काठमाडौं । लामो समयदेखि ओलीसँग असन्तुष्ट रहेका बामदेव गौतमलाई प्रचण्डको खेमामा जानबाट रोक्नको लागि नयाँ पद सिर्जना गरिएको छ । शुक्रबार बसेको नेकपा सचिवालयका बैठकले नयाँ पद सिर्जना गरी गौतमलाई पार्टीको उपाध्यक्ष बनाउने निर्णय गरेको हो ।
यस अघि प्रधानमन्त्री केपी ओलीको खेमामा रहेका बामदेवले पार्टी एकतापछि जिम्मेवारी नपाएपछि उनी पार्टीप्रति असन्तुष्ट थिए । उनले पुसको स्थायी समिति बैठकमा ओली विरुद्ध १६ पृष्ठलामो छुट्टै प्रतिवेदन पेश गरेपछि उनी ओली खेमाबाट टाढा भएको देखिएको थियो ।
ओलीसँग कुरा नमिलेपछि गौतम प्रचण्डसँग नजिक भएका थिए । उनलाई प्रचण्डको खेमामा जानको लागि उनलाई तत्काल कुनै जिम्मेवारी दिनु आवश्यक थियो । पछिल्लो समय प्रधानमन्त्री र पार्टी अध्यक्ष एकै व्यक्ति हुँदा सरकारले काम गर्न नसकेको भनेर सरकारको आलोचना समेत गरेका थिए । त्यो आलोचनापछि उनको मुखबुजो लगाउनको लागि नयाँ पद सिर्र्जना गर्ने सहमति भएको हो ।
त्यस्तै, नेकपाको बहुप्रतिक्षित स्कूल विभागको जिम्मा उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलले पाएका छन् । पोखरेलसँगै प्रचण्ड खेमाका नारायणकाजी श्रेष्ठ, घनश्याम भुसाल र वेदुराम भुसाललगायतले यसमा दाबी दाबी गरेका थिए। यसमध्ये प्रचण्डखेमाका श्रेष्ठलाई प्रचार विभागको जिम्मा दिएर पोखरेललाई स्कूल विभागको जिम्मा दिईएको हो ।
यस बाहेक विदेश विभागको जिम्मा वरिष्ठ नेता माधवकुमार नेपाल, नीति तथा प्रतिष्ठान विभाग झलनाथ खनाल, संगठन विभाग वामदेव गौतमले पाएका छन् ।
प्रतिकृया दिनुहोस