दुई महिनामै भासियो पुनःनिर्माण प्राधिकरणले बनाएको पुल

Yugnepal     654 पटक पढिएको    

दुई महिनामै भासियो पुनःनिर्माण प्राधिकरणले बनाएको पुल

 

  
काभ्रे, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले बनाएको काँभ्रेमा पुल दुई महिनामै भासिएको छ।

काभ्रेको पनौती नगरपालिका–१० साल्मिटार र वडा नं ११ बल्थली जोड्ने रोशीखोलाको पुल साल्मिटारतर्फ भासिएको हो। राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको जिल्ला कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा पूर्वाधार कार्यालयमार्फत पुल निर्माण भएको थियो। यसलाई बन्दना भगवती जेभी निर्माण कम्पनीले बनाएको हो।

तीन करोडको लागतमा निर्मित पुल ३५ दशमलव ६ मिटर लामो छ। पुल साल्मिटारतर्फ करिब एक फिटसम्म र बल्थलीतर्फ करिब ६ इन्च भासिएको छ। पुलको बल्थलीतर्फ दायाँबायाँ राखिएका दर्जन खम्बामध्ये केही भत्केर खोलामा खसेका छन् भने केही पुलसँगै भासिएका छन्। यो पुल जेठमा निर्माण सम्पन्न भएको थियो।

पूर्वाधार कार्यालय प्रमुख इञ्जिनीयर लोकनाथ रेग्मीले पुलको बिम नभासिएको, पुलको दायाँबायाँ जमीनसँग जोड्ने स्ल्याबमात्रै भासिएको बताए। ‘प्राविधिकले हेरिसक्नुभएको छ, निर्माणका बेला ध्यान नदिँदा स्ल्याबभित्र पानी पसेर भासिएको रिपोर्ट आएको छ,’ उनले भने।

पुल निर्माणको एक वर्षसम्म ‘त्रुटि सच्याउने अवधि’को प्रावधान भएकाले सो अवधिसम्म भएका क्षति निर्माण कम्पनीले व्यहोर्नुपर्ने रेग्मीले बताए। पहिला क्षतिको विवरण सङ्कलन गरिएकाले अब पुलको गुणस्तरबारे परीक्षण गरिने उनको भनाइ छ। ‘सम्झौताअनुसारको गुणस्तर नभए निर्माण कम्पनीलाई कारवाही गरिनेछ,’ उनले भने।

त्रुटि सच्याउने अवधि एक वर्ष सकिएपछि सम्झौताअनुसारको पुल निर्माण कम्पनीले जिल्लास्थित प्राधिकरणको पूर्वाधार कार्यालयलाई हस्तान्तरण गर्नुपर्नेछ। तर, निर्मााण कम्पनीले भने पुल निर्माणार्थ सम्झौताअनुसारको रकम लिइसकेको छ।

निर्माण सम्पन्न भएलगत्तै पुलको बल्थलीतर्फ दायाँबायाँ राखिएका खम्बा लडेपछि स्थानीयवासीले नगरपालिका कार्यालयमा गुनासो गरेका थिए। नगरपालिकाको एक टोलीले गरेको अगुगमनमा पुल गुणस्तरीय नबनेको जानकारी ल्याएको मेयर भीम न्यौपानेले बताए। ‘हाम्रो अनुगमन टोलीले गत असारमै पुल गुणस्तरसँग नबनेको प्रतिवेदन पेश गरेको थियो, अहिले भासियो,’ उनले भने।

पुल निर्माणमा भएका कमजोरीका बारेमा प्राधिरकणलाई जानकारी गराउदा पनि वास्ता नगरेको स्थानीय बासिन्दाको भनाइ छ। नगरपालिकाले पनि प्राधिकरणलाई यससम्बन्धी जानकारी गराउदा ध्यान नदिएको जनाएको छ। ‘सम्बन्धित निकायलाई पुल निर्माणमा त्रुटि भएको जानकारी गराउँदा पनि बेवास्ता गरियो, सम्झौताअनुसारको गुणस्तरमा पुल नबनेको भए हामी जिम्मा लिँदैनौँ,’ मेयर न्यौपानेले भने। ९रासस०



आइतबार ०५, साउन २०७६ ०५:१९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal