सुदूरपश्चिम महोत्सवको पार्किङ शुल्कमा दैनिक लाखौं रुपैयाँ लुट

२० रुपैयाँको टिकट दिएर सवारी धनीबाट ३० रुपैयाँ असुल गरिरहेको छ ।

Yugnepal     727 पटक पढिएको    

 

    धनगढी माघ २३


सुदूरपश्चिम महोत्सवको पार्किङ शुल्कमा दैनिक लाखौं रुपैयाँ भ्रष्टाचार भइरहेको तथ्य सार्वजनिक भएको छ । महोत्सव आयोजक संस्था कैलाली उद्योग वाणिज्य संघले पार्किङ शुल्क उठाउन जिम्मा दिएको कम्पनीले २० रुपैयाँको टिकट दिएर सवारी धनीबाट ३० रुपैयाँ असुल गरिरहेको छ ।

महोत्सव हेर्न आएका व्यक्तिको सवारी साधन पार्किङ गर्न उद्योग वाणिज्य संघले सरकारी जग्गा भाडामा लिएको छ । सो ठाउँमा पार्किङ व्यवस्थापन र सवारी साधनको सुरक्षाका लागि संघले ठेक्का दिएको हो । संघले कम्पनीलाई साइकलको १०, मोटरसाइकलको २० र कार तथा जीपको ५० रुपैयाँ पार्किङ शुल्क उठाउन ठेक्का दिएको उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले बताए ।

शुल्कबाट उठेको रकममा ५५ प्रतिशत कम्पनीले र ४५ प्रतिशत उद्योग वाणिज्य संघले पाउने सम्झौता भएको छ । २० रुपैयाँको टिकटमा ३० रुपैयाँ उठाएर कम्पनीले कुल रकममा ५० प्रतिशत भ्रष्टाचार गरेको हो । पार्किङ शुल्क उठाउने जिम्मा पाएको कम्पनीले बदमासी गर्दा सवारी धनी र संघ दुवै ठगिएका छन् । प्रतिसवारी १० रुपैयाँ भ्रष्टाचार गर्दा ठेक्का लिएका व्यक्तिहरुले दैनिक लाखौं रुपैयाँ कमाइ रहेका छन् ।

महोत्सव सञ्चालन भएको २ दिनसम्म १ हजारभन्दा बढी सवारी साधन पार्किङ गरिएपनि ठेक्का पाएको कम्पनीले अहिलेसम्म २ सय ५० वटा टिकटमात्रै बिक्री भएको दाबी गरेको छ । यसबाट टिकटमा समेत घोटाला भएको प्रमाणित भएको छ । दुई दिनदेखि ३० रुपैयाँ लिएर २० रुपेयाँको टिकट दिइरहेका उनीहरुले यसमा आपत्ति जनाएपछि २० रुपैयाँ लेखिएको टिकटमा केरमेट गरी ३० रुपैयाँ बनाएका थिए ।

ठेक्का लिएको कम्पनीले पार्किङ शुल्कमा घोटाला गरेपनि कैलाली उद्योग वाणिज्य संघले यसलाई सच्याउन तत्परता देखाएको छैन । संघ सँग पार्किङ शुल्क उठाउने सम्झौता गरेका अरुण कुँवरलाई संघका पदाधिकारीले यसबारे बुझन सचिवालयमा बोलाएपनि साँझ अबेरसम्म उनी संघको सम्पर्कमा आएनन् । यातायात तथा पार्किङ व्यवस्थापनको जिम्मेवारी पाएका कैलाली उद्योग वाणिज्य संघका सदस्य लक्ष्मण पन्तले यसबारे गम्भीर भएर छानविन गर्ने र गल्ती गरेको भेटिए कारवाही गर्ने बताए ।



बुधबार २३, माघ २०७५ १२:१९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.