कांग्रेस महाधिवेशनको मेसो आयो

Yugnepal     641 पटक पढिएको    

कांग्रेस महाधिवेशनको मेसो आयो

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको तयारी सुरु भएको छ । यसको प्रारम्भिक चरण अन्तर्गत आगामी मंसिरभित्र अन्तरिम संरचना सक्ने गरी काम भइरहेको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । 

२०७७ को फागुन २० गते १४ औं महाधिवेशनको मिति तोकिएको हो त भन्ने प्रश्नमा उनले भने, ‘अनुमानित कसैले लेख्यो होला, भोलि त्यो मिल्न पनि सक्ला, पार्टीले त्यसरी निर्णय गरेको छैन ।’

उनले अन्तरिम संरचनासंगै मंसिरभित्र क्रियाशील कार्यकर्ताहरुको काम सकेर पुसको पहिलो हप्ता बस्ने बैठकले महाधिवेशनको मिति र कार्यतालिका तोक्ने बताए । 

क्रियाशील सदस्यको हकमा नयाँ वितरण नभए पनि पहिले जो छन् तिनीहरुको भेरिफाइ हुने, को मर्यो, कसले पार्टी छोड्यो, अरु दलबाट आएकालाई कसलाई दिने लगायतका कामहरु हुने प्रवक्ता शर्माले बताए । 

संरचना ‘रिलोकेट’ गर्दा समय लाग्ने उनले बताए । पहिले चार हजार गाउँमा गर्नुपर्ने संरचना अहिले ७५३ मा र पहिले ३६ हजार वार्ड रहेकामा अहिले ७ हजार वार्डमा छुट्टाउनु पर्ने भएकाले समय लागेको बताए । 

केन्द्रीय समितिले उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्धय डा शशांक कोइराला र पूर्णबहादुर खड्का सम्मिलित एक समितिलाई महाधिवेशनको मिति यकिन गर्ने र त्यसअघि अन्य प्रक्रिया सम्पन्न गर्ने कार्यतालिका बनाउने जिम्मा दिएको थियो । 

उक्त समितिले २०७७ को फागुन २० भित्रै महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ । शेरबहादुर देउवा नेतृत्वको वर्तमान कार्यसमितिको नियमित म्याद २०७६ फागुन २० गते सकिँदैछ । 

देउवाले आफ्नो कार्यकाल लम्ब्याउने क्रममा एक वर्ष समय थप्न लागेका हुन् । जानीजानी समय थप्न लागिएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र कृष्णप्रसाद सिटौला पक्षले विरोध गरे पनि कार्यक्रम तय गर्दागर्दै र विधान पछ्याउँदा पछ्याउँदै एक वर्ष समय थपिने निश्चित प्रायः छ ।  
काँग्रेस केन्द्रीय समितिको बैठक साउन २२ गते पनि बस्दैछ । 



आइतबार १९, साउन २०७६ १२:३६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal