माथिल्लो तामाकोशीको बिजुली बाल्न कस्सिए कुलमान

Yugnepal     632 पटक पढिएको    

माथिल्लो तामाकोशीको बिजुली बाल्न कस्सिए कुलमान


 
दोलखा, स्वदेशी लगानीमा निर्धाणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बिजुली बाल्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ कस्सिएका छन्। उनकै उपस्थितिमा आयोजनाको ठाडो सुरुङमा २७।५ मीटर पेनस्टक पाइप जडान गरिएको छ।

आयोजनाको सबैभन्दा जटिल मानिएको तल्लो ठाडो सुरुङमा २० मीटर र माथिल्लो ठाडो सुरुङमा ७।५ मीटर पेनस्टक पाइप जडान गरिएको हो। लामो समयको प्रयासपछि अत्यन्तै जटिल र चुनौतीपूर्ण मानिएको तल्लो ठाडो सुरुङमा असार १ र माथिल्लोमा असार ९ बाट पेनस्टक पाइप जडान गर्न थालिएको थियो।

३७२ मीटर लामो तल्लो पेनस्टक साफ्टमा अब ५ मीटर लम्बाइ र २७ टन तौल भएका अब ७० वटा पाइप जडान गर्न बाँकी छ। माथिल्लो पेनस्टक साफ्टको लम्बाई ३१० मीटर हो।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक एवं आयोजनाको प्रवर्द्धक अपर तामाकोशी हाइड्रोपावर लिमिटेडका अध्यक्ष घिसिङले निर्माणस्थलको निरीक्षण गरी पछिल्लो पटक तय गरिएको समयतालिकाभित्रै र गुणस्तरमा निर्माण सम्पन्न गर्न आयोजना व्यवस्थापन, परामर्शदाता र ठेकेदार कम्पनीलाई निर्देशन दिए।

‘जसरी पनि आगामी चैतको दोस्रो साताभित्रमा पहिलो युनिटबाट ९७६ मेगावाट० र त्यसपछि बाँकी ५ युनिटबाट असारभित्रमा विद्युत उत्पादन गरी आयोजनाको निर्माण सम्पन्न गर्नु पर्छ,’ घिसिङले भने, ‘निर्माण सम्पन्न हुने समय तालिकामा हाम्रो मुख्य चासो हो, त्यसले यसमा गम्भीर बन्नुहोस्। सँगै भएर निर्माण सम्पन्न गरौं, यसले सबैलाई खुशी बनाउँछ तालिकाअनुसार निर्माण सकेनौं भने सबैलाई तनाव सिर्जना हुन्छ।’ जनशक्ति बढाएर दिनमा तीन सिफ्टमा काम गर्न पनि उनले ठेकेदार कम्पनीहरुलाई निर्देशन दिए।


पेनस्टक पाइप आपूर्ति तथा जडानको ९लट २० ठेक्का पाएको भारतीय कम्पनी टेक्स्म्याकोले काम गर्न ढिलाई गरेपछि तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा इलेक्ट्रोमेकानिकल ९लट ३०को ठेकदार अष्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोलाई दिइएको छ। अपर तामाकोसी हाइड्रोपावर लिमिटेड, टेक्सम्याको र एन्ड्रिजबीच गत २३ पुसमा आयोजनालाई थप वित्तीय भार नपर्ने गरी यो काम गर्न त्रिपक्षीय सम्झौता भएको थियो। माथिल्लो ठाडो सुरुङमा पाइप जडान भने टेक्स्म्याकोले नै गरिरहेको छ।

तल्लो ठाडो सुरुङमा पहिलो पाइप जडान, वेल्डिङलगायतका काम गर्न ३६५ घण्टा लागेको थियो। अहिले चौथो पाइप जडान गर्दा समय घटेर १२८ घण्टामा झरेको छ। कार्यकारी निर्देशक घिसिङले पाइप जडानका लागि लाग्ने समयलाई अझै घटाउन एन्ड्रिज हाइड्रोलाई निर्देशन दिए। चारवटा पाइप जडान गरिसकेको र अब ठेकेदार कम्पनीको आत्मविश्वास बढेकाले कामलाई तिब्रता दिने आयोजनाको विश्वास छ।

माथिल्लो ठाडो सुरुङमा पाइप जडानको काम सन्तोषजनक नपाइएपछि घिसिङले भारतको कलकत्तास्थित टेक्स्याकोका प्रमुख कार्यकारी अधिकृत ९सिइओ०जिसी अग्रवाललाई आयोजनास्थलबाटै फोन गरी विगतमा जनाइएका प्रतिबद्धता पूरा गर्न आग्रह गरे। ‘टेक्स्याकोले कुनै पनि समयतालिकाअनुसार काम गरेको छैन, कम्पनीको साइटमा खटिएको व्यवस्थापन ज्यादै कमजोर छ, काममा पर्याप्त जनशक्ति पनि परिचालन गरिएको छैन,’ उनले भने, ‘व्यवस्थापन सुधार गरी जनशक्ति थपेर साइटको क्रियाकलाप बढाउनुहोस्।’

२०७२ को विनाशकारी भूकप्प र त्यसपछिका पराकम्पन एवं बाढीपहिरोले पु¥याएको क्षति तथा अवरोध, मधेश आन्दोलनका कारण निर्माण समाग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, डिजाइन परिवर्तन, हाइड्रोमेकानिकल ९लट २० ठेकेदारको कमजोर कार्यसम्पादन लगायतले गर्दा आयोजनाको निर्माण ढिलाई भएको थियो ।

आयोजनाको निर्माण आर्थिक वर्ष २०७३र७४ भित्र सकी विद्युत् उत्पादनको लक्ष्य राखिएको थियो। भूकम्पलगायतका कारणले आयोजनाको निर्माण प्रभावित भएपछि चालू आव २०७५र७६को पुस महिनाभित्र निर्माण सक्ने गरी नयाँ एकीकृत समय तालिकाका तय गरिएको थियो।

तर, लट २ को ठेकदारको  कमजोर कार्यसम्पादनका कारण निर्माण प्रभावित भएको अपर तामाकोशी हाइड्रोपावर लिमिटेडका सिइओ विज्ञानप्रसाद श्रेष्ठले बताए। आयोजनाको विद्युतगृह निर्माण सम्पन्न भई तयारी अवस्थामा छ भने प्रसारण लाइनको निर्माण अन्तिम चरणमा छ।



सोमबार ०६, साउन २०७६ ०२:५४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal