उर्लियो हनुमन्ते र मनोहरा, किनाराका बस्ती जोखिममा

Yugnepal     801 पटक पढिएको    

उर्लियो हनुमन्ते र मनोहरा, किनाराका बस्ती जोखिममा

काठमाडौं । दुई दिनदेखि परेको वर्षाका कारण यहाँको हनुमन्ते र मनोहरा खोलामा आएको बाढीका कारण खोला किनारामा रहेको बस्ती जोखिममा परेको छ ।

मनोहरा खोलामा आएको बाढीका कारण मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीस्थित सुकुम्बासी बस्ती र त्यस आसपासका क्षेत्रका बस्ती डुबानमा पर्ने जोखिममा परेको छ ।

स्थानीय राम मगरले हिजोदेखि परेको पानीका कारण खोलाको बहाव बढेर बस्ती नजिक पुगेको बताउँदै पानी नरोकिए बस्तीमा पानी पसेर डुबानमा पर्ने बताए । पानीको बहाव बढेपछि यहाँका बस्तीका बासिन्दा डरमा बसेको बताउँदै हरेक वर्ष बस्ती डुबानमा पर्ने समस्याबाट पीडित हुनुपरेको बताए ।

बस्तीकी सावित्री कार्कीले रातभर पानी परेपछि खोलाको बाढी पस्ने डरले सुत्न नपाएको बताउँदै बालबालिकालाई काखी च्यापेर डरले बस्नुपरेको बताए ।

मनोहरासँगै हनुमन्ते नदीमा आएको बाढीका कारण यहाँका बासिन्दा पनि डरमा बसेका छन् । हनमुन्ते नदीमा आएको बाढीले यसअघि पनि मध्यपुरथिमि राधेराधे, बालकोट, बाराहीस्थान, जगातीलगायतका क्षेत्र डुबानमा परेकाले अहिलेको पानीले पनि बस्तीमा बाढी पस्ने डर भएको यहाँका बासिन्दाले बताएका छन् ।

जगातीमा अरनिको राजमार्ग हिजोदेखि नै डुबानमा परेपछि साना गाडी दुर्घटनामा परेको छ । आज पनि यो क्षेत्र दिनभरि नै डुबानमा छ । क्षति भने भएको छैन । आवतजावतमा समस्या छ ।

प्रमुख जिल्ला अधिकारी नारायण भट्टले खोलामा आएको बाढी बस्तीमा पसेर डुबानमा पार्ने जोखिम बढेकाले सर्तक रहन सबैमा आह्वान गरेको बताए । उनले जिल्लाका सबै प्रहरी नियकालाई उच्च सतर्कतामा रहन निर्देशन दिएको र जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सतर्क रहन प्रहरीमार्फत सन्देश प्रवाह गरेको बताए ।

सम्भावित दुर्घटनामा मध्यनजर गर्दै बाढी, पहिरो र डुबान भएमा तत्काल उद्धार एवं आवश्यक सहयोग गर्ने टोली तयारी अवस्थामा रहेको जानकारी दिए ।



बिहिबार ०२, असोज २०७६ ११:०५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal