गाडी दुर्घटनामा ६ सय २३ जनाको मृत्यु

Yugnepal     579 पटक पढिएको    

गाडी दुर्घटनामा ६ सय २३ जनाको मृत्यु

रुपन्देही । प्रदेश ५ मा एक वर्षमा १ हजार ४ सय ४० गाडी दुर्घटनामा परी ६ सय २३ जनाको मृत्यु भएको छ । प्रदेश ५ का १२ जिल्लामा भएका दुर्घटनामा ९ सय ३३ जना गम्भीर घाइते भएका थिए। आर्थिक वर्ष २०७४(०७५ मा प्रदेश ५ मा १ हजार १ सय ८७ वटा गाडी दुर्घटनामा ५ सय २० जनाको मृत्यु भएकोमा गत आर्थिक वर्षमा १ हजार ४ सय ४० वटा गाडी दुर्घटना भएको प्रदेश ५ को ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक राम प्रकाश शाहले बताए।

दुर्घटनामा परी ४ सय ४२ जना पुरुष, १ सय १९ जना महिला, ३२ जना बालक र ३० जना बालिकाको ज्यान गएको हो। जसअनुसार रूपन्देही जिल्लामा सबैभन्दा बढी र रुकुम जिल्लामा सबैभन्दा कम गाडी दुर्घटना भएको प्रहरीको तथ्यांकले देखाएको छ।

प्रहरीका अनुसार रूपन्देही जिल्लामा एक वर्षमा ३ सय ६८ वटा गाडी दुर्घटना भएको र १ सय ४३ जनाको ज्यान गएको छ। त्यस्तै पश्चिम नवलपरासीमा १ सय ५१ वटा दुर्घटनामा ७३ जनाको ज्यान गएको छ भने कपिलवस्तुमा २ सय ४१ बटा दुर्घटनामा ८० जनाको ज्यान गएको छ। पाल्पामा ७५ वटा दुर्घटनामा ४० जनाको ज्यान गएको छ भने गुल्मीमा २९ दुर्घटनामा १९ जनाको ज्यान गएको छ।

अर्घाखाँचीमा २१ दुर्घटनामा १६ जना र दाङमा २ सय ५० वटा दुर्घटनामा परी १ सय ४ जनाले ज्यान गुमाएका छन्। बाँकेमा १ सय ४२ वटा दुर्घटनामा ७१ जना र बर्दियामा ७६ वटा दुर्घटनामा परी ३३ जनाले ज्यान गुमाएका छन्। त्यस्तै प्युठानमा ३२ वटा दुर्घटनामा १४ जना, रोल्पामा २८ दुर्घटनामा १५ जना र पूर्वी रुकुममा ९ वटा सवारी दुर्घटनामा परी १५ जनाको ज्यान गएको प्रहरीको तथ्यांकले देखाएको छ।

तथ्यांकअनुसार ६ सय ५५ मोटरसाइकल, १ सय ९० वटा जीप(कार, १ सय ३० वटा बस, १ सय १८ वटा ट्रक ट्याङ्कर, १ सय १८ बटा ट्याक्टर, ५७ वटा टिप्पर, ५२ वटा टेम्पो र १५ वटा माइक्रोबस दुर्घटनामा परेका छन्। प्रदेश ५ मा ६ लाख ५५ हजार ३ सय वटा गाडी सञ्चालनमा रहेका छन्।

साढे १४ करोड राजस्व संकलन
ट्राफिक नियम उल्लंघन गर्ने गाडीचालकलाई गरेको कारबाहीबाट आर्थिक वर्ष २०७५(०७६ मा १४ करोड रूपैयाँ राजस्व संकलन भएको छ।

प्रदेश ५ का १२ जिल्लाले २ लाख ४३ हजार ७ सय ५६ गाडीचालकलाई कारबाही गर्दा १४ करोड ४१ लाख ९४ हजार ५ सय रूपैयाँ राजस्व संकलन भएको ५ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ। जसमध्ये सबैभन्दा बढी रूपन्देहीले ४९ हजार ६ सय गाडीचालकलाई कारबाही गरी ३ करोड ५१ लाख २ हजार राजस्व संकलन भएको छ।

त्यसपछि दाङले ३४ हजार ५ सय ९ गाडीचालकलाई कारबाही गरी २ करोड १३ लाख ५ हजार ५ सय राजस्व संकलन गरेको छ। ट्राफिकको प्रदेश कार्यालय आफैले १ करोड ५६ लाख ३३ हजार ५ सय रूपैयाँ राजस्व संकलन गरेको छ।



बिहिबार १६, साउन २०७६ ०२:१६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.