लगातारको बर्षाले तरकारीको मूल्य बढ्यो

Yugnepal     1189 पटक पढिएको    

लगातारको बर्षाले तरकारीको मूल्य बढ्यो

सर्लाही। लगातारको झरीले सर्लाहीमा तरकारीको उत्पादन घटेपछि मूल्य बढ्न थालेको छ । जिल्लामै सबैभन्दा बढी तरकारी उत्पादन हुने उत्तरी भेगमा केही दिनदेखि तरकारीको मूल्य बढेको व्यापारीले बताएका छन् ।

 एक साता अघिको भन्दा अहिले हरेक जसो तरकारीको मूल्य झण्डै दोब्बरले वृद्धि भएको हो । पूर्व–पश्चिम राजमार्गस्थित लालबन्दी खुद्रा बजारमा अहिले फूल कोभी प्रतिकिलो दुई सय रुपैयाँ, बोडी प्रतिकिलो १२० रुपैयाँ, खुर्सानी प्रतिकिलो २४० रुपैयाँ, भेँडे खुर्सानी प्रतिकिलो दुई सय रुपैयाँ, करेला प्रतिकिलो ९० रुपैयाँ, भेन्डी प्रतिकिलो ८० रुपैयाँ, भेन्टा प्रतिकिलो ८० रुपैयाँ, परबल, बन्दा कोभी र काक्रा समान मूल्य प्रतिकिलो ६० रुपैयाँ र लौका प्रतिकिलो ५० रुपैयाँमा बिक्री भइरहेको छ ।

झरीका कारण बजारमा स्थानीय तरकारी पर्याप्त नआउँदा मूल्य बढ्दै गएको खुद्रा व्यापारी धनबहादुर राईले जानकारी दिए । उनका अनुसार पानीले उत्पादन नभएको भन्दै दैनिकजसो तरकारी बेच्न ल्याउने किसानले समेत केही दिनदेखि बजारमा तरकारी नै ल्याएका छैनन् ।

तरकारीको किनबेच हुने जिल्लाको लालबन्दीसहित नवलपुर, हरिपुर, हरिवन, नयाँरोड, बागमती, सोल्टी, बरहथवा, बयलवास, मलङ्गवालगायत सबैजसो ग्रामीण बजारमा हिजोआज तरकारीको मूल्य बढेको उपभोक्ताले बताएका छन् । स्थानीय स्तरमै पर्याप्त तरकारी नआउँदा सर्लाहीबाट अन्य स्थानमा निकै कम परिमाणमा तरकारी निर्यात भइरहेको लालबन्दीस्थित कृषि उपज बजार सञ्चालक समितिले जनाएको छ ।



सोमबार १३, असोज २०७६ १२:५७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal