सुदूरपश्चिममा बत्ती बाल्ने महिना सुरु,आज हर्‍यालो हालिने

Yugnepal     858 पटक पढिएको    

सुदूरपश्चिममा बत्ती बाल्ने महिना सुरु,आज हर्‍यालो हालिने

 

सुदूरपश्चिममा आजदेखि साउनको महिना बत्ती बाल्ने महिनाका रुपमा मनाइँदैछ ।
धार्मिक महिनाका रुपमा समेत चिनिने यस महिनालाई बत्ती बाल्ने महिना अर्थात् स्थानीय भाषामा कालो महिना भनिन्छ । साउने सङ्क्रान्तिदेखि बैतडीसहित सुदूरपश्चिमका जिल्लामा साउनलाई विशेष धार्मिक महिनाका रुपमा लिई मन्दिरमा पाठपूजा गर्ने चलन रहिआएको छ ।
साउनको महिना देवीदेवता बैकुण्ठमा शयन गर्ने अर्थात् सुत्ने भएकाले यस महिनालाई कालो महिना भन्ने गरिएको पं दयाकृष्ण पन्तले बताउनुभयो । उहाँले भन्नुभयो “साउनको महिना सबैतिर हरियाली हुने भएकाले देवीदेवता सुत्ने गर्दछन्, हरिशयनी एकादशीदेखि साउनको महिनासम्म भगवान बैकुण्ठमा बस्ने गर्छन् ।”

शयन गरेका बेला बत्ती बालेपछि देवीदेवताको रक्षा हुनाका साथै कुनै पनि वैरी नलाग्ने जनविश्वास रहिआएको छ । आजदेखि भक्तजनले बिहानै उठेर नुहाइधुवाई गरी एक महिनासम्म व्रत बसी देवीदेवताका मन्दिरमा गई पूजापाठ गर्नाले मनले चिताएको पूरा हुनाका साथै अञ्जानमा गरिएका पाप कर्म नष्ट हुने धार्मिक विश्वास रहिआएको छ ।

हर्‍यालो

असार महिनाभर हिलामा पसेर खेतीपाती गर्नुपर्दा शरीर चिलाउने, खटिरा, लुतो आदि आउन सक्ने भएकाले जिउलाई सफासुग्घर गरी यस दिन लुतो फाल्ने गरिन्छ । गाउँघरमा यस दिन साँझ अँगेनामा कुरिलो र तितेपाती सल्काएर एउटा अगुल्टो झिकेर चारै दिशामा घुमाउँदै ‘लुतो लैजाऊ’ भनी फ्याँक्ने गरिन्छ । त्यसरी लुतो फालिसकेपछि जिउमा घाउ, खटिरा आएको छ भने कुकुरडाइनो जलाई त्यसको मलम बनाएर लगाउने चलन छ ।

सहर बजारतिर भने छोरीचेलीलाई बोलाएर मीठा परिकार बनाएर खुवाउने प्रचलन छ । यस दिनदेखि सूर्यको गति दक्षिणतिर हुने भएकाले यसलाई कर्कट सङ्क्रान्ति पनि भनिन्छ ।
साउन महिनालाई पवित्र महिना मानिन्छ । साउन महिनाभर पार्वतीले व्रत बसी महादेव पति पाएको धार्मिक विश्वास छ । यसैले यस महिनाभरि खासगरी विवाहिताले आफ्नो परिवारको सुस्वास्थ्य, दीर्घायु र सुख समृद्धिको कामना गर्दै महादेवको व्रत, उपासना र पूजाआराधना गर्छन् ।

साउनका सबै सोमबार महिलाले महादेवको पूजा गर्छन् । काठमाडौँंको पशुपतिनाथमा साउन महिनाभर श्रद्धालु महिलाको विशेष घुइँचो लाग्छ । साउनमा महिलाहरु हरियो पोते र चुरा तथा रातो लुगामा सजिएका हुन्छन् । यसैबीच सुदूरपश्चिममा आज खेतबारीमा रोगब्याधि नलागोस् र बालीनालीमा उत्पादन बढोस् भन्दै कुरिलो, मेललगायत हरिया वनस्पतिको ह¥यालो हाल्ने चलन छ ।

ह¥यालो हाल्ने भन्नाले कुरिलो, मेललगायत हरिया वनस्पति खेतबारीको आलीमा रोप्नुलाई बुझिन्छ । साउनको महिना देवीदेवता शयन गर्ने भएकाले खेतबारीमा लगाइएको अन्नबालीको संरक्षण होस् भनेर ह¥यालो हाल्ने गरिएको पं पन्तले बताउनुभयो ।

उहाँले भन्नुभयो “देवीदेवता शयन गर्ने भएकाले बालीनालीमा रोगव्याधि नलागोस् भनेर ह¥यालो हाल्ने गरिन्छ, सङ्क्रान्तिका दिन ब्राह्मण र चेलीबेटीलाई टीका लगाएर दानदक्षिणा दिने पनि गरिन्छ ।
त्यस्तै साउनमा खिर पकाएर खाने तथा पराइघर गएका चेलीबेटीलाई मीठा खाद्यान्न परिकार पकाएर दिने गरिन्छ । यससँगै साउनको महिनादेखि चाडपर्व सुरु भएको समेत मानिन्छ ।



बुधबार ०१, साउन २०७६ ०१:३३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal