मनसुनी रेखा नेपाल प्रवेश, तीन दिन अत्यधिक वर्षा हुने

Yugnepal     745 पटक पढिएको    

मनसुनी रेखा नेपाल प्रवेश, तीन दिन अत्यधिक वर्षा हुने


  
काठमाडौं,  मनसुनी न्यून चापीय रेखा फेरि नेपाल प्रवेश गरेको छ। नेपाल प्रवेशसँगै तीन दिन देशभर अत्यधिक वर्षाको सम्भावना रहेको जनाएको छ।

जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङले यो समयमा मनसुनी ‘ट्रफ’ कहीले तल कहिले माथि भइरहने बताए। न्यून चापीय रेखा जहाँ रहन्छ त्यहाँ अत्यधिक वर्षा हुने बताउदै अहिले नेपालको दक्षिणी भेगमा रहेको जानकारी दिए।

केही दिनअघि नेपालबाट दक्षिण सरेको न्यूनचापीय रेखा सोमबार पुनः नेपाल प्रवेश गरेको र बुधबारसरम्म देशको अधिकांश स्थानमा मध्यमदेखि अत्यधिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान मशाहाखाले जनाएको छ।

वर्षाका कारण पहाडी भू–भागमा पहिरो जानसक्ने र चुरे अन्य पहाडबाट बहने खोलामा जल सतह बढ्नाका साथै हवाई र सडक यातायातसमेत सञ्चालनमा बाधा पर्ने भएकाले सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।

पचासदेखि  १०० मिलिमिटर सम्मको वर्षालाई भारी र १०० देखि माथिलाई अतिभारी वर्षा भनेर मापन गर्ने गरिएको छ। यसवर्ष काठमाडौं उपत्यकामा  सबैभन्दा धेरै असार २८ मा १०४ मिलिमिटर वर्षा भएको थियो। यो मनसुन शुरु भएपछिको सबैभन्दा बढी वर्षा हो।

बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन कन्काई, कमला र बाग्मतीमा पानीको प्रवाह बढी हुने  र केही शाखा नदीमा पानीको प्रवाह बढ्ने जनाएको छ। जसले मङ्गलबार र बुधबार प्रदेश १, २ र ३ का तराई र पहाडका केही साना नदीमा आकस्मिक बाढीको सम्भावना हुने जनाएको छ।

राति देशको पूर्वी र मध्य भागमा सामान्यदेखि पूर्ण बदली रही पश्चिमी भू–भागमा आंशिक बदली भई पूर्व तथा मध्यका अधिकांश भागका साथै पश्चिमका केही भागमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।



सोमबार ०६, साउन २०७६ ०२:०९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal