नेता नेपालको नोट अफ डिसेन्ट ओझेलमा पर्ने संकेत

Yugnepal     883 पटक पढिएको    

नेता नेपालको नोट अफ डिसेन्ट ओझेलमा पर्ने संकेत

काठमाडौँ– आफ्नो ‘वरिष्ठ नेता’को वरियता खोसिएलगत्तै सत्ताधारी नेकपाका नेता माधव कुमार नेपालले सचिवालयमा दर्ता गराएको ‘नोट अफ डिसेन्ट’ले तत्कालै प्राथमिकता नपाउने संकेत देखा परेका छन्।
 

बुधबार तीनबजेपछि करिब दुईघण्टा भएको नेकपाको सचिवालय बैठकमा मंगलबार दर्ता गरेको ‘नोट अफ डिसेन्ट’बारे कुनै पनि छलफल नभएको बैठकमा सहभागी एक नेताले बताएका छन्।

बैठकमा बुधबार मात्रै विदेश मन्त्रीस्तरीय नेपाल भारत संयुक्त आयोगको बैठकमा सामेल हुन आएका भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल यात्रा, उनीसँगको समझदारी र छलफल र पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको बिहीबार हुने सिंगापुरको उपचार यात्राबारे छलफल भएको बुझिएको छ तर नेता नेपालको ‘नोट अफ डिसेन्ट’बारे कुनैपनि छलफल नभई बैठक समाप्त भएको ती नेताको भनाइ छ।

बैठक भोलि बिहान आठ बजेका लागि बोलाइए पनि पार्टी एकता र सरकारका काम कारवाहीको विषयमा छलफल हुने बुझिएको छ।

बिहीबार दिउँसो १२ बजे प्रधानमन्त्री ओली स्वास्थ्य फलोअपका लागि सिंगापुर जाने र उनको स्वदेश फर्कने मिति अनिश्चित भएकाले नेता नेपालको नोट अफ डिसेन्टमाथिको छलफल ओझेलमा पर्ने देखिएको छ।

आइतबारको सचिवालय बैठकमा वरिष्ठ नेताको हैसियतसहित तेस्रो वरियतामा रहेका वरिष्ठ नेता नेपाललाई घटुवा गरी नेता झलनाथ खनाललाई बढुवा गरिएको थियो। त्यसको भूमिकामा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्ड मुख्य रहेको र उनीहरुले आफूलाई अपमान गरेको भन्दै नेता नेपालले नोट अफ डिसेन्ट लेखेपछि अध्यक्षद्वय ओली तथा दाहालविरुद्ध नेता नेपालको संघर्ष सुरु भएको देखिन्छ।

नेता नेपालले तत्कालिन एमालेका उपाध्यक्ष युवराज ज्ञवाली, भीम रावल, अष्टलक्ष्मी शाक्यलाई पनि नेकपामा बामदेव गौतम सरह उपाध्यक्षको हैसियत प्रदान गर्नुपर्ने, अध्यक्षले विधि र विधानको आधारमा निर्णय लिनुपर्ने, एक व्यक्ति एक पदको नीति अनुसार पार्टी अघि बढ्नुपर्ने, नेताहरुको कार्यविभाजन समान रुपमा हुनुपर्ने, पोलिट व्यूरो गठन तत्काल गर्नुपर्ने लगायतका माग नेता नेपालले अघि सारेका छन्। देशसन्चार बाट

 



बुधबार ०४, भदौ २०७६ ०७:५६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal