पूर्वएमाले र माओवादीबीच भागबण्डा नमिलेका कारण प्रदेश प्रमुख नियुक्तिमा ढीलाई

Yugnepal     734 पटक पढिएको    

पूर्वएमाले र माओवादीबीच भागबण्डा नमिलेका कारण प्रदेश प्रमुख नियुक्तिमा ढीलाई


समाजवादीको पनि दावी, सरकारले निम्त्यायो संबैधानिक जटिलता

काठमाडौं। भागबण्डा नमिलेका कारण सरकारले आइतबार प्रदेश प्रमुख नियुक्ति गर्न सकेन । नेकपाभित्रको पूर्वएमाले र पूर्वमाओवादीबीच भागबण्डा नमिलेका कारण प्रदेश प्रमुख नियुक्ति सिफारिस आइतबार हुन नसकेको स्रोतले बताएको छ ।

आइतवार नै बसेको नेकपाको सचिवालय वैठकले प्रदेश प्रमुखको नाम टुंगो लगाई सरकारलाई नाम सिफारिस गर्ने भनिएपनि सहमति जुट्न सकेन। वैैैैठकमा उपनिर्वाचनका केहि उमेद्वारको नाम मात्र टुंगिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

आइतबार बिहानको मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख हटाइसकेपछि प्रधानमन्त्री केपी ओलीले साँझ ६।३० मा पुनः अर्को बैठक राखेका थिए । तर सहमति हुन नसकेपछि नियुक्ति सिफारिस गर्न सकेन ।

नेकपाका पुराना नेताहरु अमृत बोहरा, केशव बडाल, खेमराज भट्ट, तिलक परियार, अमिक शेरचन, धर्मनाथ यादव, महेन्द्र पाण्डे, सोमनाथ अधिकारी प्यासी, शर्मिला त्रिपाठी लगायतका नाम प्रदेश प्रमुखका लागि लिइएको छ। अमिक शेरचनले प्रदेश प्रमुखका लागि इच्छा देखाएका छैनन् । उनी सक्रिय राजनीति नै गर्ने भन्दै आएका छन् ।

नेकपाले प्रदेश प्रमुख पदको अवमूल्यन गर्दै बुढा नेता थान्को लगाउने ठाउँ जस्तै बनाउन लागेको छ । प्रदेश प्रमुखमा सत्तारुढ दल समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि भाग खोजिरहेका छन्। विगतमा यादवको पार्टी तत्कालीन संघीय समाजवादी फोरमका रत्नेश्वरलाल कायस्थ २ नम्बर प्रदेश प्रमुख थिए भने राजपाबाट उमाकान्त झा ५ नम्बरका प्रमुख थिए । पाँचवटा प्रदेशमा नेपाली कांग्रेसनिकट गोविन्द सुब्बा, अनुराधा कोइराला, बाबुराम कुँवर, दुर्गाकेशर खनाल र मोहनराज मल्ल प्रमुख नियुक्त भएका थिए ।

संविधानअनुसार प्रदेश प्रमुख रिक्त राख्न मिल्दैन । कुनै प्रदेश प्रमुख रिक्त भएमा राष्ट्रपतिले उक्त प्रदेश प्रमुखको जिम्मेवारी अर्को प्रदेश प्रमुखलाई दिन सक्छ । सबै प्रदेश प्रमुखलाई पदमुक्त गरिएकाले कसैलाई जिम्मेवारी दिने अवस्था पनि छैन ।

प्रदेश प्रमुख रिक्त राखी सरकारले संवैधानिक जटिलता सृजना गरेको उल्लेख गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले सहकार्यको बाटो बन्द गर्दै मुठभेडको स्थिति बनाउन खोजेको बताए। हाम्राकुरा बाट



सोमबार १८, कार्तिक २०७६ ११:२५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal