काठमाडौं । भारतको नयाँ दिल्लीलाई केन्द्र बनाएर आसपासका सहरहरुसँग जोड्ने दिल्ली मेट्रो भारतको राजधानीको लाईफलाईन परियोजना हो । यो परियोजनाले यसै वर्ष आफ्नो रजत जयन्ती मनाएको छ ।
बढ्दो जनसंख्याको चापसँगै कार्वन उत्सर्जनको बढ्दो चुनौतीलाई न्यूनीकरण गर्नको लागि दिल्ली मेट्रोको भूमिका महत्वपूर्ण मानिएको छ । मिडिया रिपोर्टहरुका अनुसार मेट्रोले दिल्ली महानगरमा हुने वार्षिक ६।३ लाख टन प्रदूषणलाई कमी ल्याउने गरेको छ ।
दिल्लीलाई तत्कालीन अंग्रेज शासकहरुले सन् १९११ मा दिल्लीलाई राजधानी घोषित गरेका थिए । त्यतिबेलासम्म त्यहाँको जनसंख्या जम्मा साढे २ लाख मात्रै थियो । त्यसको ठीक सय वर्षपछि सन् २०११ मा दिल्लीको जनसंख्या १ करोड ६० लाख पुग्यो ।
त्यसको ७ वर्षपछि सन् २०१८ मा दिल्लीको जनसंख्या १ करोड ९० लाख पुगेको छ । दिल्लीको कूल १४८३ वर्ग किलोमीटर क्षेत्रफलमा बढ्दै गएको जनसंख्या र सवारीको मात्रालाई व्यवस्थापन गर्नको लागि धेरै प्रयासहरु भए ।
चक्रपथको परियोजना आयो । त्यसले पनि व्यवस्थापन गर्न नसकेर बाहिरी चक्रपथको परियोजना आयो । त्यसले पनि दिल्लीमा बढ्दै गएको सवारीको चापलाई न्यूनीकरण गर्न नसक्ने देखेपछि आजभन्दा २५ वर्ष अघि दीर्घकालीन सोच सहित दिल्ली मेट्रो परियोजनाको काम सुरु भएको थियो ।
अहिले दिल्ली मेट्रोले कूल ३७३ किलोमिटरको यात्रामा र २७१ स्टेसनबाट दैनिक ३० लाख यात्रीहरुलाई सेवा दिने गरेको छ । दिल्लीको कूल जनसंख्याको झण्डै १७ प्रतिशतलाई मेट्रोले दैनिक सेवा दिँदा पनि अहिले दिल्लीमा सवारीको चाप अत्यधिक बढ्दै गएको छ । अहिले दिल्लीको सडकमा एक किलोमिटरको क्षेत्रभित्र १०८ वटा त कारहरु मात्रै गुड्ने गरेको मिडिया रिपोर्टहरुले देखाएका छन् ।
यस्तै दिल्लीमा २७ प्रकारका सवारीहरु सडकमा गुड्ने गर्दछन् । यतिधेरै सवारी चाप हुने सहरमा दिल्ली भारतको दोस्रो नम्बरमा पर्दछ । पहिलो नम्बरमा रहेको मुम्बईमा एक किलोमिटरको दूरीमा ५०४ वटा त कार मात्रै गुड्ने गरेको छ । यसरी राजधानी केन्द्रीत बन्दै गएको जनसंख्यालाई विकेन्द्रीकृत गर्दै दिल्लीलाई व्यवस्थित शहर बनाउने मूल श्रेय दिल्ली मेट्रोलाई जाने गर्दछ ।
राजधानी बने लगत्तै बढ्न थालेको दिल्लीको जनसंख्या उदारीकरणपछि झनै तीब्र मात्रामा बढ्न थाल्यो । सन् १९९० सालमा उदारीकरणसँगै राजधानीमा अवसरहरु पनि बढ्दै गए । जसले गर्दा दिल्लीको जनसंख्या एकाएक आकाशिन थाल्यो । यसरी तीब्र रुपमा आकाशिँदै गएको जनसंख्याले निम्त्याउन सक्ने सम्भावित समस्यालाई मनन गर्दै सन् १९९४ सालमा दिल्ली मेट्रोको अवधारणा आएको हो ।
दिल्ली केन्द्रित बस्तीहरुको विकेन्द्रीकरणमा दिल्ली मेट्रो
राजधानीलाई तीब्र जनघनत्वबाट कम गराउनको लागि एउटा विश्वासिलो यातायात सञ्जाल नै पर्याप्त छ भन्ने उदाहरणलाई दिल्ली मेट्रोले पूरा गरेको छ । कुनै समय दिल्लीको मूल शहरीमात्रै बसोबास गर्नेहरुको रोजाई अहिले नोयडा र हरियाणा जस्ता क्षेत्रमा स्थानान्तरित भएका छन् ।
अहिले मेट्रोको नेटवर्कले जोडेको उत्तर प्रदेशमा नोयडा र गाजियाबाद, हरियाणामा गुडगाउँ, फरीदाबाद, बहादुरगढ तथा बल्लभगढबाट समेत दैनिक हजारौं मानिसहरु कामको शिलशीलामा दिल्ली आउने गरेका छन् ।
यसले दिल्लीको जनघनत्व कम गराउनको लागि महत्वपूर्ण भूमिका खेलेको छ । जतिबेला दिल्लीमा मेट्रोको सुरुवात भएको थिएन त्यतिबेलासम्म दिल्लीको मूल बजारी क्षेत्रमा नै बसोबास गर्नेहरुको चाप थियो । चर्को सवारी जामका कारण समयमा कार्यालय पुग्नको लागि पनि दिल्लीको शहर आसपासमा नै बसोबास गर्नुपर्ने वाध्यता थियो । तर, यो समस्या मेट्रोको समयबद्ध सेवा विस्तारसँगै अन्त्य भएको छ ।
हाल दिल्ली मेट्रोको परिचालन नेटवर्क लगभग ३७३ किलोमिटर पुगेको छ । दिल्ली मेट्रो रेल कर्पोरेसन लिमिटेडकोको लक्ष्य अनुसार चौथो योजनाको अन्त्यसम्म कूल ४५६ किलोमिटर ट्र्याकमा रेल कुदाउने योजना रहेको छ ।
यो लक्ष्य पूरा भएपछि दिल्ली मेट्रो विश्वको सबैभन्दा लामो सञ्जालमा फैलिएको रेलको दर्जामा कीर्तिमानी कायम हुनेछ । दिल्ली मेट्रोको नेटवर्क दिल्लीको सीमाबाट बाहिर गएर उत्तर प्रदेशमा नोयडा र गाजियाबाद, हरियाणामा गुडगाउँ, फरीदाबाद, बहादुरगढ तथा बल्लभगढ पुगेको छ । जसले गर्दा यी दिल्लीमा केन्द्रीत हुनेहरु बाहिरी क्षेत्रहरुमा स्थानान्तरित हुन थालेका छन् । अहिले बेलायतको लण्डन मेट्रोको कूल ट्र्याकको लम्बाई ४०२ किलोमिटर रहेको छ । कूल ११ लाईनमा रहेको सो मेट्रोमा दैनिक कूल ४८ लाख भन्दा बढी यात्रुहरुले यात्रा गर्ने गरेका छन् ।
मेट्रो विकासका ४ चरणहरु
सन् १९९४ मा योजना र संस्था गठन भएर निर्माण सुरु भएको सो मेट्रोले पहिलो पटक सन् २००२ मा शाहदरा र तीस हजारीको बीच यात्रा उद्घाटन गरेको थियो । त्यस लगत्तै दिल्ली मेट्रोको चरणबद्ध विकासको शिलशीला सुरु भएको छ । जस अनुसार पहिलो चरणमा दिल्लीको कूल ६५ किलोमिटरको दूरीमा मेट्रोको सेवा दिनेगरी २००५ सालसम्मको योजना तय भएको थियो । त्यसपछिको दोस्रो चरणको विकास योजनासम्ममा १९० किलोमिटरसम्म विस्तार गर्ने लक्ष्य लिईएको थियो । दोस्रो चरणको पूरा हुने समयसम्म मेट्रोमा कूल १५ लाख मानिसहरुले दैनिक यात्रा गर्ने गरेका थिए ।
सन् २००५ सालसम्म पूरा गर्ने लक्ष्य दिईएको सो योजना लक्षित समयभन्दा २ वर्ष ९ महिना पहिले नै पूरा गरिएको थियो । त्यसपछिको दोस्रो चरणको विस्तार योजना अनुसारको थप १२५ किलोमिटरको ट्र्याक जम्मा साढे ४ वर्षमा पूरा भयो । विस्तारको तेस्रो चरणमा कूल १६० किलोमिटर थप गर्ने लक्ष्य लिइयो । तेस्रो चरणको विस्तारको अन्त्यसम्म दैनिक ४८ लाख यात्रीहरुले दैनिक यात्रा गर्ने भनिएको थियो । यो पूरा हुन सकेको त छैन । तर, २०२० सम्ममा यसले दैनिक ६३ लाखसम्म यात्रुहरु बोक्ने लक्ष्य लिएको छ ।
स्वरुप फेरिएको दिल्ली मेट्रो
सन् २००२ मा पहिलो पटक मेट्रो चल्दा यसलाई पैसा नहुनेहरुको साधनको रुपमा हेर्ने गरिन्थ्यो । धनी एवं हुनेखानेहरु आफ्नै निजी सवारीमा यात्रा गर्न रुचाउँथे भने आफ्नै साधन नहुनेहरु मेट्रोमा यात्रा गर्ने गर्दथे । एकातिर मेट्रोको चरणबद्ध रुपमा विस्तार हुँदै थियो भने अर्को तर्फ दिल्लीमा ट्राफिक जामको समस्या पनि दिन प्रतिदिन बढ्दो मात्रामा थियो ।
मेट्रोमा सहजै र विना कुनै झण्झट गन्तव्यमा पुग्न सकिने भएपछि मेट्रो विकासको दोस्रो चरण सकिने बेलासम्म मेट्रोको स्वरुप बदलिईसकेको थियो । यसमा कम आर्थिक आय भएका मानिसहरु मात्रै होईन हुनेखानेहरुले समेत आफ्नो सवारीको व्यवस्थापन गरेर मेट्रो चढ्न सुरु गरे । आजको दिनसम्म आईपुग्दा उच्च पदस्थ अधिकारीहरुदेखि कमजोर आर्थिक आय भएकाहरुसम्मको रोजाईमा मेट्रो पर्ने गरेको छ ।
दुई मेट्रो म्यानको अभूतपूर्व योगदान
दिल्लीको कूल १४८३ वर्ग किलोमीटरमा लाई व्यवस्थित बनाउनुको पछि मुख्य सहयोगी हो दिल्ली मेटे । भारत सरकार र दिल्ली सरकारको संयुक्त लगानी रहेको दिल्ली मेट्रो रेल कर्पोरेसन लिमिटेड एक उदाहरणीय र दिल्लीको स्वरुप बदल्ने लाईफ लाईन परियोजना पनि हो यो । तर, यो मेट्रो रेलको विकास र विस्तारको मूल श्रेय दुई इन्जिनियरहरुमाथि जाने गर्दछ ।
इन्जिनियर श्रीधरण र डा मंगू सिंहले झण्डै दुई दशक भन्दा धेरै यसको नेतृत्व गर्दा दिल्ली मेट्रोले एउटा नयाँ स्वरुप र व्यापकता पाएको छ । यिनी कुशल इन्जिनियरहरुको कुशलताले बनेको यो दिल्ली मेट्रोले केही समयमा नै सबै भन्दा धेरै सञ्जालमा फैलिएको मेट्रो सेवाको रुपमा कीर्तिमानी कायम गर्ने तयारीमा छ । अहिले इन्दिरा गान्धी इन्टरनेशनल एयरपोर्ट तथा नयाँ दिल्लीको बीच एयरपोर्ट एक्सप्रेस लिङ्कका साथ दिल्ली अब विश्वको एयरपोर्टसँग हाइ स्पीड रेल कनेक्टिभिटी भएको नगरमा रुपान्तरण भएको छ ।
दिल्ली मेट्रोका तत्कालीन प्रबन्ध निर्देशक मंगू सिंहले तेस्रो पटक मेट्रो रेलको भाडा बृद्धि गरेपछि सन् २०१७ मा आयोजित अन्तक्र्रिया कार्यक्रममा एक विद्यार्थीको प्रश्नमा मेट्रोको निर्माण र यसको स्थायित्वको योजना सुनाएका थिए । कुनैपनि सार्वजनिक संस्थानहरुलाई दीर्घकालसम्म स्थायित्व दिनको लागि अनुदानलाई बढावा दिन नहुने उनको तर्क थियो । त्यही अनुदानको झण्झटबाट मुक्त बन्नको लागि समय समयमा यसको भाडामा बृद्धि गर्नुपरेको उनको दाबी थियो ।
उनी भन्थे ‘दिल्ली मेट्रो जस्तो स्वघोषित सार्वजनिक परिवहन प्रणालीलाई पूरा अनुदानमा चलाउन लागियो भने यो दीर्घकालीन रुपमा चल्न सक्दैन । अनुदानले केवल केही समयको लागि भाडामा त राहत होला । तर, यसले सार्वजनिक परिवहन प्रणालीको आफ्नो मोडललाई प्रभावित गराउँछ ।’
नेपालले सिक्नुपर्ने पाठ
मंगू सिंहको यो उक्ति नेपालको सार्वजनिक परिवहनमा समेत लागू हुने देखिन्छ । नेपालमा अहिले सञ्चालित साझा यातायात जस्ता सार्वजनिक सवारीमा केन्द्र सरकार होस् या त स्थानीय सरकारले समेत अनुदानको नाममा अरबौं रुपैयाँ लगानी गरिरहेको छ । तर, यसलाई आफैं चलाउने सोचाई भने देखिएको छैन । जसले गर्दा यसको दीर्घकालीन अवस्थाबारे भने चिन्ता सुरु हुन थालिसकेको छ । यस्तो अवस्थामा दिल्ली मेट्रोको विकास मोडलबाट सिक्नुपर्ने देखिन्छ ।
अर्को तर्फ मेट्रो परियोजनाको बहस पनि नेपालमा चलिरहेको छ । दिल्ली मेट्रो निर्माणबाट हामी समयमा नै कसरी निर्माण सम्पन्न गर्न सकिन्छ रु भन्ने बारेमा ज्ञान लिन सकिने देखिन्छ । पहिलो चरणको योजना झण्डै ३ वर्ष अघि समाप्त भएको घटनाले जसरी दिल्ली मेट्रो उत्साहित भएको थियो । त्यसैगरी नेपालमा पनि हुने निर्माणको ढिलासुस्तीमा कसरी कमि ल्याउने भन्नेबारेमा पनि नेपालले सिक्नुपर्ने देखिन्छ । अर्को तर्फ काठमाडौंमा समेत दिनहुँ बढ्दै गएको सवारी व्यवस्थापनको चुनौतीलाई पूरा गर्न पनि दिल्लीबाट पाठ सिक्नुपर्ने देखिन्छ ।
प्रतिकृया दिनुहोस