व्यापार घाटा घट्दो, निर्यात बढ्दो शिर्षकमा आजको कान्तिपुर दैनिकले यो समाचार छापेको छ ।
– आयात घट्दा राजस्व संकलन लक्ष्यको तुलनामा २२ प्रतिशत कम
– भारतबाट आयात घट्योरनिर्यात बढ्यो, चीनबाट आयात बढ्यो निर्यात घट्यो
आयात घट्दा राजस्व संकलन कम भयो भनेर चिन्ता गर्ने होइन, राजस्व चुहावट र अनौपचारिक अर्थतन्त्र नियन्त्रणतर्फ सरकार लाग्नुपर्छ– शान्तराज सुवेदी, पूर्वअर्थ सचिव
कार्तिक १६, २०७६ कृष्ण आचार्य
काठमाडौँ — यस आर्थिक वर्षका तीन महिनामा व्यापार घाटा निरन्तर घटेको छ । अघिल्लो वर्षको तुलनामा आयात कम र निर्यात बढी भएकाले व्यापार घाटा घटेको हो । भन्सार विभागले प्रकाशन गरेको तीनमहिने व्यापार तथ्यांकअनुसार गत वर्षको तुलनामा आयात १०।३४ प्रतिशतले घटेको छ भने निर्यात १४।४१ प्रतिशतले बढेको छ ।
व्यापार घाटा १२।०२ प्रतिशतले कम भएको छ । भारतसँग आयात घटेको र निर्यात बढेको छ । चीनसँग भने आयात बढेको र निर्यात घटेको छ ।
गत वर्ष उच्च आयात, निराशाजनक निर्यात र बढ्दो व्यापार घाटा व्यहोरिरहेको सन्दर्भमा तीन महिनाको तथ्यांकले व्यापारमा केही सकारात्मक संकेत देखाएको हो । तर, कम आयातले अर्थतन्त्रका केही क्षेत्रमा असर परेको छ । राजस्व संकलन लक्ष्यको तुलनामा करिब २२ प्रतिशत कम भएको छ ।
अर्थ मन्त्रालयका अनुसार तीन महिनामा २ खर्ब रुपैयाँ मात्रै राजस्व संकलन भएको छ । ‘भन्सार राजस्व संकलन गत वर्षको तुलनामा ऋणात्मक छ,’ अर्थका एक अधिकारीले भने । गत वर्ष सुरुका तीन महिनामा भन्सारबाट ९९ अर्ब ९२ करोड ३५ लाख ७३ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । यस वर्ष तीन महिनामा ८९ अर्ब ९३ करोड १२ लाख १६ हजार रुपैयाँ मात्रै संकलन भएको छ, जुन १० प्रतिशतले कमी हो । ‘गत वर्षको तुलनामा समग्र राजस्वको वृद्धिदर मुस्किलले ३ प्रतिशत हाराहारी छ,’ अर्थका ती अधिकारीले भने । यही अनुपातमा राजस्व संकलन भइरहे सरकारलाई चालु खर्च धान्न मुस्किल पर्ने अनुमान गर्न थालिएको छ ।
‘आयात मात्रै घटेको हैन, निर्यात पनि बढिरहेको छ । यो अर्थतन्त्रका लागि सकारात्मक सन्देश हो,’ पूर्वअर्थ सचिव शान्तराज सुवेदीले भने, ‘आयात निरुत्साहन गर्ने नीति सरकारले ल्याएको समयमा अनौपचारिक अर्थतन्त्र थप मौलाउन सक्छ । त्यसकारण आयात घट्दा राजस्व संकलन कम भयो भनेर चिन्ता गर्ने हैन, राजस्व चुहावट र अनौपचारिक अर्थतन्त्र नियन्त्रणतर्फ सरकार लाग्नुपर्छ ।’
सुवेदीले आयात र निर्यातको अहिलेको अवस्थालाई दिगो बनाउनुपर्ने बताए । भन्सारमा आधारित अर्थतन्त्रलाई उद्योगमा आधारित बनाउने दिशातर्फ केन्द्रित हुँदा राजस्व संकलनमा संक्रमणकालीन अवस्था सिर्जना भएको सुवेदीको विश्लेषण छ । ‘हाम्रो समग्र उपभोग घटेको छैन । उपभोग नघटेकाले आन्तरिक राजस्व बढ्नुपर्ने थियो । बढेन,’ उनले भने, ‘त्यसको पछाडि चुहावट छ । त्यसलाई हेर्नुपर्छ ।’
गत वर्ष तीन महिनामा अघिल्लो वर्षको तुलनामा आयात ४४ प्रतिशतले बढेको थियो । निर्यात १६ प्रतिशत मात्रै थियो । जसले गर्दा व्यापार घाटा ४६ प्रतिशत पुगेको थियो । आयात वृद्धि अचाक्ली र निर्यात वृद्धि सुस्त भएकाले व्यापार घाटा, भुक्तानी सन्तुलन, शोधनान्तर घाटा, चालु खाता घाटा उच्च भयो ।
नयाँ सरकार गठनलगत्तै अर्थतन्त्रमा महत्त्वपूर्ण मानिने ती सूचक नकारात्मक भएपछि सरकार र त्यसमा पनि अर्थमन्त्री युवराज खतिवडा निकै आलोचित भए । सरकारले आयात निरुत्साहन गर्ने सम्भावित सामग्रीको पहिचान, निर्यात प्रवर्द्धन र व्यापार घाटा कम गर्ने उपाय खोज्न अध्ययन समिति बनाएको थियो । राजस्व सचिव लालशंकर घिमिरेको संयोजकत्वमा गठित समितिले १ महिना लगाई आयात रोक लगाउने सामग्रीको सूची सिफारिस गरेको थियो । त्यस आधारमा मन्त्रिपरिषद्ले क्याफिनयुक्त शक्तिबर्द्धक पेय पदार्थ, प्लास्टिकलगायत सामग्री आयातमा बन्देज लगाएको छ । अन्य केही सामग्री अत्यधिक आयात नहोस् भनेर भन्सार महसुल बढाइएको छ । सिमेन्ट तथा अन्य केही उत्पादनमूलक उद्योग आत्मनिर्भरको बाटोमा रहेकाले आयातितलाई निरुत्साहन गर्न भन्सार महसुल दर उच्च बनाइएको छ । यस पटकबाट पुस्तक आयातमा समेत १५ प्रतिशत भन्सार लगाइएको छ ।
सरकारले मासुका निम्ति खसीबोका तथा राँगालगायत पशुपक्षी आयातमा क्वारेन्टाइन ऐन लगाई गुणस्तरमा कडाइ गरेको छ । यो व्यवस्थाले सम्बन्धित मुलुकबाट पशु चौपाया आयात गर्दा निर्यातयोग्य, रोगमुक्त र रोगको खोप लगाएको प्रमाणित कागजपत्र चाहिन्छ । यो व्यवस्थाका कारण भदौसम्म एउटा पनि खसीबोका आयात भएको थिएन । दसैंका लागि करिब १० हजार खसीबोका मात्रै आयात भए ।
‘सरकारले नीतिगत हस्तक्षेपबाट आयात निरुत्साहन गर्न खोजेको देखिन्छ । खासगरी विलासिताका र कृषिजन्य सामग्री आयातमा निरुत्साहन गरेको छ,’ पूर्वसचिव सुवेदीले भने, ‘निर्यात प्रवर्द्धनका लागि अनुदान बढाएको छ । बढी अनुदानका कारण लागतका हिसाबले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सजिलो भएर निर्यात बढेको हो ।’
दिगो हुनेमा शंका
लगातार तीन महिना आयात कम र निर्यात वृद्धि भइरहे पनि यसलाई दिगो बनाउने चुनौती उत्तिकै छ । उद्योग खुल्ने, विकास निर्माणका कामले तीव्रता लिने र निर्यातजन्य सामग्रीमा सामान्य गिरावट आउनेबित्तिकै व्यापार घाटाले पहिलेकै रूप लिने सम्भावना छ । ‘अहिले आयात कम हुनुको अर्थ विकास निर्माणका काम र उद्योग विस्तार धेरै भइरहेको छैन भन्ने पनि हो,’ सुवेदीले भने, ‘यस पटक पनि मंसिरपछि नै विकास निर्माणका काम हुने सम्भावना देखिन्छ ।’ विकास निर्माणका काम र नयाँ उद्योग खुल्ने क्रममा तीव्रता आउँदा मेसिनरी तथा अन्य कच्चापदार्थ आयात गर्नुपर्ने भएकाले फेरि व्यापाधर घाटा बढ्न सक्ने सुवेदीले बताए ।
‘तर उद्योगधन्दा विस्तार र विकास निर्माण गर्न आयात हुने सामग्रीले मुलुकको अर्थतन्त्रलाई असर गर्दैन । पुँजी निर्माण हुने हो,’ उनले भने, ‘व्यापार घाटा कम गर्नचाहिँ पेट्रोलियम पदार्थको आयात घटाउनुपर्छ । वैकल्पिक ऊर्जा प्रयोगलाई बढावा दिनुपर्छ । निर्यात बढाउने नीतिगत हस्तक्षेप कायम राखिरहनुपर्छ । मुलुकलाई औद्योगिकीकरणतर्फ लैजानुपर्यो ।’ नभए केही समय उत्साहित हुने र आयातमुखी अर्थतन्त्र कायमै रहने उनले बताए ।
नेपालका लागि प्रमुख दुई व्यापारिक मुलुक भारत र चीनतर्फको व्यापारमा यस पटक फरक तथ्यांक देखिएको छ । भारतबाट आयात कम हुँदै गएको देखिन्छ भने चीनबाट बढ्न थालेको छ । गत वर्ष अघिल्ला तीन महिनामा भारतबाट २ खर्ब ३६ अर्ब १२ करोड ३४ लाख १९ हजार रुपैयाँका सामग्री आयात भएका थिए । यस वर्ष भने घटेर २ खर्ब ७ अर्ब ४१ करोड २२ लाख ३५ हजार रुपैयाँका सामग्री मात्रै आयात गरिएका छन् ।
चीनबाट गत वर्ष ५३ अर्ब ११ करोड ५६ लाख ८५ हजार रुपैयाँको आयात भएकामा यस वर्षको तीन महिनामा ५९ अर्ब २६ करोड ८१ लाख ५५ हजार रुपैयाँका सामग्री भित्र्याइएका छन् । चीनतर्फको निर्यात भने घटेको छ । गत वर्ष ५६ करोड ४० लाख ९७ हजार रुपैयाँका नेपाली सामग्री निर्यात भएकामा यस पटक ४५ करोड १८ लाख ६४ हजारको मात्रै निर्यात भएको तथ्यांक छ । भारततर्फ भने निर्यात बढेको छ । गत वर्ष १३ अर्ब १६ करोड ४२ लाख १४ हजारका सामान निर्यात भएकामा यस वर्ष तीन महिनामा १७ अर्ब ८७ करोड ८ लाख ८१ हजार रुपैयाँका सामान निर्यात गरिएका छन्। कान्तिपुर दैनिक बाट साभार समाचार
प्रतिकृया दिनुहोस