सहकारीले करोडौँ रकम हिनामिना गरेपछि बचतकर्ता आन्दोलनमा

Yugnepal     940 पटक पढिएको    

सहकारीले करोडौँ रकम हिनामिना गरेपछि बचतकर्ता आन्दोलनमा


नेपालगञ्ज– ठूलो आर्थिक अपचलन भएको सहकारी वित्तिय विकास संस्था लिमिटेडका बचतकर्ताहरु संगठित भएर आन्दोलनको तयारी गरेका छन्।

शनिबार नेपालगञ्जको नगर भवनमा जम्मा भएका बचतकर्ताहरुले कानून व्यवसायी सुकइलाल बर्मा संयोजक र आशुतोष शुक्ला सह–संयोजक रहेको ५१ सदस्यीय संघर्ष समिति गठन गरेका हुन्।

संघर्ष समितिले तत्काललाई दुई वटा कार्यक्रम बाहिर ल्याएको छ। सह–संयोजक शुक्लाका अनुसार, ९ गते प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने र १० गते पत्रकार सम्मेलन गर्ने रहेको छ। त्यसपछि अरु कार्यक्रम सार्वजनिक गरिनेछ।

‘बचतकर्ताले आफ्नो पैसा पाउनु पर्‍यो, हामीले त्यसका लागि दवाव दिन्छौँ’, सहसंयोजक शुक्लाले भने।

सहकारीमा ३५ करोडभन्दा बढी हिनामिना भएको आशंका छ।

असार २८ गते साधारण सभा हुँदासम्म सम्पर्कमा रहेका सहकारीका अध्यक्ष हरदेवबक्स चौधरी अहिले सम्पर्कविहीन भएका छन्। सहकारी बन्द रहेको छ। सहकारी सञ्चालकहरु फरार रहेका छन्।

बाँके प्रहरीले सञ्चालकहरुको खोजी गरिरहेको छ। सहकारीको उच्च पदमा रहेका तीन जनालाई नियन्त्रणमा लिएर मुद्दा चलाइसकेको प्रहरीले थप दुई जनालाई पनि हिरासतमा लिएको छ।

सहकारीका सञ्चालकहरु फरार भएपछि खाइ–नखाई जम्मा पारिएको रकम डुब्ने चिन्तामा बचतकर्ता पुगेका छन्। आफ्नो बचत फिर्ताका लागि कडा आन्दोलनमा उत्रिने उनीहरुले चेतावनी दिएका छन्। गाउँगाउँबाट साइकलमा आएका किसानहरु समूह–समूहमा बसेर दुःख सुनाइरहेका थिए।

बाँकेमा धेरै बचतकर्ता रहेको मध्येमा पर्ने सहकारीमा उच्च पदस्थ कर्मचारीहरुले पहिलेदेखि नै आर्थिक हिनामिना गर्दै आएको छानबिनका क्रममा देखिएको छ।

गत वैशाख १५ गते प्रबन्धक गोपाल भण्डारीको प्रतिवेदन, जेठ २६ गतेको नवराज उपाध्यायको संयोजकत्वमा छानबिन समितिको प्रारम्भिक प्रतिवेदन र असार २८ गतेको विशेष साधारण सभामा पेश भएको अध्यक्षको प्रतिवेदनहरुले २०६५ देखि गडबडी देखिएको छ।

पछिल्लो समयमा पूर्वमन्त्री सर्वदेव ओझाको संयोजकत्वमा उच्चस्तरीय विशेष समिति बनेर अनुसन्धान गरिएको थियो। प्रहरीले पनि अनुसन्धान अघि बढाएको छ। त्यसक्रममा केही सञ्चालकहरुको सम्पत्ति रोक्का गरिएको छ। देश संन्चार बाट

 



शनिबार ०७, भदौ २०७६ ०७:५७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal