सधैं विवादमा ग्रास

Yugnepal     851 पटक पढिएको    

सधैं विवादमा ग्रास

सधैं विवादमा ग्रास

विश्व साहित्यमा कयौं नामहरू चर्चित र कयौं नाम विवादित छन् । कोही लेखेर अथवा विषयवस्तुका कारण विवादमा आउँछन् त कोही आफ्ना अभिव्यक्तिमार्फत । भोल्टाएरदेखि तसलिमा नसरिनसम्म अभिव्यक्तिकै कारण विवादित बनेका छन् । डीएच लरेन्स ‘लेडिज च्याटर्लिज लभर’मा यौनको विषयवस्तुलाई उदार रूपमा प्रस्तुत गरेकै कारण विवादित बनेका थिए । उनको कृति धेरै मुलुकमा प्रतिबन्धित थियो । सलमान रुस्दी ‘द सटानिक भर्सेज’मा मुस्लिम धर्म र धर्मगुरुको आलोचना गरेकै कारण विवादमा मुछिएका थिए, खासगरी मुस्लिम बाहुल्य भएका मुलुकहरूमा । इरानी धर्मगुरु अयोतल्लाह खामेनीले फतवा नै जारी गरेका थिए । त्यस्तै बंगलादेशी लेखिका तसलिमा नसरिन पनि सधैं चर्चा र विवादमा आइरहने गर्छिन् । उनलाई पनि मुस्लिम धर्म र समुदायलाई अनादर गरेको आरोप लागिरहन्छ । धेरै जर्मन लेखकहरूलाई दोस्रो विश्वयुद्ध, हिटलरको नाजीवाद र यसको सिद्धान्त आत्मसात गरेको आरोप लगाइन्छ ।

यस्तै आरोप र विवादमा परिरहने जर्मन लेखक हुन्, गुन्टर ग्रास । सन् १९२७ मा जर्मनीको फ्रि सिटी अफ डान्जिगमा जन्मेका ग्रास जीवनभर विवाद र चर्चामै रहिरहे । कसैले उनलाई नाजीवादका कट्टर समर्थक भनेर आरोप लगाए भने कतिले नाजीवाद र यो नीतिका कट्टर आलोचक । प्रायः आफ्ना कृतिहरूका कारण विवादमा आउने गरे पनि विश्वसाहित्यमा ग्रासको योगदान अतुलनीय छ ।

 बम बम बम
ल्याटिन अमेरिकामा प्रख्यात रहेको ‘म्याजिकल रियालिजम’ अर्थात् जादुयी यथार्थवादलाई अझ प्रगाढ रूपमा प्रयोग गर्ने लेखकका रूपमा ग्रासलाई चिनिन्छ । उनका अतिरिक्त कोलम्बियाली लेखक गाब्रियल ग्रासिया मार्खेज, अजेन्टिनी लेखक जोर्गे लुई बोर्गे, भारतीय लेखक सलमान रुस्दी ‘म्याजिक रियालिजम’लाई सशक्त रूपमा प्रस्तुत गर्ने साहित्यकारहरू हुन् । ‘म्याजिक रियालिजम’ सर्वप्रथम जर्र्मनीमा सन् १९२० को दशकमा प्रयोग भएको थियो । त्यसपछि ल्याटिन अमेरिका हुँदै विश्व साहित्यमा यसको भरपुर प्रयोग हुन थाल्यो । स्वैरकल्पना र यथार्थको मिश्रण हो ‘म्याजिक रियालिजम’ । केही घटनाहरू सत्यमा आधारित हुन्छन्, केही स्वैरकाल्पनिक । ग्रासले ‘म्याजिकल  रियालिजम’लाई ‘ब्रोडन्ड रियालिटी’ अर्थात विस्तारित यथार्थता भनेका छन् ।

सन् १९५९ मा आफ्नो पहिलो कृति ‘द टिन ड्रम’ प्रकाशित भएसँगै विश्व साहित्यमा पकड जमाउन सफल ग्रास अंग्रेजी अनुवादक राल्फ म्यानहेइमका कारण पनि समकालीन साहित्यकारसँग प्रतिस्पर्धा गर्न सफल भए । समकालीन अमेरिकी लेखकहरू टमस पिन्चन, कुर्त भोनेगट, जेडी सेलिन्जरहरूको लाइनमा उनी पनि उभिन सफल भए । विश्वसाहित्यमा थोरै जर्मन साहित्यकारको उपस्थिति भए पनि उनीहरूले आफूलाई शानदार रूपमा उभ्याए । फ्रान्ज काफ्का, टमस म्यान, बर्तोल्त ब्रेख्तका कृतिहरू ‘इन्टरनेसनल क्लासिक’का रूपमा स्थापित भएका छन् ।

ग्रासको आख्यानले इतिहासलाई बुझ्न निकै सघाउँछ । आख्यानलाई वैकल्पिक इतिहास ९अल्टरनेटिभ हिस्ट्री०का रूपमा हेरिन्छ । इतिहास लेखन भनेको राजनीतिक तवरले महत्वपूर्ण मानिएका घटित घटनाको विवरणमात्र हो । इतिहास लेखन वस्तुगत हुन्छ । इतिहासकार आफ्ना विभिन्न पृष्ठभूमिका कारण पूर्वाग्रही हुन सक्छ । ऐतिहासिक घटनाको सही विवरणहरू विशुद्ध इतिहास लेखनभन्दा ऐतिहासिक उपन्यासमा प्रष्ट आउन सक्छन् । साहित्य इतिहासलाई बुझ्ने उपयुक्त माध्यम हुन सक्छ । साहित्यले केवल ऐतिहासिक घटनालाई प्रस्तुत गर्नेमात्र होइन, त्यसको बहुपक्षीय दृष्टिकोण पनि देखाउँछ । ग्रासका उपन्यासहरूले विश्वयुद्धको इतिहासलाई ‘अल्टरनेटिभ हिस्ट्री’का रूपमा प्रस्तुत गरेका छन् ।

ग्रास उपन्यासकारका साथै कवि, निबन्धकार, नाटककार, चित्रकार तथा कुशल ग्राफिक डिजाइनर थिए । उनले आफ्नो पुस्तकको कभर आफैं डिजाइन गर्थे । उनले जर्मन नेता विल्ली ब्रान्टको भाषण लेखकका रूपमा १० वर्ष काम पनि गरे । उनी सोसल डेमोक्रेटिक पार्टीका समर्थक थिए । १२ वर्षकै उमेरमा उनको लेखन यात्रा सुरु भएको थियो । ‘द पेरिस रिभ्यू’लाई दिएको अन्तर्वार्ताका अनुसार ‘द टिन ड्रम’ १२ वर्षकै उमेरदेखि लेख्न सुरु गरेका थिए । दोस्रो विश्वयुद्ध र त्यसमा जर्मनीको संलग्नतालाई आधार मानेर लेखिएको ‘द टिन ड्रम’, ‘डग इयर्स’ र ‘क्याट एन्ड माउस’ ‘डान्जिग ट्रिलोजी’का रूपमा आएका थिए । दोस्रो विश्वयुद्ध शुरु हुँदा ग्रास केवल १२ वर्षका थिए ।

इजरायलले इरानी आणविक कार्यक्रमको कडा आलोचना गरेपश्चात् इजरायलको खण्डन गरेर ग्रासले ‘ह्वाट मस्ट बी सेइड’ कविता लेखे । उनले कवितामा इजरायलले इरानको आणविक कार्यक्रमलाई हेरेर इरानलाई आक्रमण गर्नुपर्छ भन्ने मान्यता राखेको र यसले पहिले नै कमजोर भइसकेको विश्व शान्तिलाई अझ खल्बलाउने बताएका छन् । उनले आफ्नो कवितामार्फत इजरायललाई गरेको आलोचना पनि कम विवादित बनेन । इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुसम्मले उनको आलोचना गरेका थिए । उनले गरेको विम्बात्मक प्रस्तुतिलाई कतिपयले हिटलरको समयमा नाजीहरूले यहुदीहरूको बारेमा फैलाएको प्रचारबाजीसँग तुलना गरेका छन् । उनले इजरायललाई विश्व शान्तिका लागि खतरापूर्ण मानेका थिए । उनले आफ्नो कवितामा जेरुसेलमले लिने नीति नै विश्व शान्तिका लागि खतरा र चुनौतीपूर्ण बताएका छन् । उनले आफू कुनै पनि आन्दोलनको समर्थक नरहेको बताए पनि फिडेल क्यास्ट्रोको खुलेर प्रशंसा गर्थे । त्यस्तै, निकारागुआको वामपन्थी सान्दिनिस्ता सरकारको पनि प्रशंसा गरेको पाइन्छ ।

सन् १९७० को दशकको शुरुवातमा मात्र जर्मनी र इजरायल अर्थात् बोन र तेल अबिबबीच कूटनीतिक सम्बन्धको थालनी भएको थियो । इजरायलले जर्मनीसँगको सांस्कृतिक सम्बन्ध तोडेको थियो । त्यो सम्बन्धलाई ब्युँझाउन तेल अबिबस्थित जर्मन दूतावासले ग्रासलाई भ्रमणका लागि बोलाएको थियो । भ्रमणपश्चात् उनका कृतिहरू हिब्रू भाषामा अनुदित भएका थिए । इजरायली बजारमा ग्रासका कृतिहरूको उपस्थिति राम्रो थियो । त्यतिमात्र होइन, इजरायली बुद्धिजीवीहरूको समूहबीच उनी निकै लोकप्रिय थिए । तर, पनि उनको भ्रमणताका इजरायलमा थुप्रै प्रदर्शन भएका थिए । धेरैले यो मान्छन् कि ती प्रदर्शनी ग्रास र उनको लेखनविरुद्ध नभएर जर्मनीले स्थापित गर्न खोजेको सांस्कृतिक सम्बन्धको विरोधमा थिए । सन् १९९३ मा जर्मनीका लागि इजरायली राजदूत बनेर आएका अभी प्रिमोर भन्छन्, “मैले धेरै प्रभावशाली जर्मन व्यक्तिहरूलाई भेटें तर एकमात्र प्रभावशाली व्यक्ति, जसले मलाई भेट्न चाहेनन्, ती गुन्टर ग्रास हुन् । ग्रासले मलाई किन भेट्न चाहेनन् भन्ने प्रश्नको उत्तर मैले कहिल्यै भेटिनँ ।”

