धनगढी उप–महानगरपालिका ७ ले वडामा बसोवास गर्ने जेष्ठ नागरिकहरुलाई शुक्रवार न्यानो कपडा वितरण गरेको छ ।
न्यानो कपडा अन्तरगत २ सय ८१ जनालाई कम्वल वितरण गरिएको हो । धनगढी उप–महानगरपालिकाका कार्यवाहक नगरप्रमुख हिरा सिंह पातली र वडा नं ७ का अध्यक्ष सिताराम रानाले कम्वल हस्तान्तरण गरेका हुन ।
७० बर्ष पुगेका जेष्ठ नागरिकहरुलाई जाडोबाट बचाउन वडाले राम्रो काम गरेको छ कार्यवाहक नगरप्रमुख पातलीले भने, थोरै भएपनि जेष्ठ नागरिकहरुलाई यसले राहत पुग्ने छ । वडा अध्यक्ष सिताराम रानाले जेष्ठ नागरिकलाई न्यानो लुगा वितरण गर्नका लागि वडाको बजेटबाट २ लाख रुपियाँ बिनियोजन गरेको बताए । उनले भने, गत बर्ष पनि जाडोमा सबै जेष्ठ नागरिकलाई न्यानो लुगा वितरण गरेका थियौं ।
वडा नं ७ का सचिव मेखराज भट्टले वडामा रहेका ७० बर्ष भन्दा माथीको उमेर समुहका सबै जेष्ठ नागरिकलाई कम्वल वितरण गरिएको बताए । उनले भने, रकम अपुग भएपछि १० हजार रुपियाँ वडा अध्यक्षले समेत थप गरेको थियो ।
प्रतिकृया दिनुहोस