डोटीमा ठूलो परिमाणमा अवैध मदिरा नष्ट

Yugnepal     830 पटक पढिएको    

डोटीमा ठूलो परिमाणमा अवैध मदिरा नष्ट

डोटी,साउन १५ । डोटीमा बुधबार ठूलो परिमाणमा अवैध मदिरा नष्ट गरिएको छ । ईलाका प्रहरी कार्यालय दिपायल परिसरमा अवैध मदिरा नस्ट गरिएको हो ।

अधिकांश मदिरा दिपायल सिलगढी नगरपालिका–१ क्षेत्रबाट र केहि मात्रामा के।आई।सिंह गाउँपालिका ३ डुम्राकोट लैजाँदै गरेको अवस्थामा फेला परेको मदिरा नष्ट गरिएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमूख सइ कमलापती पन्तले जानकारी दिए ।

दिपायल सिलगढी नगरपालिका वडा नं। १ का वडा अध्यक्ष बहादुरसिंह खड्का, वडा नं। ३ का अध्यक्ष चक्रबहादुर माझी, पत्रकार, केहि स्थानीय बासिन्दा र प्रहरीहरुको रोहवरमा मदिरा नष्ट गरिएको पनि पन्तले बताए । उनका अनुसार भोड्का, जिनियल, प्रिमियम, रेन्बो, ओरेन्ज सौंपी, कमाण्डो बियर लगाएतका मदिरा बरामद गरी नष्ट गरिएको हो ।

जसमा सबैभन्दा बढी कमाण्डो बियर ५ पेटी, रेन्बो ४ पेटी, जिनियल २ पेटी, प्रिमियम १ पेटी र अन्य फुटकरमा ३ कट्टा गरी १५ पेटीभन्दा बढी मात्रामा अवैध मदिरा नष्ट गरिएको हो । जम्मा ७ जना मदिरा कारोबार गर्ने व्यक्तिबाट उक्त मदिरा बरामद गरी नष्ट गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यस आर्थिक वर्षमा पहिलोपटक सबैभन्दा धेरै परिमाणमा मदिरा नष्ट गरिएको हो ।

गत जेठ ९ गते भएको निर्णय अनुसार आफुहरुले दिपायल सिलगढी नगरपालिका वडा नं। १ लाई यहि श्रावण १ देखि मदिरा निषेधीत क्षेत्र घोषणा गर्ने योजना अनुसार श्रावण १ देखि १४ गतेको अवधीमा उक्त मदिरा बरामद गरी नष्ट गरिएको सो वडाका अध्यक्ष बहादुर सिंह खड्काले बताए । सो वडाको भुण, गोसेडा र शिरखोलीशैन क्षेत्रबाट अवैध मदिरा बरामद गरी नष्ट गरिएको उनले बताए ।

यसका साथै वडाको निर्णय अनुसार पटक–पटक सतर्क गराउँदा समेत अटेरी गर्ने दुइ जना अवैध मदिरा व्यवसायीबाट २० हजारका दरले ४० हजार नगद जरिवाना वडा कार्यालयमा राजश्व संकलन भएको वडाअध्यक्ष खड्काले जानकारी दिए ।

उक्त वडालाई मदिरा निषेधित क्षेत्र घोषणा गरिसकिएकाले मदिरा कारोबार गर्नेलाई पहिलो पटकमा २० हजार, दोश्रो पटकमा ४० हजार र तेश्रो पटकमा कानुन बमोजिम कारवाही हुने र मदिरा सेवन गरी होहल्ला गर्नेलाई पहिलो पटक ५ हजार, दोश्रो पटकमा १० हजार र तेश्रो पटकमा कानुन बमोजिम कारवाही गर्ने वडाको निर्णय रहेको छ ।

समाजमा मदिरा प्रमूख समस्या रहेकाले वडा क्षेत्रमा मदिरा निषेध अभियानलाई सफल पार्न वडा अध्यक्ष खड्काले सबै सरोकारवालाहरुसँग सहयोगको अपील पनि गरेका छन् ।

स्थानीय तहमा जनप्रतिनिधी आईसकेपछि दिपायल सिलगढी नगरपालिकाको वडा नं। ९ कलेनालाई पहिलो वडाका रुपमा गत वर्ष मदिरा निषेधित क्षेत्र घोषणा गरिएको थियो भने दोश्रो वडाका रुपमा वडा नं। १ लाई यस आर्थिक वर्षदेखि मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ । शुदुर खबर बाट साभार ।



बिहिबार १६, साउन २०७६ ११:४० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.