धेरैले यो मान्छन् कि ग्रासले इजरायल भ्रमणका बेला बेहोरेको अपमान नै प्रिमोरलाई नभेट्नुको प्रमुख कारण थियो । आफूलाई नभेटे पनि प्रिमोरले ग्रासको खुलेर प्रशंसा गरेका छन् । उनले भनेका छन्, “म विश्वास गर्दछु कि ग्रास वास्तवमा इजरायलका शत्रु होइनन् । वर्तमान परिस्थिति र समयमा उनले यहुदी राज्यको पक्षमा आफ्नो प्रभावशाली व्यक्तित्वको उपयोग गरेका छन् ।”

इराकी तानाशाह सद्दाम हुसेनलाई हतियार उपलब्ध गराएकोमा ग्रासले आफ्नै देश जर्मनी र हतियार कम्पनीहरूसँग रुष्ट बनेका थिए । एक अन्तर्वार्तामा भनेका छन्, “फेरि एकपटक जर्मनहरू विषाक्त ग्यास कारखानाहरू उत्पादन र निर्माण गरिरहेका छन् । यसमा पक्कै पनि जर्मन खतरा देख्न सकिन्छ । यो राष्ट्रवाद होइन, यो नवनाजीवादको पुनर्उदय पनि होइन, यो त केवल नाफाका लागि देखाइएको अनियन्त्रित चाहनामात्रै हो ।”

सन् १९८९ मा बर्लिनको पर्खाल भत्काएर पूर्वी र पश्चिमी जर्मनीको एकीकरण गरिएको थियो । त्यसलाई ग्रासले आलोचना गरेका थिए ।

सन् २००७ मा आफ्नो संस्मरण ‘पिलिङ द अनियन’मा उनले करिब ६० वर्षदेखिको गोप्य रहस्य खोलेका थिए । यसैलाई आधार बनाएर कतिपय समीक्षकले ग्रासलाई नाजी समर्थकको आरोपसमेत लगाएका थिए । ग्रासको समयमा नाजी क्रियाकलापसँग संलग्न नहुनु भनेको असामान्यजस्तै हुन्थ्यो । जर्मनीको सानो समुदायमात्रै नाजीवादको विरोध गथ्र्यो । सन् १९३२ मा हिटलर शक्तिमा आउनुभन्दा पहिले जो नाजी थिएनन्, ती नाजी भए, बनाइए । तर, जो विश्वयुद्धपश्चात् जर्मनीमा जन्मिएका थिए, उनीहरूले नाजी विचार र सिद्धान्तको खण्डन गरे । दोस्रो विश्वयुद्धताका नाजी सेनाले गरेको अत्याचारलाई धेरै जर्मन नागरिकले सही मानेका छैनन् । ग्रास तिनैमध्ये एक हुन्, जसले नाजीवादको खण्डन गरेका छन् । तर, प्रश्न उठ्छ– नाजीवादको खण्डन गर्ने ग्रासले आफ्नो विगतलाई लामो समयसम्म किन लुकाएर राखे रु ग्रासले भनेका छन्, “यति धेरै समयसम्म म चुप बस्नुको कारण मैले पुस्तक लेख्नु नै हो । अन्त्यमा ती सबै कुरा मेरो कृतिमा आए नै १”

सन् १९९९ मा साहित्यका लागि नोबेल पुरस्कार जितेका ग्रासलाई स्विडिस एकेडेमीले प्रशंसा गर्दै भनेको थियो, “ग्रासले समकालीन इतिहास तथा दोस्रो विश्वयुद्धको समयमा घाइते भएका र पीडितहरूको विगतलाई आफ्ना कृतिमार्फत समीक्षा गरेर साहस देखाएका छन् ।” एकेडेमीले ग्रासको पहिलो कृति ‘द टिन ड्रम’लाई बीसौं शताब्दीको सहनशील साहित्य भनेको थियो ।

ग्रासले आफ्ना कृतिहरूमार्फत जर्मन इतिहासलाई बडो मिहिनताका साथै बिनापूर्वाग्रह प्रस्तुत गरेका छन् । बारम्बार विवादमा आइरहे पनि उनले विश्व साहित्यमा उल्लेखनीय योगदान दिएका छन् । ग्रासको २०१५ अप्रिल १३ मा निधन भएको थियो ।



शनिबार ११, फागुन २०७५ ११:२८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.