भेनेजुएला प्रकरणमा माधव नेपालले आफूलाई फसाएको प्रचण्डको आरोप

प्रचण्डले ‘यसम्यान’ को रुपमा विज्ञप्ति सार्वजनिक गरे

Yugnepal     738 पटक पढिएको    

भेनेजुएला प्रकरणमा माधव नेपालले आफूलाई फसाएको प्रचण्डको आरोप 
माघ १८ 

काठमाडौं । भेनेजुएला प्रकरणमा आफूलाई फसाइएको भन्दै नेकपाका आधा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तर्किन खोजेका छन् । आफै अध्यक्ष भएर आफैले हस्ताक्षर गरेर अमेरिकालाई भेनेजुएलाको स्वतन्त्रताबारे हनन नगर्न चेतावनीयुक्त विज्ञप्ति जारी गरेपछि विवादमा आएका प्रचण्डले त्यसको दोष नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललाई दिएका छन् । 

प्रचण्डले निकालेको त्यो विज्ञप्तिले प्रचण्डको चर्को आलोचना भएको छ । भेनेजुएलाको आन्तरिक मामिलामा अमेरिका र उसका सहयोगीबाट हस्तक्षेप भएको, जनतामा विभाजन ल्याएर हिंसा चर्काउने प्रयास गरेको र सार्वभौमसत्ता, शान्ति र प्रजातन्त्रलाई चुनौती दिएको लगायतका आरोप प्रचण्डले लगाएका थिए । 

दुई तिहाइ सरकारको नेतृत्व गरिरहेको दलका एउटा अध्यक्षले निकालेको विज्ञप्ति आफ्नै दलका नेताहरुलाई नपचेपछि एकाएक तरंग आएको छ । 

नेकपाकै अर्का आधा अध्यक्ष केपी शर्मा ओलीले अमेरिकासंग सम्बन्ध सुमधुर बनाउन खोजिरहेका बेलामा ओली स्वीटजरल्याण्ड भएका बेलामा प्रचण्डले एक्कासी विज्ञप्ति जारी गरेका थिए । 

निकै चर्चा भएपछि अमेरिकी दूतावासले सरकारसंग धारणा मागेको थियो । माघ १० गते भएको उक्त घटनापछि केही दिन प्रचण्ड बाहिरी कार्यक्रममा देखिएनन् । देखिएका कार्यक्रममा पनि त्यसबारे केही बोलेनन् । 

कसरी फसाइयो 
स्रोतका अनुसार माधव नेपाल र नेकपाका सचिवालय सदस्य एवं प्रभावशाली नेता नारायणकाजी श्रेष्ठ भेला भए । उनीहरुलाई ओलीको व्यवहार पटक्कै मन परेको थिएन । त्यही अवसर पारेर पार्टीको नीति नै अलमलमा पार्ने गरी अमेरिकालाई चिँढाउने ढंगले विज्ञप्ति तयार पारे । 

प्रचण्डले ‘यसम्यान’ को रुपमा विज्ञप्ति सार्वजनिक गरे। प्रचण्ड पनि यसै भनिरहेका छन् आफू निकटका नेताहरुमार्फत । 

तर प्रश्न यहाँनेर आउँछ कि यति गम्भीर विषयमा पनि प्रचण्डले किन एक पटक विज्ञप्ति पढेनन् रु विज्ञप्ति नपढिकनै हस्ताक्षर गरेर पठाएँ भन्न सुहाउने कुरा हो पत्याउने कुरा हो 

या त प्रचण्ड गैरजिम्मेवार भए । या त उनी आफ्नो गल्ती फेर्न अरुलाई दोष लगाइरहेका छन् । या त परिस्थिति टार्ने मनस्थितिमा छन् । त्यसो त भाषाको अन्तिम मस्यौदा नेपाल र प्रचण्ड बसेरै तयार पारेको पनि बताइन्छ । 

प्रचण्ड विज्ञप्ति जारी गर्नका लागि उत्साहित हुनुमा सबैभन्दा ठूलो हात नेकपा केन्द्रीय सदस्यसमेत रहेका राष्ट्रियसभा सदस्य बलराम बास्कोटाको रहेको बुझिन्छ। बास्कोटा पुस २३ गते भेनेजुएला गएका थिए भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको दोस्रो कार्यकालको शपथग्रहण कार्यक्रममा सहभागी हुन । 

स्वदेश फर्केपछि बास्कोटाले भेनेजुएलाको राजनीतिक संकट र विकसित घटनाक्रमबारे वरिष्ठ नेता नेपाल, वामदेव गौतमलगायतसँग छलफल गरेका थिए। त्यसले नै डोहोर्यायो प्रचण्डलाई विज्ञप्ति निकाल्ने परिस्थितिसम्म पुग्न । 

अब त्यसबाट कसरी बच्ने भन्ने उपाय खोज्ने क्रममा प्रचण्डले दोष दिएर पन्छन खोजेको बुझिन्छ । यस्तो परिस्थिति आउला भनेर उनले परिकल्पना पनि नगरेको बुझिन्छ । 

ओली स्वीटजरल्याण्डबाट फर्केपछि प्रचण्डसंग राम्रोसंग कुराकानीसमेत नभएको बताइएको छ। आफूलाई फसाएको भनेर प्रचण्डले माधव नेपाललाई पोल्न खोजे पनि नेपालले भने केही बोलेका छैनन् । 

यो मामलामा नेकपाका अर्का वरिष्ठ नेता झलनाथ खनाल भने बोलेका छैनन् । तर उनले पार्टीको एउटै नीति हुनुपर्नेमा भने केही संचारमाध्यममा जोड दिएका छन् । 



शुक्रबार १८, माघ २०७५ ०३:४५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.