काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली सिङ्गापुरबाट उपचार गरी शुक्रबार स्वदेश फर्कदै छन् । उनका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले सिङ्गापुरबाट थाइल्याण्ड हुँदै अपराह्न थाई एयरवेजबाट प्रधानमन्त्री ओली स्वदेश फर्कने जानकारी दिएका छन् ।
मिर्गौलासम्बन्धी एण्टिबडीको उपचारका लागि उनी गत भदौ ५ गते त्यसतर्फ गएका थिए । उनको सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी अस्पतालमा उपचार भएको थियो । उपचारकै क्रममा प्रधानमन्त्रीले दुई पटक टेलिप्रिजेन्स प्रविधिमार्फत मन्त्रिपरिषद्का सदस्यसँग सरकारका कामको बारेमा छलफल गरेका थिए ।
प्रधानमन्त्रीको स्वास्थ्य स्थिति बुझ्न सिङ्गापुर गएका नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य वामदेव गौतम र महासचिव विष्णुप्रसाद पौडलले पनि उनीसँगै फर्कने छन् ।
प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, स्वकीय सचिव राजेश ब्रजाचार्यलगायत सहभागी छन् । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र निजी चिकित्सक डा दिव्यासिंह शाह भने फर्किसकेका छन् ।
यसअघि उनी सोही अस्पतालमा स्वास्थ्य परीक्षण गरी साउन २७ गते स्वदेश फर्किएका थिए ।
स्वास्थ्यबारे जानकारी पाइन्छ होला नि ?
गत साउन २७ गते उपचारपछि फर्कने क्रममा प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्यस्थिति बुझ्न आतुर पत्रकारहरुको जिज्ञासामा ‘दुई चार दिनपछि थाहा पाइहाल्नुहुन्छ नि’ भन्दै बाहिरिएका थिए ।
तर जानकारी दिएनन् । उनको स्वास्थ्यका बारेमा विभिन्न टिकाटिप्पणी भए । १२ वर्षअघि दुवै मृगौला प्रत्यारोपण गरेका ओलीको स्वास्थ्यबारे सबैलाई चासो हुनु स्वभाविकै हो ।
फेरि साउन १८ गते सिंगापुर जानुअघि नेपाली सेनाको अस्पतालमा गरेको उपचारमा उनी ठीक थिए । तर एक्कासी के भयो भन्ने चासो बढ्नु पनि स्वभाविकै हो ।
प्रधानमन्त्री ओली संचारकर्मीसंग रुष्ट भए । जवाफ दिएनन् । उनले जानकारी नदिनु भनेको समग्र नेपाली नागरिक नै सूचनाबाट वञ्चित हुनु हो ।
ढिला जानकारी आयो । फेरि उपचारका लागि जाँदै भन्ने जानकारी आयो । उनले धेरै जना सल्लाहकार राखेका छन् । अफवाह फैलाउन सबै माहिर । सही जानकारी दिन हुन्न भन्ने मानसिकता धेरै बोकेका ।
त्यो पाली त्यस्तै भयो । यो पाली के हुन्छ रु
यसपाली त बीचबीचमा नेकपाका नेताहरु पनि गए । सचिवालय सदस्य वामदेव गौतम र महासचिव विष्णु पौडेल सिंगापुर पुगे ।
प्रधानमन्त्रीले दुई पटक भिडियो कन्फ्रेन्स गर्दा ठीक छु भन्ने तर खास जानकारी नपाइने । अनि यस्तोमा फेरि गौतम र पौडेल किन जानु पर्ने ?
दुवै जना शुक्रबारै फर्किदै छन् । तर ओलीको स्वास्थ्यको चासो सबैलाई छ । यसपटक पनि संचारकर्मीहरु पुग्छन् विमानस्थलमा ।
विमानस्थलमा नजान भनेर प्रेस सल्लाहकार डा अर्यालले कुनै सूचना जारी नगरेकाले मुलुकको कार्यकारीको स्वास्थ्यबारे बुझ्न जानु संचारकर्मीको दायित्व नै हो ।
प्रधानमन्त्री ज्यू आज त जवाफ दिनु हुन्छ होला नि !
प्रतिकृया दिनुहोस