एजेन्सी, । एक जुत्ता चार करोड ८३ लाख ८० हजार रुपैयाँमा बिक्री भएको बीबीसीले जनाएको छ ।
नाइकीको सह–संस्थापकले डिजाइन गरेको त्यो ऐतिहासिक जुत्ता न्यूयोर्कको एक लिलाममा राखिएका खेलकुदमा प्रयोग हुने १०० जोर जुत्तामध्येमा अन्तिम जोर भएको बताइएको छ ।
सन् १९७२ को नाइकी वाफल रेसिङ फ्ल्याट मुन नामको जुत्ताले एक लाख ६० हजार डलर पाउने अपेक्षा गरिएको थियो । तर क्यानेडाली माइल्स नाडालले त्यसलाई चार लाख ३७ हजार पाँच सय डलर तिरे । बाँकी ९९ जोर जुत्ता पनि उनले नै आठ लाख ५० हजार डलरमा किनेका हुन् ।
सो जुत्ता दौड प्रशिक्षक रहेका नाइकीका सह–संस्थापक बील बाओरम्यानले डिजाइन गरेका थिए । यो डिजाइनको जुत्ता १२ जोर हातैले सिलाइएको थियो र सन् १९७२ को ओलिम्पिक खेलकुदको छनौटमा केही खेलाडीहरूलाई बाँडिएको थियो ।
लिलाममा राखिएको उक्त एक जोर जुत्ता भने कसैले प्रयोग नगरेको एक मात्र भएको मानिन्छ । लगानी कम्पनीका मालिक नाडालले आफ्नो खरिदबाट धेरै खुसी भएको बताउँदै सो जुत्ता खेलकुद इतिहास र पप संस्कृतिको ऐतिहासिक अंश भएको बताए ।
उनले किनेका सबै जुत्ताहरू टोरन्टोमा रहेको उनको निजी गाडी संग्रहालयमा प्रदर्शनमा राखिने बताएका छन् । यसअघि कुनै पनि जुत्ताका लागि तिरिएको सबैभन्दा उच्च रकम एक लाख ९० हजार तीन सय ७३ डलर मानिएको छ ।
सो रकममा माइकल जोर्डनले सन् १९८४ को ओलिम्पिकको बास्केटबल फाइनलमा लगाएको हस्ताक्षरसहितको कन्भर्स जुत्ता सन् २०१७ मा बिक्री गरिएको थियो ।
प्रतिकृया दिनुहोस