घेराबन्दीबाट मुक्त हुन सर्वदलीय बैठक डाकेर ओलीले गरे चलाखी

Yugnepal     584 पटक पढिएको    

घेराबन्दीबाट मुक्त हुन सर्वदलीय बैठक डाकेर ओलीले गरे चलाखी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सम्हालेको १८ महिनापछि पहिलो पटक सर्वदलीय बैठक डाकेर दुखेसो पोखेका छन् । 

दुई तिहाईको सरकार बनेपछि अहम्पूर्वक उनले विपक्षी दललाई वास्तासमेत नगरी आफ्नो बुद्धिमात्र चलाएर आलोचित भएपछि बल्ल संसदमा सहभागी चार दलका नेताहरुलाई बोलाएर छलफल गरेका हुन् । 

उक्त छलफलमा उनले विशेष गरी आत्मआलोचना गरेका छन् । आफू घेराबन्दीमा परेपछि सहजीकरणका लागि सर्वदलीय बैठक बोलाएको बुझाइ सहभागी नेताहरुको छ । 

आफूले सकुन्जेल मुलुकको संरचना अस्तव्यस्त पार्ने अनि अब आफ्नो कुर्सी खतरामा पर्यो भन्ने बुझेपछि सर्वदलीय बैठक बोलाएको स्पष्टै छ । 

प्राप्त उपलब्धी गुम्न नहुनेमा सर्वदलीय बैठकमा सबै एकजुट भएका छन् । तर लोकतन्त्रमाथि खतरा रहेको जस्ता अफवाह कतै ओलीको मनको बाघले खाइरहेको त हैन भन्ने प्रश्न पनि उब्जिएको छ । 

एक सहभागी राजपाका नेताले भने, ‘प्रधानमन्त्रीले बैठक डाक्नु आफैमा सकारात्मक पहलकदमी हो । तर यो बैठकको उद्धेश्य के हो भनेर जान्नु जरुरी छ ।’

यहींबाटै प्रश्न उब्जिन्छ कि –‘दुई तिहाईको सरकारलाई कसरी काम गर्ने भनेर विपक्षीले सिकाउनु पर्दैन’ भनी विपक्षी चिंढाउने ओलीले सत्ता सम्हालेको १८ महिनापछि किन सर्वदलीय बैठक बोलाए रु 

गत आइतबार मात्र प्रतिनिधिसभाको बैठकमा आफू पाँच वर्ष ढुक्कले प्रधानमन्त्री हुने भन्दै चुनावपछि पुनः प्रधानमन्त्री बन्ने इच्छा नभएको बताएका थिए । 

यसले गर्दा उनकै पार्टी नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि आलोपालो प्रधानमन्त्री बन्ने पार्टी एकता हुँदाको ‘ओपन सेक्रेट’ सहमतिमा धक्का लागेको थियो । 

आफ्नै पार्टीभित्र आलोचनाका शिकार बन्दै आइरहेका ओलीले लोकतन्त्रका प्राप्ति उपलब्धी सुरक्षाको नाममा आफ्ना विरोधीहरुको साथ लिन खोजिरहेका छन् । 

त्यतिमात्र होइन उनले आफ्नो स्वास्थ्यबारेसम्म स्पष्ट जानकारी नदिएर आलोचित बनेपछि मानिस बिरामी हुने, फेरि निको हुने भएकाले त्यसमै धेरै अफबाह बाहिर आएको भन्दै स्पष्ट पार्ने प्रयास बैठकमा गरेका थिए । 

उनले आफू पुनः बिहीबार सिंगापुर उपचारकै लागि जान लागेको र त्यसपछि फर्केर फेरि सबैसंग छलफल गर्नेसमेत बताएका छन् । 

गत साउन १८ गते सिंगापुर गएर उनी साउन २७ गते फर्केका थिए । सिंगापुरबाट फर्केपछि उनले संचारकर्मीसंग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्यबारे ‘रुखो’ जवाफ फर्काएका थिए । 

‘केही दिनमै थाहा पाइहाल्नुहुन्छ नि’ भनेका थिए । त्यसपछि त्यो रुखो जवाफको परिणाम पनि उनले देखे –संचारमाध्यम अनि सामाजिक संजालमा । 

अनि वाध्य भएर दलहरुको बैठकमा अफबाह फैलाइयो भनेर गुनासो गरे । अहिले फेरि सिंगापुर जाँदैछन् । तर कति समयका लागि जाँदैछन् भन्ने कुरा उनले खोलेका छैनन् । 

राष्ट्रको कार्यकारीका बारेमा चासो हुनु स्वभाविकै हो । कार्यकारीले बोल्ने हरेक शब्दहरु महत्वपूर्ण हुन्छन् । यसतर्फ उनी गम्भीर नहुँदा कुर्सीमा बसेको १८ महिनापछि सर्वदलीय बैठक बोलाउनु पर्यो । 

उनले देशमा खतरा भएर हैन कि आफूमाथि खतरा भएरै नेताहरुलाई हारगुहार गरेको बुझ्न द्धिविधा छैन । 

मिडिया काउन्सिल विधेयकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले लिएको अडान, गुठी विधेयक दर्ता फिर्ता र पछिल्ला चर्चाले पनि ओलीलाई झस्कायो । 

संसदमा विपक्षीलाई समेत सम्मान गर्न नसक्ने परिपाटीको दम्भ ओलीले देखाएकै थिए । ओली फेरि फकाउने प्रयासमा छन् । आफ्नै पार्टीबाट आलोचित भएपछि विपक्षीको साथ र सहयोग पाए आफ्नो पार्टीभित्रको खतरा टर्ने विश्वास उनको हुन सक्छ । 

संक्रमणकालीन न्याय निरुपण सम्बन्धी विवाद समाधानका लागि दलहरुको धारणा बुझ्न बैठक डाकिएको भनेर सूचना प्रवाह गरिएको थियो । 

तर त्यससम्बन्ध आफू सिंगापुरबाट फर्केपछि कुराकानी गरेर निर्णयमा पुग्ने उनले बताएको सहभागी नेताले बताएका छन् । अर्थात् ‘म आउन्जेल कुनै पनि त्यस्तो अनिष्ट नहोस्’ भन्ने मनको बाघको डर हटाउन पनि उनले सर्वदलीय बैठक डाकेको बुझाइ सहभागीकै छ । 

सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता पारिएका व्यक्तिहरुको छानविनसम्बन्धी आयोग गत फागुनदेखि पदाधिकारीविहीन छन् । अहिलेसम्म त्यतातिर ध्यान नदिनुको कमजोरी अब उनले विपक्षीहरुलाई पनि लाद्ने मनस्थिति बनाएका हुन सक्छन् ।

अनि आफ्नो दलका एक जनासम्म भए पनि पदाधिकारी घुसाउन पाए सफलता ठान्ने र थोरै भए पनि भागबन्डामा सहभागी गराएर समर्थन बटुलौं भन्ने उद्धेश्यमा ओली सफल हुन सक्छन् । 

तर आफ्नै दलका वरिष्ठ नेता माधवकुमार नेपालको कडा प्रतिक्रिया र एक व्यक्ति एक जिम्मेवारीको अडानको जवाफ कसरी देलान् त रु



बुधबार ०४, भदौ २०७६ ११:३३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal