नेतृत्वकर्ताको शैली जङ्गबहादुर राणा र ज्ञानेन्द्र शाहभन्दा पृथक रहेन : खाँण

Yugnepal     1066 पटक पढिएको    

नेतृत्वकर्ताको शैली जङ्गबहादुर राणा र ज्ञानेन्द्र शाहभन्दा पृथक रहेन : खाँण

धनुषा । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले सरकारको नेतृत्वकर्ताको शैली जङ्गबहादुर राणा र ज्ञानेन्द्र शाहभन्दा पृथक नरहेको टिप्पणी गरेका छन् । नेपाल प्रेस युनियन धनुषा शाखाद्वारा सोमबार यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रमुख सचेतक खाँणले भने ,सरकारको नेतृत्वकर्ताको शैली जङ्गबहादुर राणा र ज्ञानेन्द्र शाहभन्दा फरक छैन ।सरकारद्वारा ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्नु निन्दनीय हो ।ु

प्रमुख सचेतक खाँणले वर्तमान नेकपाको सरकारले छिमेकी राष्ट्र चीनको जस्तो शासन ल्याउन खोज्नु नेपालको संविधानको बर्खिलाप हो भने । नेपालको राज्य प्रणालीमा चीनको शासन शैली आत्मसात गर्न खोज्ने क्रियाकलापप्रति नेपाली कांग्रेसको आपत्ति छ भन्दै उनले सरकारको यो क्रियाकलाप लोकतन्त्र र सङ्घीयतामाथि प्रहार भएको बताए।

प्रमुख सचेतक खाँणले सङ्घीय लोकतान्त्रिक पद्धतिलाई सबल बनाउने सन्दर्भमा उदासीन रहेको आरोप लगााए। सरकार जनताको पक्षभन्दा पनि केन्द्रमुखी भएको आरोप लगाए। देशमा दुई तिहाइको सरकार भए पनि आम जनताको रक्षा, विकास र शासन व्यवस्था अन्योल अवस्थामा रहेको प्रसङ्ग उनले उल्लेख गरे ।

उनले सङ्घीय लोकतन्त्रको आधारशिलामा बनेको सरकारले संविधान प्रतिकूल हुने विधेयक संसद्मा प्रस्तुत गरी स्वतन्त्र प्रेस, मानवाधिकार, सुरक्षा परिषद्, नागरिकको सम्पत्तिमाथिको अधिकार हनन हुने कुचेष्टा गरिरहेको चर्चा गरे । नेपाली कांग्रेस संविधानको प्रतिकूल हुने कुनै पनि विधेयक अगाडि बढ्न दिँदैन भन्दै उनले सरकारले एकल किसिमले सञ्चालन गर्न ऐन कानूनमा छिद्र पार्न खोज्नु देशका लागि घातक हो भने ।

संविधानको स्वामित्व ग्रहण हुने गरी संविधान परिमार्जन हुनै पर्दछ भन्दै उनले मधेशवासीलगायत अन्य समुदायले पनि हामी सबैको संविधान हो भन्ने  स्वामित्व लिने किसिमले परिमार्जन हुनुपर्ने धारणा राखे।



सोमबार १३, असोज २०७६ ०१:४६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal