयबाट जारी भएको कर चुक्ताको प्रमाणपत्र आँखा अस्पतालको टेण्डरमा पेश गरेको थियो।

सो प्रमाणपत्रमा कर अधिकृत रामबोली साम्बाहाम्फले हस्ताक्षर रहेको छ । तर उनको २०७४ असोजमै धनगढीबाट सरुवा भइसकेकोले अमित मेडिसिनले कर चुक्ताको प्रमाणपत्र किर्ते गरेको प्रष्ट भएको छ। सरुवा भएका कर अधिकृतको हस्ताक्षर स्क्यानिङ गरी मेडिसिनले कर चुक्ताको प्रमाणपत्र बनाएको भेटिएको हो।

अमित मेडिसिनले कर चुक्ता प्रमाणपत्र किर्ते गरेको उजुरी परेपछि आन्तरिक राजश्व कार्यालय कैलालीले गेटा आखा अस्पतालबाट कागजपत्रहरु नियन्त्रणमा लिएको थियो । अमित मेडिसिनद्वारा कर चुक्ता प्रमाण पत्र किर्ते गरिएको पुष्टि भएको छ ।

आन्तरिक राजश्व कार्यालयले अमित मेडिसिनले २०७६ असार १६ गते लिएको कर चुक्ताको प्रमाण पत्र पनि किर्ते भएको आशंकामा थप छानवीन गरिरहेको छ ।

अमित मेडिसिनकै व्यवस्थापनमा सञ्चालन भइ ठूलो कारोबार गरिरहेका ड्रग सेन्टर धनगढी र डि।बी। मेडिसिनले पनि विभिन्न कागजपत्र किर्ते गरेको उजुरी परेकोले ती प्रमाणमा पनि औषधी व्यवस्था विभागको निर्देशन अनुसार नेपालगञ्ज कार्यालयले छानवीन अगाडि बढाएको स्रोतले जानकारी दिए।
प्रहरी प्रक्रियामा नै सञ्‍चालक फरार

तर कर चुक्ताको प्रमाण पत्र किर्ते गरेको आशंकामा आन्तरिक राजस्व कार्यालय कैलालीले शुक्रबार नै प्रहरीलाई छानविनका लागि पत्राचार गरेको थियो । प्रहरीले तत्कालै कुनै प्रतिक्रिया नै नजनाएको र सोमबार मात्रै पक्राउ गर्नका लागि अदालतको स्वीकृति मागेको बताइएको छ। प्रहरी प्रक्रियामा रहेकै वेला अमित मेडिसियनका दुवै सञ्चालक फरार भएका छन् ।

जिल्ला अदालत कैलालीबाट बस्नेत सहित अर्का सञ्चालक प्रदिप अग्रवाललाई पक्राउ गर्न अनुमति प्राप्त भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। टेण्डर हत्याउन अमित मेडिसिन डिस्ट्रीब्युटर्सले कर चुक्ता प्रमाणपत्र किर्ते गरेको उजुरी परेपछि आन्तरिक राजश्व कार्यालय कैलालीले छानविन सुरु गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक सुदिप गिरिले आन्तरिक राजस्व कार्यालयबाट अमित मेडिसिय डिस्टिब्यूटर्स माथी छानविन गर्न भन्दै प्रत्राचार पठाएको बताउँदै मेडिसियनका सञ्चालन पक्ता लगाउन आइतबार समय लागेको बताए ।

सोमबार अदालतको पक्राउ अनुमति पत्र प्राप्त भएसँगै सबै क्षेत्रमा अमित मेडिसियनका सञ्चालकलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको उनले बताए ।

उनले बाहिर हल्ला भए आरोपित हरु फरार हुन सक्ने आशंकाले भित्री रुपमा विस्तृत अनुसन्धान गरेर मात्रै पक्राउ गर्ने गरी प्रहरीले छानविन गरेको बताए ।

 



मङ्गलबार १७, मङि्सर २०७६ ०९:५९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.